
यात्रा संस्मरण
कुलेखानीहुँदै चन्द्रनिगाहपुरसम्म
छविरमण सिलवाल
नेपालीहरुको महान चाड वडादशैं २०६६ ले विदा लिदैछ, भने अर्को महान चाड तिहार नजिकिदैं छ । पश्चिम नेपालमा भएको बाढीपहिरोले दशैँ विथोलेकोले मनै अमिलो भएको छ । हुन त के नै गर्न सकिन्थ्यो र ? राजमार्गहरु अवरुद्ध भएका समाचारहरु मानसपटलमा ठोक्किरहन्थें । हुनतः नेपालको नियतिजस्तै भइसकेका छन् बाढीपहिराले पुर्याउने क्षति । दैवीविपत्तिसँगै केही मान्छेका सिमित स्वार्थबाट नेपालीहरुले दुःख पाउन थालेका छन् । लोग्ने स्वास्नीको झगडादेखि कुखुराका चल्ला किच्दा पनि राजमार्ग अवरोध गर्ने काम समाचारमा सुन्दा कसको मन नदुख्ला तर यात्रामा हिँडेका ती यात्रीहरुको अवस्थाको कल्पना हामी आफै यात्री भएर गर्न सकिन्छ । यीनै कुराहरुलाई मानसपटलमा घुमाउँदै हामी यात्रामा सामेल भएका छौँ । यात्रामा निस्कन भनेपछि मन भने चन्चल भइरहन्छ ।
बिहान पाँच नबज्दै बजेको आल्रमले निद्रा खुल्यो । मोबाइलमा पनि घण्टी बज्न थाल्यौं । ‘म त गाडी चढ्न लागें है छविरमणजी तपाई पनि तयार हुनुहोला’ दुवालसरको आवाज गुन्जिन्छ । छवजे कोटेश्वरमा भेट्ने बाचा सहित फोनवार्ता सकियो । जीवनसंगिनी तुलसाले तातोपानी र चियाको बन्दोवस्त गरिरहँदा मैले नित्यकर्म सिध्याए । छोरा लोकेश यात्राका आवश्यक सामानहरुको बन्दोबस्त गर्न तम्सियौ । ५.४५ मा म घरबाट निस्किएँ ।
कोटेश्वरमा केही समय पर्खिनुप¥यो दुवालसरलाई । बिहानको शुरुवातसंगै मान्छेहरुको दैनिकी पनि शुरु भैसकेका छन् । सडकमा व्यापार गर्नेहरुले आआफ्नो स्थान ओगटी सकेका थिए । तिनीहरुलाई गाडीको प्रदुषण र धुलो धुवाँको कुनै पर्वाह थिएन । बिहान बेलुकाको छाकटार्ने खोजीमा त्यही सडकमा प्रदुषणको पर्वाह गरेनन् तिनले ।
दुवालसर भेट हुनुभयो । बल्खु जाने बस चढ्यौँ । दुवालसरको मोवाइल बारम्वार बजिरहेको थियो शितल गिरीको फोन रहेछ ६.०० बजे नै गाडी चढीसक्नुपर्छ भन्ने उर्दीरहेछ शीतल गिरीको । समय घर्की सकेकोले निकै आत्तिएका रहेछन् उनी । निर्धारित समयभन्दा एकघण्टा पछि हामी सातबजे बल्खुपुग्यौं । शितलको छटपटी शान्त भयो । लालीगुँरास यातायातको टाटासुमोमा हामी चढ्यौ चन्द्रनिगाहपुरसम्मको लागि । करिव दुईबजे चन्द्रनिगाहपुर पुग्ने कुरा ड्राइभर भाइले बताउँदै थिए । त्यही बाटो भएर पूर्वतिरको यात्रामा म निकै पटक गएपनि चन्द्रनिगाहपुर ओर्लने मौका मिलेको थिएन, आज मौका मिलेको छ । कहिले पुगिएला भन्ने लालच मनभरी थियो । साँघुरो, घुमौरो र कच्चिबाटोमा दैनिक रुपमा आतेजाते गर्ने बानीपरेका टाटासुमोका गुरुजीहरु अभ्यस्त भैसकेका थिए ।
