
समीक्षात्मक टिप्पणी
बहुरङ्गी अनुभूतिको साझा चौतारी : सिक्किमेली लघुकथासङ्ग्रह
मुरारीराज मिश्र
लघुकथा आकारमा सानो भए पनि अनुभूति, विचार र प्रभावका दृष्टिले विराट हुन सक्ने साहित्यिक विधा हो । थोरै शब्दमा जीवनको कुनै गहिरो सत्य टिपेर पाठकको चेतनामा लामो समयसम्म तरङ्ग पैदा गर्नु यसको मूल शक्ति हो । तीव्र गतिमा बदलिइरहेको समय, प्रविधिले साँघुरिँदै लगेको मानवीय सम्बन्ध र पढ्ने समयको अभावबीच लघुकथा आजको पाठकसँग सहजै संवाद गर्न सक्ने प्रभावशाली विधाका रूपमा स्थापित हुँदै गएको छ । यही विधागत सम्भावना र सामयिकतालाई आत्मसात् गर्दै प्रकाशित ‘सिक्किमेली लघुकथासङ्ग्रह’ नेपाली लघुकथाको भूगोललाई फराकिलो बनाउने उल्लेखनीय सामूहिक प्रयत्नका रूपमा पाठकमाझ आएको छ ।
सिक्किमेली लघुकथा समाजकी संस्थापिका त्रिपुरा ‘पोखरेल’ खरेलको प्रधान सम्पादकत्व तथा हेमराज अधिकारी, सोम कुमार सुब्बा, दीपक लोहनी र के. के. प्रधानको सहयोगी सम्पादनमा तयार भएको यस कृतिलाई सिक्किमेली लघुकथा समाजले प्रथम संस्करणका रूपमा मई, २०२६ मा प्रकाशनमा ल्याएको हो । ११६ वटा लघुकथा समेटिएको पुस्तक ‘राष्ट्रिय खण्ड’ र ‘अन्तर्राष्ट्रिय खण्ड’मा विभाजित छ । भारू. ५०० तथा नेरू. ८०० मूल्य तोकिएको यस सङ्ग्रहमा सिक्किमसँगै दार्जीलिङ, आसाम, मणिपुर, मेघालय, नेपाललगायत विभिन्न भूगोलमा रहेका नेपालीभाषी सर्जकहरूका रचना समेटिएका छन् ।
यस कृतिको पृष्ठभूमि आफैँमा रोचक र प्रेरणादायी छ । कोरोना महामारीको कहालीलाग्दो समय र बन्दाबन्दीका बीच, जब मानिसहरू भय र अनिश्चितताले घरभित्रै सीमित थिए, त्यही समयलाई सिर्जनात्मक ऊर्जामा बदल्दै सन् २०२१ जुलाई ११ मा फेसबुक पेजका रूपमा ‘सिक्किमेली लघुकथा समाज’को बीजारोपण भएको थियो । सामाजिक सञ्जाललाई केवल मनोरञ्जन वा सम्पर्कको माध्यम नबनाई साहित्यिक सिर्जना, विमर्श र सर्जक-पाठक सम्बन्धको चौतारी बनाउने त्यो प्रयत्न क्रमशः संस्थागत यात्रामा विकसित भयो र त्यसैको उपलब्धिका रूपमा यो सङ्ग्रह पाठकसामु आएको छ । यस अर्थमा पुस्तकभित्रका कथा मात्र होइन, यसको निर्माणयात्रा पनि नेपाली साहित्यमा सामूहिक प्रयत्नको एउटा अनुकरणीय दृष्टान्त हो ।
सङ्ग्रहको सबैभन्दा सबल पक्ष यसको भौगोलिक र भावनात्मक व्यापकता हो । सिक्किमको नाम बोकेको भए पनि पुस्तकले आफ्नो सीमा सिक्किमको भूगोलमा खुम्च्याएको छैन । विभिन्न भूगोलमा छरिएका नेपालीभाषी सर्जकहरूलाई एउटै साहित्यिक मञ्चमा ल्याएर यसले भाषा, अनुभूति र साहित्यिक आत्मीयताको साझा सम्बन्धलाई सुदृढ बनाएको छ । भूगोल फरक भए पनि मानिसका दुःख, सपना, प्रेम, पीडा, सङ्घर्ष र सामाजिक सरोकारमा धेरै समानता हुन्छ भन्ने सत्य सङ्ग्रहका कथाहरूले प्रमाणित गर्छन् । त्यसैले यो केवल लघुकथाको सङ्कलन होइन, नेपालीभाषी समाजको साझा संवेदनाको दस्तावेज पनि हो ।
