
काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तह सम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।
मंसिर २८ र २९ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीयप्रचार प्रसार तथाप्रकाशनविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रमुख बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन २०८१ चैत्र मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ सातै प्रदेश समिति र राष्ट्रिय समितिहरुको आगामी २०८२ बैशाख २५ गते भित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानको व्यवस्था बमोजिम हुनुपर्ने भनिएको छ ।
पार्टी सम्बद्ध भ्रातृ संगठनहरुलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ बैशाख मसान्तसम्मको समय सीमा तोकिएको उनले बताए ।
अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठनका केन्द्रीय समितिलाई भंग गरी नयाँ प्रक्रियाबाट कार्यको थालनी गरिने बताइएको छ ।
राष्ट्रिय महाधिवेशन सम्पन्न गरी जसपा नेपालले मातहत समिति र भ्रातृ संगठनको अधिवेशन गर्ने कार्यलाई अगाडिबढाएको छ ।