७.३० बजे गाडी बल्खुबाट हुइँकियो । चोभार, फर्पिङ, दक्षिणकाली हुँदै सिस्नेरीबाट जाने रहेछ । गाउँविकास समितिको बजेटबाट बनाइएका यी बाटोहरुले गर्दा त्यहाँका बासिन्दाहरुको जीवनस्तरलाई उकास्नेकाम भएको थियो । यसका साथै मुग्लिन नारायणगढहुँदै हेटौडा जान निकै समय लाग्ने भएकोले पनि यो बाटोबाट आउन जान सकिन्छ । काठमाडौंबाट जम्मा ८० कि.मी रहेको यो सडकमा ठूला बस संचालन गर्न भने निकै कठिन रहेछ । टाटासुमो र माइक्रोबसहरुले यात्रीहरुलाई निकै सुविधा दिईरहेका छन् । समयकोे बचत पनि भइरहेको छ । यसलाई राजमार्गको रुपमा विकास गर्नसके अझै कतिराम्रो हुने थियो ? यस्तै कुराहरु गर्दैथियौँ हामी बाटोभरी । दक्षिणकालीबाट दुईवटा बाटो रहेकाछन् । एउटा हुमानेभन्ज्याङ्ग फाखेल हुँदै कुलेखानी पुग्ने र अर्को सिस्नेरी हुँदै कुलेखानीको बाँधको तल्लो भागमा पुगिनें । त्यसपछि एउटै बाटोबाट हेटौडा पुग्न सकिन्छ । माथिल्लो बाटोबाट धेरै पटक हिडिसकेको छु साहित्यिक कार्यक्रम लगायत आफ्नै व्यक्तिगत कामले पनि । अहिले थोरै भएपनि कालोपत्र गर्नेकाम धमाधम भइरहेको रहेछ ।
दुवालसरसँगको यात्रा त मेरोलागि नौलो होइन, तर ठाउँ मात्र नौलो । शितल गिरीसँगको यात्रा मेरोलागि नौलो नै थियो । नामसँगमात्र परिचित शितल गिरीसँगको यो भेटघाटले मेरो मनमा उब्जेका कुराहरुको उत्तर मिलेको थियो । महिलाको जस्तै नाम छ, महिलानै हुन भन्ने मलार्ई लागेको थियो । यो यात्राले मेरो मनको कौतुहललाई शान्त पारेको छ । यी नै कुराहरुलाई हामीले बाटो काट्ने माध्यम बनाएका थियौँ ।
बाटोमा बेच्न राखेका ताजाताजा तरकारीहरु देख्दा आनन्द आइरहेको छ । हामीले फर्केर आउँदा खरिद गर्ने सोच बनायौँ । आफ्नै देशमा शरणार्थी जीवन विताई रहेका शितलदाइको कुरा सुनेर नरमाईलो लाग्यो । गिरी सबै पिडाहरुलाई लुकाएर पनि साहित्यमा अत्यन्त उर्जावान व्यक्तित्वको रुपमा रहेका पाएँ । कविता त लेख्न सकिएकोे छैन, इतिहास, अन्वेषकको विधामा रमिरहेको छु आजकल, मुस्काउँदै मेरो प्रश्नको जवाफ फर्काउँदै थिए । दुईओटी छोरीहरुको भविष्य निर्माणमा काठमाडौँमा बसाई सरेको धेरै भएको छैन । एउटा किराना पसलमा दैनिक गुजारा चल्दैं गएको छ । सरल, सहज मिजासका शितलदाइसँगको यो यात्रामा कही कतै असजिलो महशुस भएन हामीलाई । सिमखोलामा चियानास्ता खाएर गाडी कुलेखानीको उकालो लाग्यो ।
घुमौरो सानोबाटो कालोपत्र गरिएको छ । योे बाटोमा केही समय भएपनि जङ्लको बिचमा निकै रमाईलो अनुभव भइरहेको थियो । चराहरुको ध्यान भङ्ग गराउँदै दौडिएका गाडीहरुसंँग गुनासा भएपनि हाम्रो अर्को कुनै उपाय पनि त थिएन । मान्छेहरु आफ्नो सुविधाको लागि प्रकृतिको कुनै मुल्य सम्झदैनन् । हुनतः मान्छे यो धर्तीमा केही समयका मेहमान मात्र हुन्, तैपनि अहम्ताको पहाड चढिरहन्छन् । एक आपसमा वैरभाव गरिरहन्छन् । यस्तै कुराहरुलाई मनन गरेर आपसमा सदभाव बाडेर सवै भाई बन्धुत्वको ममता गाढा बनेमा नेपालीहरुको मुहारमा खुशी ल्याउन समय लाग्ने थिएन । दुवालसरका यी कुराहरुले हाम्रोे मन छोयोे । मैले पनि सोचें साँच्चै त्यस्तो दिन कहिले आउने होला खै ? आफ्नैै देशमा शरणार्थी बनेको पीडा बोकेका शितलदाइसँगको यात्रा रमाइलो भएको छ ।