विषयवस्तुका दृष्टिले सङ्ग्रह निकै बहुरङ्गी छ । सामाजिक विसङ्गति, नारी अधिकार र अस्तित्व, पारिवारिक सम्बन्ध, आर्थिक अभाव, राजनीतिक तथा प्रशासनिक विकृति, धार्मिक तथा सांस्कृतिक आडम्बर, प्रविधिको बढ्दो प्रभाव, माटो र जन्मभूमिप्रतिको अनुराग तथा मानवीय संवेदनाजस्ता अनेक विषयले कथाको संसार निर्माण गरेका छन् । कतिपय कथा समकालीन जीवनका प्रत्यक्ष दृश्यझैँ लाग्छन् भने कतिपयले प्रतीक र व्यङ्ग्यको सहारा लिएर गहिरा सामाजिक प्रश्न उठाएका छन् ।
त्रिपुरा ‘पोखरेल’ खरेलको ‘अधिकार !’ ले नारी अधिकारका विषयमा गरिने आदर्शवादी भाषण र व्यवहारमा देखिने पितृसत्तात्मक मानसिकताबीचको विरोधाभासलाई तीखो व्यङ्ग्यका साथ प्रस्तुत गर्छ । अधिकारको पक्षमा ठूलो स्वरमा बोल्ने पात्रकै व्यवहारमा पुरानो सामाजिक सोच उजागर हुनु कथाको मूल विडम्बना हो । नारी अधिकार भाषण, नाराबाजी वा औपचारिक सहभागितामा मात्र सीमित नभई व्यवहारमै स्थापित हुनुपर्छ भन्ने सन्देश कथाले दिन्छ ।
त्यसैगरी दुलुमणि देवी उपाध्यायको ‘सिन्दूरको तागत’ नारीको स्वतन्त्र अस्तित्वमाथि समाजले खडा गरेको अदृश्य पर्खालको कथा हो । समाजका लागि आवाज उठाउने नारीलाई नै चरित्र र नैतिकताको कठघरामा उभ्याउने प्रवृत्तिमार्फत कथाले पितृसत्तात्मक सामाजिक संरचनाको क्रूर अनुहार देखाउँछ । नारीको सामाजिक सुरक्षा र सम्मानलाई उसको वैवाहिक पहिचानसँग जोडेर हेर्ने मानसिकतामाथिको प्रहार यस कथाको उल्लेखनीय पक्ष हो ।
आधुनिक प्रविधिले जीवनलाई सहज बनाउँदै गर्दा मानवीय सम्बन्ध, श्रम र संस्कारमा पारिरहेको प्रभाव पनि सङ्ग्रहको महत्त्वपूर्ण सरोकार बनेको छ । हेमराज अधिकारीको ‘संस्कार’ ले मोबाइल र आभासी संसारमा अल्झिएको पुस्तालाई वास्तविक ज्ञान, श्रम र संस्कारको महत्त्व सम्झाउँछ । प्रविधिको उपयोग र प्रविधिको दासत्वबीचको अन्तर बुझाउन कथा सफल छ । यसले आधुनिक पुस्तालाई दोषारोपण मात्र गर्दैन, अभिभावक र समाजले दिनुपर्ने संस्कारको प्रश्न पनि उठाउँछ । सोम कुमार सुब्बाको ‘अपाङ्गता’ राजनीतिक तथा नागरिक चेतनाको तहमा प्रहार गर्ने प्रतीकात्मक कथा हो । यहाँ अपाङ्गता शारीरिक सीमाभन्दा पर गएर अधिकारप्रति मौन, अन्यायप्रति निष्क्रिय र आफ्नो नागरिक दायित्वप्रति उदासीन मानसिकताको प्रतीक बनेको छ । राज्य, संविधान र नागरिकबीचको सम्बन्धलाई छोटो कथानकमा गम्भीर प्रश्न बनाउनु यसको शिल्पगत सफलता हो ।
