प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टिमका कप्तानको प्रशंसा गरेका छन् । उनले आठै टिमका कप्तान र मार्की खेलाडीको नामै लिएर प्रंशसा गरेका हुन् ।
काठमाडौंको धरहरा परिसरमा सोमबार प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा यसरी सम्बोधन गरे : –
“क्रिकेट हाम्रो युवापुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभई हाम्रो राष्ट्रिय जागरुकता, अनुशासनको प्रतीक पनि बनेको छ । जनकपुर बोल्ड्सका कप्तान आसिफ शेखले स्पोर्ट्सम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रनआउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । आसिफ शेखलाई क्याप्टेन कुल, शान्त भनेर नाम, उपनाम दिए पनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाई भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एड्भेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्ट्याउन सकेको छैन जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस्, शतक हान्नु भन्ने मेरो शुभकामना छ । हाम्रो साथीहरूले चितवन राइनोज भन्ने गर्नुभएको छ, मचाहिँ चितवन गैँडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरू क्रिकेटचाहिँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानोजस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बास्डरजस्तै रहे । बीबीएलदेखि आईपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ– नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ती योर्करहरूलाई कसले भुल्न सक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ, नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । एनपीएलमा यस्ता धेरै कीर्तिमान बनून् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ । एनपीएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्दछ भन्ने मलाई विश्वास छ । क्यानका पदाधिकारीहरूले आगामी दिनमा महिला विशेष एनपीएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ ।” प्रधानमन्त्रीले भनेका छन् ।