गुरुजीले देउराली आईपुग्यो खाना खाने हो की भनेर प्रश्न तेर्साएपछि हामीलाई भोक लागेको अनुभूति भयो । देउरालीको चिसो हावाले हामीलाई स्वागत गरिरहेको छ । थुप्रै गाडीहरु रोकिएका थिए । घडीले विहानको ११ बजाई सकेको थियो । यही खाना खाऔं शितलदाइको आग्रह थियो । देउरालीलाई कुइरोले एकैछिनमा छोप्दथ्यो एकैछिनमा छोेड्दथ्यो । कस्तो रमाईलो दृष्य, मलाई कुहिरो भित्र हराउँन असाध्यै मनपर्छ । त्यहीँ हराइरहुँ जस्तो प्रकृतिको स्वरुपमा मलाई साँच्चैं सधै हराईरहन मनपर्छ । मन बादल जस्तै हलुङ्गो भयो । केही तस्विरहरु मैले क्यामरामा कैद गरें ।
हिमाल र तराई देखिने यो देउरालीमा रम्ने रहर नपुग्दै गाडीमा हर्न बज्न थाल्यो । निकै सानो बाटो अर्को गाडीलाई साइड दिनुपरेमा कठिनपर्छ । करिव चारसयजति क्यूका माइक्रोबस र टाटासुमोहरु रहेछन् यस रुटमा । मोटरसाइकलबाट यात्रा गर्नेहरु मनग्य भेटिरहन्थे बाटोमा । २०५९-६० सालतिर गोवद्र्धन पूजा, रमेश सागर, बुद्धिसागर चपाई र म यहीबाटो भएर हेटौडा गएका थियौं ।
तराई जाने छोटोबाटोको चर्चा निकै सुनेकोले हामी चारजना यात्रामा हिडेका थियौँ । बिना उद्देश्यको हाम्रो यात्रा हेटौडा र नारायणगढमा बसोबास गर्ने साहित्यकारहरुसँग भेटघाट गर्ने अवसर प्राप्त भएको थियो । बाटोमा चेकिङ्गले निकै दुःःख पाएका थियौं । धेरै झन्झटपूर्ण त्यो यात्रा आज पनि ताजै भइरहेकोछ । बिहानै निकै जाडो थियो काठमाडौमा अहिले निकै गर्मी महशुस भइसकेको थियो । त्रिभुवन राजपथ बनेपछि ओझेलमा परेको भिमफेदी बजारमा चहल पहल निकै बढेको थियो । एक जमानाको निकै चल्ती भएको यस ठाउँमा अहिले फेरी काँचुली फेर्ने खोजिरहेको अनुभव हामीले प्रत्यक्ष हेर्नेमौका पायौं । ओहो गर्मी त निकै रहेछ गाडी रोक्नै नहुने हपक्क भइहाल्ने ।
‘अस्ति पानी परेर अझ कम भएको पानी नपरुन्जेल त निकै गर्मी थियो’ शितलदाइ हामीलाई शान्त्वना दिइरहनुभएको छ ।
भान्जा हरिप्रसाद मैनाली मकवानपुरमा सिडियो हुनुहुन्छ । रसुवा र दोलखा पछि तेस्रो जिल्ला हो मकवानपुरमा सिडियो भएको । एकपटक भेट्ने चाहना भयो । फोन वार्ता भयो आजै आउनको लागि आग्रह थियो भान्जाको । मैले यहाँ आउनुपर्ने कामको विवरण सुनाएपछि फर्कँदा एकरात बस्ने बाचासहित फोनबाट बिदा भयौँ र हामी गन्तव्य स्थलतिर लाग्यौ । करिव दुईवजे पुगिन्छ भन्नुभएको थियो शितलदाइले । हामी डेढवजेतिर नै पुग्यौं । टाटासुमोको सेवापनि होमसर्भिस नै रहेछ हरेक घरघरमा यात्रीलाई पु¥याईदिने । धेरै गाडीहरु चल्ने भएकोले प्रतिस्पर्धा गर्न खोजेका होलान् ? जे भएपनि यस्ता स्कीमहरुले यात्रीहरुलाई नै राहत मिलेको छ ।
