
नियात्रा
नाइलमा जलयात्रा
विनोद नेपाल
विद्यालय तहमै पढिएको थियो ‘मिश्र देश’ अर्थात् इजिप्टका बारे । त्यहांका अद्भूत एवं आश्चर्यजनक पिरामीड बारे र विश्वका प्राचीन सात आश्चर्य मध्ये दुई त्यस मुलुकमा पर्छन् भन्ने बारे पनि जानकारी थियो । अनि यो पनि कि विश्वको सबैभन्दा लामो नदी पनि त्यहीं पर्छ । तर अफ्रिका महादेश भन्नासाथ कहां हो कहां लाग्ने, अफ्रिका प्रतिको दृष्टिकोण नै फरक भएकोले पनि कुनै दिन त्यहांसम्म पुगिएला र तिनको अवलोकन गर्ने अवसर आउला भन्ने कल्पनासम्म गरिएको थिएन ।
त्यसो त जीवन नै यात्रा हो । के नै असम्भव छ र ? अझ प्रविधिले संसारलाई सांगुरो बनाएको यस समयमा सबै चिज मुठ्ठीमै छन् र हाते फोनलाई इन्टरनेटको जालोमा जोडिदिंदा चाहेका विषयका जानकारी पाउन पनि सहज छ । तर कोठे शिक्षा वा यस्तो ज्ञान भन्दा प्रत्यक्ष अनुभव गरेको,भोगेको कुराले राम्रो शिक्षा र ज्ञान दिन्छ । यसैले यथाशक्य भ्रमण गर्ने गर्दा वेश हुन्छ ।
यिनै कारण पछिल्लो समय, जुन निर्वन्ध र फुर्सदिलो रूपमा वित्दैछ, यात्रालाई प्राथमिकतामा राखिएको छ । यसपाली आकस्मिक रूपमा अफ्रिका ताकियो,पाइला इजिप्टतिर सोझियो ।
अक्टोबर ५ अर्थात असोज १८ गते (२०७६) त्रिभुवन विमानस्थलबाट अघि बढेका हामी दुवई हुंदै राजधानी कायरो पुगेको ६ अक्टोबर त्यहांको इतिहासको विशेष दिन रहेछ । यस दिन त्यहाँ सार्वजनिक विदा हुंदोरहेछ । संयोग कस्तो भने हामीलाई राख्ने व्यवस्था भएको ‘स्वीस इन पिरामिड गल्फ रिसोर्ट’ ‘६ अक्टोबर नामक स्थानमै रहेछ । स्थानीय समय अनुसार ठीक मध्यरात अलेक्जेण्ड्रिया ओर्लेका हामीलाई त्यहांबाट झन्डै तीन घण्टाको वस यात्रा गराई त्यहां पु¥याइएको थियो ।
एउटै यात्रा व्यवस्थापक मार्फत गएका हामी दुई टोली थियौं । हाम्रो २९ जनाको टोली थियो इजिप्टसंगै दुबईको पनि यात्रा गर्ने गरी गएको, र अर्को टोली रहेछ २१ जनाको, इजिप्ट भ्रमण पश्चात नेपाल फर्कने गरी जांदै रहेछ ।
हाम्रा गाइड थिए ‘अहमद मिडु’ । उनी हामीसंगै थिए अलेक्जेण्ड्रिया देखि नै र परिचयकै क्रममा उनले भनेका थिए, ‘अब म पांच दिन सम्म यहांहरूसंगै हुन्छु, यहांहरू मेरो अह्रन खटन अनुसार चल्नुहोला’ ।
होटलमा पुगेपछि मिडुले हामीलाई भने ‘अरू दिन यहांको जाम छिचोल्न निकै कठिन हुन्छ, घण्टौं जाममा पर्न सकिन्छ तर आज विदा हुनाले हामीलाई सजिलो हुन्छ’ ।
हामी ढुक्क भयौं ।