इन्दिरा गौतमको ‘चित्रमा चरित्र’ धार्मिक आडम्बर र वास्तविक आचरणबीचको दूरीलाई केन्द्रमा राख्छ । मन्दिर, मूर्ति र प्रचारभन्दा विचार तथा चरित्रको अनुकरण महत्त्वपूर्ण हुन्छ भन्ने कथ्यले धर्मको बाहिरी प्रदर्शनभन्दा मानवीय मूल्यलाई प्राथमिकता दिन्छ । यसले धार्मिकताको नाममा बढ्दै गएको प्रदर्शनमुखी संस्कृतिलाई प्रश्न गर्छ ।
के. के. प्रधानको ‘मेसिन’ आधुनिक भौतिक सम्पन्नताको सीमातर्फ संकेत गर्ने दार्शनिक कथा हो । प्रविधिले सुविधा थप्न सक्छ, तर आत्मीयता, आत्मनिर्भरता र मानसिक शान्ति उपलब्ध गराउन सक्दैन भन्ने मानवीय सत्य कथाको केन्द्रमा छ । बाहिरी सम्पन्नताको चमकभित्र लुकेको भावनात्मक रिक्ततालाई कथाले सहज ढङ्गले उद्घाटित गरेको छ ।
पारिवारिक संवेदनाका दृष्टिले महेन्द्र मोक्तानको ‘बा’ विशेष उल्लेखनीय छ । सन्तानको भविष्यका लागि आफ्ना अभाव लुकाएर मुस्कुराउने पिताको त्यागलाई कथाले अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ । यहाँ ‘बा’ एउटा पात्र मात्र नभई आफ्ना सन्तानको सुखका लागि दुःखलाई समेत प्रेममा रूपान्तरण गर्ने असङ्ख्य बाबुहरूको प्रतिनिधि बनेका छन् । छोटो कथानकभित्र गहिरो भावनात्मक प्रभाव सिर्जना गर्नु यसको सफलता हो । त्यस्तै निमा शेर्पाको ‘माटो’ ले जन्मभूमि, पुर्ख्यौली थातथलो र मानवीय पहिचानबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राख्छ । भौतिक सम्पन्नताको खोजमा मानिस आफ्नो जरा र माटोबाट टाढिँदै गएको वर्तमान सन्दर्भमा यो कथा स्मृति, अस्तित्व र मातृभूमिप्रतिको भावनाको पुनर्स्मरण गराउँछ । धनले सुविधा दिन सक्छ, तर माटोले दिने आत्मीयता र पहिचानको विकल्प हुन सक्दैन भन्ने कथ्य प्रभावकारी छ ।
यी केही प्रतिनिधि रचनाबाटै सङ्ग्रहको वैचारिक फैलावट अनुमान गर्न सकिन्छ । प्रेम, विछोड, परिवार, सामाजिक विभेद, आर्थिक सङ्घर्ष, राजनीतिक विसङ्गति, प्रविधि, संस्कार, धर्म, नारी अस्तित्व र राष्ट्रिय चेतनासम्मका विविध विषयलाई लघुकथाकारहरूले आ-आफ्नै अनुभूति र शिल्पबाट प्रस्तुत गरेका छन् । यसले सङ्ग्रहलाई एउटै विचार वा भावको पुनरावृत्तिबाट जोगाउँदै बहुआयामिक बनाएको छ । शिल्पका दृष्टिले पनि सङ्ग्रहका धेरै कथा लघुकथाको मूल मर्मसँग निकट देखिन्छन् । आकस्मिक उठान, संक्षिप्त कथाविकास र अर्थपूर्ण अथवा झट्कादार अन्त्यका माध्यमबाट कथ्यलाई प्रभावकारी बनाइएको छ । संवाद, प्रतीक, व्यङ्ग्य र ध्वनिको प्रयोगले कतिपय कथालाई कथानकभन्दा परको अर्थ प्रदान गरेको छ । सरल र सहज भाषामा गम्भीर विषयलाई सम्प्रेषण गर्नु सङ्ग्रहको अर्को सकारात्मक पक्ष हो । कतिपय कथाको अन्त्यले पाठकलाई एकछिन रोकेर पुनः कथा सम्झन बाध्य बनाउँछ- लघुकथाको सफलताको एउटा महत्त्वपूर्ण मापदण्ड यही हो ।