चन्द्रनिगाहपुरमा निकै गर्मी महशुस भयो । आजको हाम्रो यात्रा सकिएको थियो । टाटासुमोलाई हामीले टाटा गरिदियौँ । श्यामबहादुर कार्कीजीको आतिथ्य सत्कारमा केही समय वितायौं । रमेश सर्मथन, हरिकृष्ण काफ्ले, ध्रुवमोहन अधिकारी पनि आउनु भयो । हामीलाई बसोबास गर्नको लागि ध्रुवमोहनसरको घरमा व्यवस्था मिलाएको रहेछ । नाम सुनेपनि भेट हुन नसकेका निकै साहित्यिक मित्रहरुलाई भेट्ने अवसर मिल्यौं । केही समय अगाडि पत्रपत्रिकामा पढेको थिए । चन्द्रनिगाहपुरमा शिवजी उत्पति भएको समाचार । परदेशी चौधरीलाई सपनामा शिवजीले म यहाँ निसास्सिएको छु मलाई खनेर बाहिर निकाल भनेकोले उनको छाप्रो अगाडि खन्दा मूर्ति भेटिएको रहेछ । करिव तीनफिट गहिरो खाडलमा रहेको मूर्तिको उचाई दुईफिटको जति रहेछ । हामीलाई पनि हेर्ने रहर लाग्यो । ऐतिहासिक कुराहरु एकपटक त हेर्नैपर्छ । वजारबाट करिव २० मिनेटको बाटो रहेछ । गाउँघुम्दै त्यस ठाउँमा पुग्यँौ । मान्छेहरुको ठूलैभीड देखियो । पण्डितहरु भागवत पुराणमा ब्यस्त थिए । कृष्णजीको राशलीला सुन्न त्यहाँ धेरै मान्छेहरुको जमघट देखिन्थ्यो । शिवजीको दर्शन गर्ने घुईचो उस्तै । व्यापार पनि निकै फस्टाएको छ, वरिपरि । निकै उत्सुकता छ सवैमा । खुल्दुली छ सवैलाई । यो के भएको हो ? साक्षात शिबजी प्रकट हुनुभएको छ यहाँ । यस्तै तर्कवितर्कहरु भइरहेको हामीले सुनिरहेका थियौं । निकै गर्मी भएकोले शितलमा केहीबेर आराम गर्यौँ ,त्यहाँको वातावरणलाई नियाल्दैं ।
कुण्ड–कुण्ड पानी,मुण्ड–मुण्ड बुद्धि भनेझैँ मान्छेहरु आआफ्नो तर्कहरु पस्कदैं थिए । ‘राजनीति, धर्म र विविध नाममा मान्छेहरुलाई मूर्ख बनाईरहेका छन्, यहाँपनि यस्तै भैरहेछ । तपाई हामीले देखिरहेका छौं ।’ शितलदाइ भन्दै हुनुहुन्थ्यो । हुनपनि यस्तै भएको छ । हामीले भोगको पनि यही नै हो । आआफ्नै दुनो सोझ्याउँन लागिपरिरहेका छन् सबै । केही समय हामीले नयाँ शिवजीलाई नियालेर हामी फर्कियौं । कलाकौशलमा हामी धनी छौँ । हेर्दा त्यति धेरै वर्ष पुरानो नलाग्ने उक्त मूर्ति मैले अन्त कतै देखेको छैन । एउटा उत्कृष्ट कलाको नमूनाका रुपमा देखापरेको अनुमान लगाए । दुवालसर र शितलदाइको पनि यही तर्क रह्यौं । सधैं पूजा गर्ने भगवानलाई हामीले कहिल्यै देखेका छैनौं । पूर्खाहरुले दिएका आकारहरुलाई हामी ईश्वर मानेर पूजिरहेका छौं । गणेश, शिव, बिष्णु, लक्ष्मी आदि अनेकौँ रुपहरुमा पूजिरहेका छौं । यो क्रम निरन्तर चलिरहने छ । यसैको निरन्तरताका प्रतिक हुन् चन्द्रनिगाहपुरका यी शिवजी । अब कुरो आउँछ, कसरी र कसले यो मूर्ति बनाएको हो । यस विषयमा पुरातत्व विभागबाट अनुसन्धान हुनु जरुरी छ भन्ने हाम्रो तर्क रह्यो । के थाहा त्यहाँ अझैं ऐतिहासिक सम्पदाहरु लुकेका छन् कि ?