नेपालीहरू समयको पालनामा कमजोर छन् भन्ने उनलाई जानकारी रहेछ । त्यसो त इजिप्ट स्वयं पनि समयको पालनामा कमजोर मानिन्छ तर मिडु हामीलाई भन्दै थिए ‘नेपालीहरूलाई एघार बजेको समय दियो भने १२ बजे तयार हुन्छन् भन्ने मलाई थाहा छ’ । ‘आराम गर्नुस्, ब्रेकफास्ट खानुस् र बाह्र बजे पिरामिड हेर्न जाने गरी तयार भैराख्नुहोला, म आउंछु’ भन्दै उनी निस्के । निद्राले लठ्याएका हामी हाम्रा लागि छुट्याइएका कोठाका सांचो लिएर कोठा खोज्न थाल्यौं ।
मिडु आइपुग्दा हामी तयारी अवस्थामै थियौं । उनले हामीलाई कार्यक्रम अनुसार सर्वप्रथम गिजाको पिरामिड तर्फ अघि बढाए । यात्रा क्रममा उनले पिरामिडको इतिहास एवं सो धरोहरको बारेमा विस्तृत जानकारी गराए । उनले पिरामिड परिसरमा के गर्ने र के नगर्ने भन्ने पनि बताए ।
चर्को घाम थियो मध्यान्हको, सहारा मरुभूमिमा उभिएको त्यो पिरामिडमा पुग्दा । तर हामीलाई त्यो घामको कुनै परवाह भएन । झोलामा छाता थियो तर त्यो झिक्न हात अघि बढेन । पिरामिडको सान्निध्यले गर्मी यसै हरायो । पिरामिड माथि जान पाइने ठाउंसम्म चढ्ने र तस्वीर लिनेतर्फ नै लागियो ।
मिश्रको पिरामिड युनेस्कोको सम्पदा सूचीमा समावेश विश्वको प्राचीन सम्पदा हो । आजभन्दा झन्डै ४५०० वर्ष पहिले बनेका पिरामिड विश्वकै आकर्षणको केन्द्रका रूपमा रहेका छन् । यी पृथ्वीका मानव निर्मित संरचनामध्ये चन्द्रमा बाट देखिने दुई मध्येको एक मानिन्छन् अर्को हो चीनको पर्खाल ।
पिरामिडसंगै हराइरहेका हाम्रो ध्यान परबाट हामीलाई हेरेर बसिरहेका मिडुले आप्mनो समय योजना अनुसार ‘आउनुस्’, भन्दा मात्रै उनीतर्फ तानियो ।
उनले ‘छिटो’ ‘आउनुस्’, ‘बस्नुस्’ भन्ने जस्ता नेपाली शब्द सिकेका रहेछन् ।
गिजाका पिरामिड हेर्दा सांच्चिकै आश्चर्य लाग्छ । त्यतिविधि कहां पाइयो होला । त्यस्तो आकारका चट्ट मिलेका कसरी बनाइयो होला ? कसरी ती अजङका ढुंगा ओसारियो होला ? र त्यत्रो झण्डै डेढ सय मिटर उचाइका अग्ला संरचना कसरी र कुन सीपले त्यत्रा संरचना बनाइयो होला । अझ रहस्य त ती अहिलेसम्म पनि खडा रहनुमा छ ।
यहां तीनवटा ठूला पिरामिड छन् लगभग उस्तै उचाइका र अरू साना छन् । निर्माणका वखत १४६ मिटर अग्लो हो सबैभन्दा अग्लो पिरामिड । यसमा भित्र तीनवटा कोठा रहेका र अन्य दुईमा एक एक वटा मात्रै छन् भन्ने जानकारी मिडुले गराएका थिए । विभिन्न कारणले यसको उचाइ हाल करिब १३७ मिटर मात्र रहेको अनुमान छ ।
दोस्रो पिरामिड यो भन्दा थोरै मात्र होंचो र तेस्रो अझ होंचो छ । पहिले नाइल नदीको केवल करिब १ किलोमिटरको दुरीमा रहेका यी पिरामिड हाल झण्डै सात किलोमिटर पर पर्दा रहेछन् नदीको मार्ग परिवर्तनका कारण ।
