
काठमाडौं । इन्दिरा दीक्षितद्वारा लिखित खण्डकाव्य ‘अचला’ को सार्वजनिक भएको छ ।
अचलालाई एक समारोहबीच भद्रकुमारी घले,जलेश्वरी श्रेष्ठ लगायतले सार्वजनिक गरे ।
गुन्जन नारी साहित्य सॅंस्थाकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वयोबृध्द साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यता रहेको थियो ।
सुश्री भद्रकुमारी घलेले इन्दिरा दीक्षितद्वारा लिखित खण्डकाव्य ‘अचला’ ले नेपाली साहित्यमा एउटा इट्टा थप्ने काम गरेको बताइन् ।
साहित्यकार जलेश्वरी श्रेष्टले “साहित्यमा उमेर हो हद लाग्दैन, मैले पनि पारिवारिक पृष्टभूमिबाट पार पाएपछि मात्र लेख्न थालेकी हुं” भन्दै काव्य लेखिका इन्दिरा दीक्षितलाई सफलताको कामना गर्दै नयॉं कृतिको लागि बधाई दिइन् ।
खण्डकाव्यको समीक्षा गर्दै प्रा.डा. लेखप्रसाद निरौलाले कृति अत्यन्त मार्मिक र सरल ढंगले लेखिएको हुँदा सबैले लय मिलाएर पढ्नसक्ने बताए । यसले नेपाली साहित्यलाई अझैं जीवन्त बनाएकोमा निरौलाले जोड दिए ।

शमी साहित्य प्रतिष्ठानका संरक्षक तथा ‘अचला’ खण्डकाव्यका प्रकाशक डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति र स्रष्टाका संरक्षण, सम्वर्धन र प्रवद्धन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि सबैभन्दा पहिला हामी आफैं सुध्रिनु पर्ने बताए ।
लेखक इन्दिरा दीक्षितले यो कृतिलाई सबैले ग्रहण गरी सल्लाह, सुझाव दिन आग्रह गर्दै मैले आफ्नो गृहस्त जीवनबाट मुक्त भएपछि लेखन कार्य थालेको र चावटा आख्यानात्क कृति पछि छन्दतिर फड्को मारेर यो कृति ल्याउन सफल भएको बताइन् ।
यस अघि दीक्षितका सम्बन्धका घुम्तीहरु (कथासङ्ग्रह), विचरित पाइलाहरु (नियात्रासङ्ग्रह), परदेशी मित्र (कथासङ्ग्रह), गतिशिल जिन्दगी (संस्मरणसङ्ग्रह) यस अघिनै प्रकाशन भइसकेका छन्।






