(तेजप्रकाश श्रेष्ठ मानवीय अन्तरपीडालाई अनुभूत गराउने स्रष्टा हुन् । उनी आफ्ना सृजनाहरुमा मानवीय संवेदनाहरुलाई अभिव्यञ्जित गरेर प्रस्तुत गर्ने कलाकौशलका धनी छन् । साहित्यलाई आत्मसन्तुष्टीको माध्यम ठान्ने तेजप्रकाश साहित्यका प्रायःसबै विधामा कलम चलाएर अविछिन्न् छ दशकदेखि निरन्तर लागिरहने कुरा आफैंमा अरुको निम्ति अनुकरणीय छ । विं.सं.२००३ सालमा वैतडीमा जन्मेका श्रेष्ठका आठ थान नियात्रासँग्रह,छ वटा कथासँग्रह,उपन्यास दुई,कवितासँग्रह २,लोकसाहित्य तथा संस्कृति सम्बन्धि पुस्तकहरु सातवटा,बालसाहित्यका ७५ वटा,संस्मरण ५ वटा,बालनियात्रा ५ वटा गरेर एक सयभन्दा माथि कृतिहरु नेपाली भाषासाहित्यलाई उनले योगदान गरेका छन् । दर्जनौं विभिन्न पुरस्कार र त्यति नै सँख्यामा विभिन्न संघसंस्थाहरुबाट सम्मान र अभिनन्दित, विभिन्न साहित्यिक संघसंस्थाहरुसँग पनि आवद्ध रहेर योगदान गरेका श्रेष्ठसँग साहित्य लेखनी लगायतका विभिन्न साहित्यिक सवालहरुमा इखवर नेटका लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ )
१. सन्चै हुुनुहुन्छ ? अनि आजकाल के मा व्यस्त हुनुहुन्छ नि ?
स्वास्थ्यले साथ दिएको छ । ३१ वर्षे लामो समयको सरकारी जागीर अबकास पछि लेखनीमै निरन्तरतामा वितेको छ ।
२. आजकाल के लेख्दै हुनुहुन्छ ?
भर्खरै मेरो उपन्यास प्रकाशित भयो । अहिले खास केही लेखिरहेको छैन् ।
३.हामीलाई तपाईको लेखनीको प्रारम्भका दिनहरु बारे जानकारी दिनुस न ?पहिलो छापिएको रचना के हो ?
म स्कुले जीवनदेखि नै कविता लेख्थें । प्रत्येक शुक्रबार साहित्यिक कार्यक्रम हुँदा लेखेको कविता सुनाउँथे । पछि २०१८ सालदेखि मैले कविता प्रकाशन गरेर साहित्यमा हात हाले भनौं । मेरो पहिलो कविता गाउँ फर्क शिर्षकको विं.सं.२०२५ सालमा छापिएको हो । तर कृतिकै रुपमा चाँही वि.सं.२०३३ सालमा प्रेमको स्मारक नामक लघुउपन्यास प्रकाशित भयो ।
४. तपाईंलाई साहित्यमा लाग्न प्रेरणा कसरी प्राप्त भयो ?
मेरो विद्यालयमा हुने साहित्यिक कार्यक्रम र मेरा दाजु आदरणीय साहित्यकार स्व.कृष्णप्रकाश श्रेष्ठ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
५.तपाई कथाबाट बालसाहित्यमा प्रवेश गरेर पनि धेरै योगदान गर्नुभयो नि ?
हो मैले पहिले कथा थुप्रै लेखें । ६ वटा कृति पनि प्रकाशित गरेँ। नेपाली बालसाहित्यमा स्तरीयताको अभाव र स्रष्टा पनि कम देखेर भोलीको पुस्ताको निम्ति योगदान गरुँ भनेर मैले बालसाहित्य सृजनाकर्ममा हात हालेँ । फलत झण्डै असी वटा बालसाहित्यका विभिन्न विधाका पुस्तकहरु ल्याउन सफल भएँ । तर म बालसाहित्य सृजनामा तीसको दशकमै लागेको हुँ ।
६.तपाईका लोक साहित्य र संस्कृतितर्फका कृति पनि थुप्रै आए ? यो क्षेत्रमा लाग्न प्रेरणा कसरी प्राप्त भयो ?