पिरामिड परिसरमा उंट चढाउनेहरू प्रशस्त भेटिंदारहेछन् । हाम्रो समुहका केही साथीहरू त्यसतर्फ लागे । हामी भने विभिन्न कोणबाट पिरामिडको तस्वीर लिन र अद्वितीय ती संरचनाको अवलोकन गर्नमै व्यस्त रह्यौं ।
समय भएपछि मिडुले ‘याल्ला याल्ला’ भनेपछि हामी सबैजना एकत्रित भई हामीलाई पर्खिरहेको बसमा बसी आआफ्ना स्थान लियौं ।
यसपछि हामीलाई लगियो प्रशिद्ध स्फिनेक्सको मूर्ति तर्फ । यो मुर्ति पनि अर्को अदभुत सम्पदा हो विश्वकै । ढुंगाको विशाल यो मूर्ति पिरामिडकै अर्को भागमा छ । मूर्तिका बारेमा बताउंदै हामीलाई मिडुले जान सकिने स्थानसम्म लगे र तस्वीरहरू खिच्न सुझाए । हामीले दंग परेर मुर्ति अवलोकन ग¥यौं । तस्वीर लियौं र उनकै बोलाहटमा उनीतर्फ फर्कि बसमा बस्यौं ।
यसपछि मिडुले हामीलाई इजिप्ट ‘सेन्ट’का लागि प्रख्यात रहेको बताउंदै अब सेन्टको प्रदर्शन तथा बिक्री स्थलतर्फ लैजाने बताए । केही समयको यात्रा पछि सो स्थानमा पुगियो । चियाको स्वागतसंगै सम्मानपूर्वक बसालेर विभिन्न किसिमका सेन्टका बारे, त्यहां सेन्ट कसरी उत्पादन गरिन्छ सो बारे र आफ्ना उत्पादनका गुणहरूबारे पढाउन अभ्यस्त व्यक्तिहरूले हामीलाई झन्डै एकघण्टा सो विषयमा कक्षा नै लिए ।
आगन्तुकलाई प्रभावित पार्न सक्ने तिनको क्षमता गजबकै थियो । हामी पनि प्रभावित भयौं । केही उपयोगी औषधीय गुणका र केही सुवासिला सेन्ट खरिद ग¥यौं । यसपछि हामीलाई छेउमै रहेको कागज कला सम्बन्धी व्यापारिक तथा प्रदर्शन स्थलमा लगियो । केहीले खरिद ग¥यौं । अनि हामी होटलमा फर्काइयौं ।
मिडुले सांझ नाइलमा क्रुजका लागि जानुपर्ने भन्दै तयार रहन समय दिए र हामीलाई होटलमा छाडी बाहिरिए ।
प्रारम्भमै समय पालना प्रति सजग गराएकाले सो कुरालाई ख्याल राख्दै हामी मिडुले भनेको समयमा तयार भयौं । उनी आएपछि हामी गाडीमा बस्यौं र जाम छिचोल्दै झन्डै एक घण्टाको यात्रापछि नाइल नदिको क्रुज सञ्चालन हुने स्थानमा पुग्यौं । झण्डै दुई घण्टाको खाना तथा मनोरञ्जनसहितको जलयात्रा पछि हामी होटल तर्फ फर्काइयौं ।
कायरोमा जहाँ पायो त्यही मदिरापान निषेधित छ । मिडुले नेपालीहरू वियरका पारखी हुने र क्रुजमा वियर पाइने भएपनि यहां त्यो निकै महगो हुने जानकारी त्यसतर्फ जानु अघि नै गराएका थिए ।
नाइल विश्वकै लामो नदी हो । नाइल नदी उत्तर तर्फ बहन्छ र भूमध्यसागरमा मिल्दछ । यो इजिप्टको जीवनधारा हो । यसकै छेउछाउमा यहां खेती हुन्छ । यसै उत्पादनले देशको माग धान्दछ ।
