
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गरेपछि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सभाका अध्यक्षमा दाबी गरेका छन्।
लेखा समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्ने बताए।
हाल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल लेखा समितिको सभापति छन्। बेलायती मोडलको संसदीय अभ्यास गर्ने मुलुकहरूमा सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने प्रचलन छ।
‘लेखा समितिले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्नुपर्छ’मोदीले समितिमा भने-‘सभापतिको पार्टी सरकारमा छ। सरकारको छाया समिति बन्यो कि भन्ने प्रश्न उठिराखेको छ। तपाईंले मार्गप्रशस्त गर्नु राम्रो हुन्छ। अहिलेसम्मको प्रचलनलेखा समिति प्रतिपक्षीलाई दिने छ।’
माओवादी सांसद मोदीले लेखा समितिका सभापति पोखरेलको श्रीमतीको नाम सहकारीको रकम अपचलनमा जोडिएकाले पनि उनले मार्गप्रशस्त गर्नुपर्ने बताए।
पोखरेलकी श्रीमती अन्जला कोइरालाको नाम मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा जोडिएको छ। पोखरेल पत्नी कोइरालासहित २६ जनाविरूद्ध मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले पछिल्लो दुई वर्षको बीचमा दलहरूको पोजिसन अदलबदल भएको र कहिले को सत्तापक्षमा कहिले को प्रतिपक्षमा बस्ने अवस्था बनेको बताए।६–६ महिनामा सभापति बदल्दै हिँड्ने कुरा पनि भएन, भट्टराईले भने-‘अब लेखा समितिको सभापति अथवा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख जसरी मुख्य दलहरूको बीचमा बाँडफाँट गरियो त्यो परिस्थिति बदलिएको छ। संसदभित्र दलहरूको पोजिसन बदलिएको अवस्थामा कुन कुन समितिको नेतृत्व कुन दलले लिने भन्ने राजनीतिक नेतृत्वमा सहमति गरौं। सभामुख कसले लिने, राष्ट्रिय सभाको अध्यक्ष कसले लिने बदलिएको परिस्थिति अुनसार सहमति गरौं। कांग्रेस र एमालेले अब ३ वर्ष समीकरण अदलबदल गर्दैनौं भनेका छौं। तीन वर्षका लागि अब अदलबदल गर्नुपर्ने भएको छ। त्यो अदलबदल गर्ने हो भने सिङ्गो पदाधिकारीको विषयमा विचार गरौं। त्यस्तो अवस्थामा सभापति यहाँ ९कुर्सीमा० बसिराख्नुपर्छ भन्ने मलाई लाग्दैन।’
भट्टराईको कुरालाई नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले समर्थन गरेका थिए ।
कांग्रेस र एमालेका सांसदहरूले लेखा समितिको सभापतिको पक्षमा उभिएर आफ्नो प्रतिवाद गरेपछि माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पार्टीको धारणा राख्दा समितिमा बोल्नै नदिने अवस्था बनाउन खोजिएको भन्दै प्रतिवाद गरे।
‘मैले उठाएको भनेको परम्परागत रूपमा प्रतिपक्षीलाई दिनुपर्छ भन्ने हो। कांग्रेस र माओवादीले त्याग नगरेको विषय विगत हो’ मोदीले भने-‘भरत शाह सभापति भएका बेला नेकपा एमालेले सभापति माग गर्दै जुलुस र धर्ना गर्यो। बैठक बहिष्कार गर्यो।’
तर सांसद मोदीलाई त्यसपछि पनि नेकपा एमालेका सांसदहरूले जबाफ दिन छाडेनन्। सांसद गोकुल बाँस्कोटाले सांसदको बोलीमा प्रतिबन्ध लगाउन नखोजेको तर सुँगा रटाइ गरेको भन्दै व्यङ्ग्य कसे। उनले बरू राष्ट्रिय सभाको अध्यक्ष फेर्न आफूले प्रस्ताव गरेको बताए।
‘मैले राष्ट्रिय सभा अध्यक्ष पनि फेरौँ भनेको हो। तर यो विषय पनि यहाँबाट निष्कर्षमा पुग्दैन,’ बाँस्कोटाले भने,-‘बोलीमा प्रतिबन्ध लगाउने कुरा होइन। सभापतिमाथि निरन्तर प्रश्न उठेपछि कसरी बैठक गर्ने ?’
सभापति ऋषिकेश पोखरेलले भने आफू दलको सांसद भएकाले दलको सहमति मानेर सभापति बनेको जिकिर गरे।
-‘हामी दलीय सांसद हौँ। दलका सांसद भएपछि दलको सहमति मान्ने हो,दलको सहमति अनुसार बाध्यकारी हो।’
पोखरेलले श्रीमतीको विषयमा उठेको प्रश्नमा भने धेरै जबाफ दिएनन्।
‘कानुनी प्रक्रियामा छ’पोखरेलले भने, -‘म सबै परीक्षामा सामेल हुन तयार छु। कानुन र संविधानमा विश्वास गर्छु।’