लोकसँस्कृति हाम्रो आफ्नै जीवनशैली हो । परम्परागत विश्वास र आस्थाको दैनिकी पनि हो । साहित्यको पूर्वरुप नै लोकसाहित्य हो । त्यसमा स्थान विशेष र जातिय सँस्कारका कुरा पनि जोडिएर आउँछन् । जब मैले नेपाल सरकारको जागिरे भएर देशका विभिन्न जिल्लाहरुमा घुम्ने,बस्ने र काम गर्ने अबसर पाएँ । त्यतिवेला विभिन्न स्थानका पुराना कुराहरु,रीतिथिति ,परम्परा,संस्कार र संस्कृति बारे जान्ने मौका पाएँ । काम गर्दै जाँदा तिनले मलाई ताने र म त्यसक्षेत्रमा पनि लागेँ र अध्ययन गरेँ । अध्ययनबाट प्राप्त कुराहरुलाई कृतिको रुपमा समावेश गरेर प्रकाशन गरें । यसैले प्रेरणा भनेकै विभिन्न स्थान,जात र आस्थाले मलाई तानेर नै पाएको हुँ ।
७.वर्तमान समयमा गैह्र आख्यानमा नियात्राले बढी पाठक पाएको मानिन्छ । तपाईका पनि आठ थान नियाात्रा कृति आएका छन् । एउटा सुन्दर नियात्रा हुन् के के चाहिन्छ ?
निजत्व भएको,सम्बन्धित ठाउँको भूगोल,इतिहास,संस्कृति समेटिएको,रोचक घट्नाहरु समावेश गरी गतिशिल ढंगले लेख्न सके नियात्रा सुन्दर हुन्छ । मेरो विचारमा यात्रात्मक अभिव्यक्ति नै नियात्रा हो ।
८. अब अलिकति पठन सँस्कृतिको कुरा गरौं । नेपालमा पठन संस्कृति विकास हुन नसकेको देखिन्छ । यहाँलाई के लाग्छ ?कस्तो देखिन्छ अबस्था ?
बास्तममा सतप्रतिशत सही कुरा हो । हाम्रो पठन संस्कृति कमजोर छ । ५० वर्ष अघि १ हजार प्रति पुस्तक छापिन्थ्यो भने अहिले ५ सयमा झरेको छ । बालसाहित्यमा पनि त्यस्तै रोग छ । नयाँ पुस्ता सामाजिक सञ्जालमै रमाउँछ । तसर्थ सृजना बढेको भएपनि पठन सँस्कृति बढाउन सकिएन् । अनि धेरै स्रष्टाहरु केवल आफ्ना कृति अरुले पढिदिउन भन्ने चाहाना राख्छौं तर हामी अरु स्रष्टाका कृति पढ्दैनौ । यो पनि समस्या हो हाम्रो ।
९.आजकाल साहित्यक्षेत्रको पुरस्कार र सम्मानहरुमा विकृति आएको छ भन्ने सुनिन्छ नि ? यहाँलाई के लाग्छ ?
हुन त मैले पनि केही पुरस्कार पाएको छु । सम्मान र अभिनन्दित भएको छु । तर आजकाल अलिकति यो विषय पनि विवादित देखिएको छ । समस्या जहाँ तहिँ छ । पुरस्कार र सम्मानमा पनि छ । लेनदेन गर्ने,आदानप्रदान गर्ने चलन सुन्नमा आएका छन् । यसो हुनु राम्रो होइन् । रिझाउनेले पुरस्कार पाउने प्रवृत्तिको हामीले विरोध गर्नुपर्दछ । यसैगरी सरकारी सम्मान र पुरस्कार दलगत जस्तो हुन थालेको छ । योगदानको आधारमा सम्मान र पुरस्कार पाउँनुपर्छ भन्ने मेरो मान्यता छ ।
१०.नेपाली साहित्यको वर्तमान अबस्थालाई कसरी लिनुभएको छ ?
साहित्यमा सर्जकहरुको सँख्यामा वढोत्तरी भएको छ । साहित्यिक गतिविधिहरु पनि बढेका छन् । साहित्यमा रुची राख्नेहरुको सँख्या पनि पहिलेको तुलनामा बेशी छ । तसर्थ,विश्व साहित्यमा फड्को मार्नसक्ने साहित्य सृजना गर्नु जरुरी भैसक्यो । अहिले छिटफुट रुपमा नेपाली साहित्य विश्व वजारतिर लम्कँदो छ । कैयन कृतिहरु अंग्रेजी लगायतका भाषाहरुमा अनुवाद भएका छन् । मलाई लाग्छ नेपाली साहित्यको भविश्य राम्रो छ ।
११. र अन्त्यमा,मैले भन्न छुटाएको र यहाँलाई भनुँ भनुँ लागेको केही भए ?
यहाँ र इखबर नेटलाई आफ्ना कुराहरु राख्ने अबसर दिनुभएकोमा धन्यबाद ।