फर्कने समयमा मिडुले भोलीको कार्यक्रम सुनाए । चर्च, मस्जिद आदि र ‘ओल्ड कायरो बजार’भ्रमणको योजना रहेछ । यसले पूरा दिन नलिने भन्दै उनले अरु केही चाहना भए भन्न र आफूले सक्दो व्यवस्थापन गर्ने भन्दै केही सम्भावनाहरू पनि बताए ।
हामीले सर्वप्रथम नाइल नदिमा पुग्ने इच्छा व्यक्त ग¥यौं । ‘अंध्यारोमा त देखियो, उज्यालोमा नाइल हेरौं’ भन्दा उनले नाइलमा दिउंसोको जलयात्रा पनि सम्भव भएको बताए । अनि संग्रहालय, ममीको अवलोकन, न्यू कायरो डाउनटाउनको भ्रमण आदि सम्भव रहेको जानकारी पाएपछि हामीले ती सबैमा सरिक हुने र सांझको खाना समेत उतै खाइवरी होटलमा फर्कने गरी योजना बनाउन भन्यौं । यसका लागि लाग्ने शुल्कका बारेमा आफूले सोधेर बताउने भनेपछि हामी त्यसका लागि तयार भयौं । लगभग सबैजना संगै जाने भएपछि उनले भोलि विहान यात्रा अघि नै रकम असुल गर्ने गरी हामीबाट विदा भए ।
भोलिपल्ट, ७ अक्टोबर विहान १० बजे अगावै उनी होटलमा आइपुगे । हामी उनकै प्रतीक्षामा थियौं । उनले हामीसंग पैसा उठाउन थाले । बुझाइसकेपछि गाडीमा राखेर हामीलाई योजना अनुसार त्यहांका सर्वाधिक पुराना चर्च, मस्जिद हुंदै इजिप्ट संग्रहालयमा पु¥याए । सबै ठाउंमा तिनको महत्व र इतिहास बारे जानकारी गराए ।
हामी हाम्रा सम्पदाको अत्यन्त गर्व गर्छौं । इजिप्ट अत्यन्त पुरानो र मानव सभ्यताको आधारभूमी हो । यो सम्पदाको धनी देश हो । यहांका सम्पदा अत्यन्त पुराना छन् । तिनको इतिहास सुन्दा हाम्रा सम्पदा नयां लागे ।
हामी नाइल नदीमा जलयात्राका लागि तयार थियौं र त्यो गर्मीमा त्यसका लागि हतारिएका पनि थियौं । चर्च, मस्जिद, संग्रहालय र न्यू कायरोको अवलोकन पश्चात हामी नाइल तर्फ लगियौं । ससाना बोटमा एउटामा दश बाह्र जनाका दरले बांडिएर हामी बसाइयौं । झन्डै ४५ मिनेटको जलयात्रा वास्तवमा हाम्रा लागि अत्यन्त रोमाञ्चक र त्यतिमात्र होइन इजिप्ट यात्राकै सबैभन्दा अविस्मरणीय क्षणको रूपमा रहन पुग्यो ।
कायरो शहरको बीचबाट बग्ने नाइल नदी गाढा निलो छ । बढी गहिरो ठाउंमा यो कालो देखिन्छ । शहरकै बीचमा भएपनि उतिसारो फोहर छैन, सफा देखिन्छ यसको पानी । छेउछाउमा हरियाली छ । बरपिपलका बोट समेत छन् त्यहाँ । अनि अग्ला होटल र टावरहरू छन् । तिनले पनि नाइलको शोभा बढाएका छन् । सांच्चिकै गजब रह्यो यो यात्रा र यो यात्रा पछि नै कायरो यात्रा सार्थक भएको महसुस भयो ।
––