कुराकानी गर्दै हामी पुनः बजारमा आइसकेका छौँ । बाटोमा देखेका दृश्यले हामीलाई कौतुहल भएको थियो । सबैको घरमा विजुलीको मिटर, तर कसैको मिटर चल्दो रहेनछ । बिजुली चोरीको नमुना स्पष्ट रुपमा देख्न सकिन्थ्यो । बाँसमा दुईओटा तार बाँदेर फसाएको छ प्रत्येक घर अगाडि । सवै गाउँले मिलेका छन् बिद्युत चोरी गर्ने । महिनामा मिटर जाँच्न आउँदा निकाली दिने र अरुबेला सित्तैमा बिजुली बाल्ने कस्तो काइदा । कसलाई कारवाही गर्नै विजुली अड्डाले ? कर्मचारी सवै मिलेकै होलान ? यो हाम्रो मात्र खुल्दुली हो त्यहाँ सवैलाई पचेको छ । हाम्रो लागि नौलो कुुरा भएपनि त्यहाँ कुनै नौलो होइन यो दृश्य ।
‘यसबारेमा धेरै तर्क वितर्क नगनू नै वेश’ शितलदाइले कुरा टुङ्ग्याउँन खोज्नु भयो ।
घडीले ५ बजाई सकेको थियो । हामी ध्रुवमोहनसरको घर तर्फ लाग्यौ । उहाँको न्यानो आतिथ्यमा त्यही रात वितायौं । साहित्यप्रति निकै लगाव रहेछ वहाँको । केही गर्नको लागि अगाडि सरिहाल्ने । महाकवि देवकोटाको शतवार्षिकीको अवसर पारेर हरेक महिनामा एकजना साहित्यकारलाई सम्मान गर्ने उद्देश्य रहेछ । हरेक महिनाको एकजना संयोजक बन्ने र उसैले सवै व्यवस्था गर्ने । अतिथि सत्कारदेखि कार्यक्रमको सवै जिम्मेवारी । यसको शुरुवात ध्रुवमोहनसरले नै गरेको हुँदा अहिलेपनि वहाँले नै गर्ने पालो परेको रहेछ । साहित्यमा एउटा कथा र एउटा कविता बाहेक केही सिर्जना छैन् उहाँको । तर साहित्यप्रतिको रुचीले गर्दा नै त्यहाँ बसेर सिर्जना गर्ने सर्जकहरुलाई निकै टेवा पुगेको रहेछ । मलजलगर्ने काम भएको छ । नेपाली भाषा साहित्यको श्रीबृद्धिमा यसले निकै ठोस कार्य गरेको ठहर्छ ।
आज २३ असोज विहानै हामी माधब काफ्लेसरको घरमा पुग्यौं । वहाँको रचनाहरुसँग साक्षात्कार भएपनि वहाँसँग प्रत्यक्ष भेट्ने मौका मिलेको थिएन । आज आएको यो मौकालाई किन चुकाउँने । एकपटक वहाँको घर बाढीले बगाएको थियो । त्यसवेला समाचारमा पढेका थियौँ हामीले । थुप्रै पुस्तकहरु पनि बाढीले बगाएको थियो । त्यसबेला हामीले सुनकोशी साहित्य प्रतिष्ठानबाट प्रदान गर्ने देवकोटा विद्धतवृक्ति वहाँलाई नै प्रदान गरेका थियौ । रमेश खकुरेलमार्फत वहाँले प्राप्त गर्नुभएको थियो । आज यही कुरा वहाँबाटै सुन्दा निकै नरमाईलो महशुस भयो । बिनाकाम पुराना कुरा कोट्टयाएछु जस्तो लाग्यो । आज त्यो पुरानोवस्ती पूरै बगरमा परिणत भएको छ । यहाँ वसाई सरेपछि निकै आराम भएको रहेछ । पुस्तकहरुको मोह निकै रहेछ माधवसरको । कहिले त तलवले पनि पुग्दैन पुस्तक किन्नलाई माधवसरलाई शितलदाइले खुलासा गर्नुभयोे । यो पुस्तकप्रेमले सवैलाई मोहित पारेको छ नै यसको
