काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको प्रतिरक्षा गरेका छन् । लम्बेतान भाषण गर्ने आफ्नै शैली बदल्दै १५ मिनेटभित्र कुरा सिध्याएका ओलीले सरकारको कामलाई गति दिन अध्यादेश आवश्यक परेको प्रष्टोक्ति दिएका छन् ।
‘सरकार टिकाउने मात्र हाम्रो काम होइन, टिक्न त टिकिहाल्छन् नि यत्रो मजबुत सरकार । तर यसलाई सफल बनाउनुछ, काम गरेर । त्यसका निम्ति अध्यादेश आवश्यक भए र अध्यादेश हामीले ल्यायौं । यसमा कुनै प्रकारको कतै भ्रम नरहे हुन्छ,’ प्रधानमन्त्री ओलीको जवाफ छ ।
‘संसद अधिवेशन पनि यथोचित समयमा बस्नेछ,’ प्रतिपक्षी दलहरूलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने -‘विधेयकहरू र अन्य संसदले गर्ने काम अघि बढाउनेछ।’
सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरूरी भएकाले विभिन्न अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘यो पूर्ण सहमतिमा अध्यादेश आएको छ। अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो। भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन। अध्यादेशको विरोध भयो भनेर कांग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो। यी सबै भ्रम चिरिएका छन्। सरकार ढल्यो भन्नेका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुंगा हानेर नदी छेक्ने प्रयास मात्रै हुन्।’‘पूर्ण सहमतिका साथ यी अध्यादेश आएका छन्’, ओलीले भने, ‘आजै ढल्छ, भरे ढल्छ, बेलुकासम्म ढल्छ भन्नेहरू पौने ११ बजे राष्ट्रपतिकोमा अध्यादेश दर्ता गर्यौ । मध्यरातमा के षड्यन्त्र भन्ने आए । पौने ११ बजे मध्यरात हुन्छ ?’उनले प्रश्न गरे ।
कुनै कानुन राति पनि बनाउन सकिने भन्दै विरोधीहरूको अफवाह नफैलाउन पनि प्रधानमन्त्रीले आग्रह गरे ।