
काठमाडौं ।सञ्चारकर्मी/साहित्यकार राजेश खनालको ‘चिकित्साका चौध तारा’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । दिव्य शताब्दीपुरुष डा.गौरीशंकर लाल दासले उक्त पुस्तक विमोचन गरेका हुन् ।
शनिबार चाबहिल,मित्रपार्कस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै १०१ वर्षीय डा.दासले खनालको यो पुस्तकले पहिलेका चिकित्सकले त्यो समयमा कसरी काम गरेका थिए भन्ने दर्साउने बताए । आफ्ना पुराना दिनहरूको सम्झना गर्दै उनले उसबेला बिरामीको उपचार कसरी गरिन्थ्यो भन्ने विषयमा बोले ।
साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृतिमा वरिष्ठ चिकित्सकहरूको जीवनी समेटिएको बताए ।
बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानले कृतिकार खनाल र पुस्तकको चर्चा गर्दै तात्कालिन परिवेशको चिकित्साक्षेत्रको यथार्थलाई कृतिले उजागर गरेको बताए ।
काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित कार्यक्रम वडाध्यक्ष विमलकुमार होडाको अध्यक्षतामा भएको थियो । समाजसेवी अरुणसिंह बस्नेत, लेखक खनाल र साहित्यकार देविका तिमिल्सिनाले बोलेका थिए ।
खनालको यो पुस्तकभित्र १४ वरिष्ठ चिकित्सकहरू डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. दिनेशनाथ गोङ्गल, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षितको व्यक्तिवृत्त समेटिएको छ ।
दुई अग्रज चिकित्सकहरू डा.अञ्जनीकुमार शर्मा र डा. बुद्धिमान श्रेष्ठका विषयमा लेखिएको सम्झना संस्मरण समेत यस व्यक्तिवृत्त कृतिमा समावेश गरिएको छ ।
कृति चिकित्सा्क्षेत्रमा उतिबेलाको परिवेशको जानकारी दिन पुस्तक सफल छ भने १४ जना त्यसक्षेत्रका विशिष्ठ र ज्येष्ठ व्यक्तित्वहरुको पेशामा देखिएको समर्पण भाव र सम्पूर्ण भोगाइहरु जान्न सहयोगी देखिएको छ ।
रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको यो पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।