अलावा अध्ययन गर्न चाहने जो कोहीलाई पनि अध्ययन गर्ने स्थान तथा अवसर मिलेको छ । केहीक्षण समय बचेकोले चन्द्रनिगाहपुर बजार घुम्ने विचारमा थियौ । हामी सवैजना बजारतिर लाग्यौँ । त्यति ठूलोवजार नभएपनि नयाँ ठाउँको अनुभवमात्र लिन खोजेका थियौं । १० वजे कार्यक्रम हुने समय भएकोले हतार हतार हामी खाना खान लाग्यौँ । ध्रुवमोहनसरकोे घरतिर । समयमै कार्यक्रम स्थलमा हामी आएपनि स्थानीय उपस्थिति भने ११.३० वजेतिर मात्र भयो । करिव १२ वजे कार्यक्रम शुरुभएको थियो । लिला दाहाल, रेणु गुप्ता, गणेश शाह, रमेशमोहन अधिकारीहरुको सिर्जनासँग नजिक भएपनि आज वहाँ काम विशेषले बुटवलतिर लाग्नुभयो । मैले हिजो टाटासुमोबाट ओर्लदा कल्पना गरेको भन्दा पृथक लाग्यो त्यहाँको साहित्य माहौल । कति अनुशासित कविमनहरु .सबैले सवैका रचनाहरु ध्यानदिएर श्रवण गर्ने !
वर्षभरि पाठ भएका कविता तथा कार्यक्रममा नियमित रुपमा सहभागी भएका स्रष्टालाई पुरस्कार दिने व्यवस्था बमोजिम कवि श्याम थापालाई पुरस्कृत गरेर स्रष्टाहरुको हौसला वढाउँने काम भएको थियो । देवकोटा शतबार्षिकीको अवसर पारेर हरेक महिनामा स्रष्टासम्मान र कवि गोष्ठिहरु भैरहेको थियो । आज अन्तिम कार्यक्रम यसै अवसरमा काभ्रेको सुन्दर नगर बनेपामा रहेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर लागिरहेका स्रष्टा मोहन दुवालको सम्मान कार्यक्रम रहेको थियो र कविता वाचन पनि । साहित्य संञ्जालका संयोजक रहेका ध्रुर्बमोहन अधिकारीले सम्मान गर्नुभयो । यसै अवसर पारेर मलाई चन्द्रनिगाहपुर जाने मौका मिल्यो । आयोजक संस्थालाई धन्यवाद दिनैपर्छ । करिव १२ वजे शुरु भएको कार्यक्रम बेलुकी ४ बजे सकिएको थियो । कार्यक्रम पश्चात आज हामी फर्कने तयारीमा लाग्यौं । हिजो नै भान्जालाई वचन दिएको थिए, भोली आउँनको लागि । केही चिया नास्ता गरेर हामी आज हेटौडामा बास बस्ने योजना बनाएर चन्द्रनिगाहपुरबाट बिदा भयौं । हेटौडासम्म जाने गाडी नपाए पनि हामी पत्लैयासम्म बिरगन्जको बसमा चढ्यौं । समयमा नहिड्ने बसहरुको बानीले हामीलाई निकैसमय बस भित्र अल्मल्यायो । करिव साढेपाँच बजेतिर गाडी हिड्यो । रमेशमोहनजी हामीसंगै हुनुहुन्थ्यो । लेख्ने कलम धेरै नचलेपनि साहित्यप्रति ध्रुवमोहनको लगाव निकै रहेछ । साहित्यकारहरुको संगत गर्न पाउँदा निकै रमाउँने अधिकारीको न्यानो आतिथ्यले हाम्रो मन रमाई रहेको थियो ।