यद्यपि यति ठूलो सङ्ख्यामा रचना समेटिएको कृतिमा सबै कथा समान कलात्मक उचाइमा पुग्नु सम्भव हुँदैन । सङ्ग्रहमा केही कथाका केन्द्रीय विचारहरू आपसमा नजिक देखिन्छन् र कतिपय कथाको अन्त्य पूर्वानुमान गर्न सकिने खालको छ । केही रचनामा कथाभन्दा सन्देश वा विचार बढी मुखर भएको अनुभूति हुन्छ । सामान्य प्रुफ तथा सम्पादनका केही कमजोरी पनि देखिन्छन् । आगामी संस्करणमा कथाको चयनमा अझ कठोरता, कथ्यमा नवीनता, शिल्पमा प्रयोगशीलता र भाषिक सम्पादनमा थप सूक्ष्मता अपनाउन सके कृति अझ कसिलो बन्नेछ । ठूलो सङ्ख्याभन्दा उत्कृष्ट र प्रतिनिधि रचनाको छनोटलाई प्राथमिकता दिनु यस सङ्ग्रहको आगामी यात्राका लागि उपयोगी हुनेछ । तर यी कमजोरीहरूले कृतिको समग्र साहित्यिक महत्त्वलाई ओझेलमा पार्दैनन् । बरु यसले अर्को संस्करणलाई अझ परिष्कृत बनाउने सम्भावनातर्फ संकेत गर्छ । कृतिको मूल उपलब्धि भनेको विभिन्न भूगोलमा छरिएका नेपालीभाषी सर्जकलाई एउटै साहित्यिक चौतारीमा उभ्याउनु, समकालीन जीवनका विविध अनुभूतिलाई एउटै कृतिमा समेट्नु र लघुकथालाई सामूहिक साहित्यिक अभियानका रूपमा अघि बढाउनु हो ।
आज मानिससँग लामो आख्यान पढ्ने समय कम हुँदै गएको छ, तर जीवन र समाजलाई बुझ्ने उसको जिज्ञासा घटेको छैन । बरु सूचना र प्रविधिको तीव्र प्रवाहले प्रश्नहरू अझ बढाइदिएको छ । यस्तो समयमा लघुकथाले छोटो आयाममा गहिरो प्रश्न उठाउन सक्ने भएकाले यसको सामयिक महत्त्व झन् बढेको छ । ‘सिक्किमेली लघुकथासङ्ग्रह’ यही समयचेतनासँग संवाद गर्ने कृति हो । यसमा आधुनिक जीवनको चमकसँगै त्यसको अँध्यारो पनि छ; प्रविधिको सुविधा छ भने त्यसले निम्त्याएको एकान्त पनि छ; अधिकारको उद्घोष छ भने व्यवहारमा बाँकी रहेको विभेद पनि छ; अनि सामाजिक विसङ्गतिका बीच अझै जीवित मानवीय करुणा र आत्मीयता पनि छ ।
समग्रमा, ‘सिक्किमेली लघुकथासङ्ग्रह’ बहुरङ्गी कथा, विविध भूगोल र साझा मानवीय अनुभूतिको साहित्यिक चौतारी हो । यो पुस्तकले सिक्किमलाई मात्र चिनाउँदैन, सिक्किम हुँदै नेपालीभाषी साहित्यको फराकिलो संसारलाई एक ठाउँमा ल्याउने प्रयत्न गरेकाे छ । यसको सामूहिकता, विषयगत विविधता र साहित्यिक उद्देश्य उल्लेखनीय छन् । नेपाली लघुकथाको विस्तार र नेपालीभाषी सर्जकबीचको भावनात्मक एकताको सन्दर्भमा यसको आफ्नै ऐतिहासिक महत्त्व रहनेछ । त्यसैले, थोरै शब्दमा सिङ्गो जीवन देखाउने लघुकथाको सामर्थ्य र विभिन्न भूगोलमा छरिएको नेपाली अनुभूतिको साझा आवाज बोकेको यस सङ्ग्रहलाई एउटा पुस्तक मात्र नभई समय, समाज र मानवीय संवेदनाको बहुरङ्गी ऐनाका रूपमा लिन सकिन्छ ।