पत्लैयामा ओर्लदा झमक्क साँझ परिसकेको थियो । हेटौडा कुनबेला पुगिन्छ होला भन्नेमा हामी चिन्तित थियौं । तर, रमेशमोहनको साथ भएकोले हामी ढुक्क थियौं । केही क्षण गाडीको पर्खाइमा बस्यौं । काठमाडौंसम्म जानको लागि रिर्जभ लिएर हिडेको पिकअपले हामीलाई हेटौडासम्मको लिफ्ट दियो । रात छिप्पिदैं थियों । गाडीको भित्री उज्यालोसंगै बाहिर अध्यारोले डेरा जमाई सकेको थियो । सि.डि.यो कार्यालय जाने मोडमा गाडी रोेकियो । रमेशजीको घर त्यहि नजिकै रहेछ । हामीलाई क्वाटरसम्म पुर्र्याईदिनुभयो । भान्जा काम विषेशले बाहिर गएको भएपनि हामीलाई सुरक्षागार्डहरुले स्वगात गरेका थिए । दिउँसै हामी आउँछौ भन्ने जानकारी गराएका रहेछन् भान्जाले तर हामी ढिला भयौं । क्वाटरमा थापाभाईले वनाएको चिया खाईनसक्दै भान्जाको आगमन भयो । गणेश पौडेलको पनि घर नजिकै रहेछ । उहाँ पनि आइपुग्नु भयो । रात निकैं अवेरसम्म हामी भलाकुसारी गर्दै रह्यौं । दुवालसरको मनजित्न समय लागेन भान्जालाई । धेरै नवोल्ने भद्र व्यत्तित्वको रुपमा रहेका हरि भान्जाको आतिथ्यलाई निकै प्रशंसा गर्दै हुनुहुन्थ्यो दुवालसर । गणेश पौडेलजीले बेलुका नै हामीलाई काठमाडौं जानेको लागि टाटासुमोमा सिट बुक गर्नूभएको थियो । विहानै ६ बजे नै गाडी लिनको लागि आउँने कुरा बताउँनु भएको थियो ।
राती ढिला सुतेपनि हामी सबेरै उठ्यौँ। गणेशदाइ पनि सबेरै आउनु भयो । त्यही समयमा गाडीवालाले फोन गरें । गाडी आउँन दुई घण्टा जति लाग्ने भयो । हामी बनस्खडी देविको मन्दिरमा गयौं । गणेशदाइको घरमा जाने अवसर पनि मिल्यौं । तराई आन्दोलनले हेटौडा र नारायणगढको जग्गाको भाउ निकै बढाएको कुरा बताउँदै हुनुन्थ्यो गणेशदाइ । गाडीले ढिला नगरेको भए हामीले बनस्खडीदेविको दर्शन गर्न पाउँने थिएनौं । त्यहाँको मनोरम दृश्यलाई ह्रदयमा कैद गर्ने मौका मिल्यो । यसका साथै गणेशदाइको घरमा भाउजुसंग परिचय भयो । हेटौडा साहित्यको लागि निकै उर्वरभूमिको रुपमा परिचित छ । हामीले चाहेर पनि त्यहाँका अन्य साहित्यिक मित्रहरुसंग भेटघाट गर्न सकेनौं । आगामी दिनहरुमा हाम्रो इच्छा पुरा हुने नै छ ।
८.३० बजे बोलेरो सेवाको गाडी हामीलाई लिन सि.डि.यो. क्वाटरमा आइपुग्यो । हामी हतार हतार गाडीमा चढ्यौं । विदाईका हातहरु हल्लिए । गाडी तुरुन्तै हिडाउँने होला भन्ठानेका थियौँ । यात्रुहरुको खोजीमा भौतारीरहेको बोलेरोले हामीलाई ९.३० बजेमात्र हेटौडाबाट हिडायो । आफ्नो साधन हैन के गर्ने सहनै पर्यो। निरिह जस्तै भएर हामी चुपचाप बसिरह्यौं । भैसे, भिमफेदी हुँदै सिमखोलामा आएर खाना खानको लागि रोकियौँ र त्यही खाना खायौंं । केही ताजा तरकारी किन्न खोजेका थियौ । दलालहरुको हातमा पुगेको तरकारी त काठमाडौको भन्दा पनि महङ्गो रहेछ । घरमा केही त लैजानु पर्यो । ताजा अम्बामा हाम्रो नजर पर्यो र किन्यौैं । डल्लो खुर्सानीले औषधिको काम पनि गर्छ भन्ने कुरा मैले जाँदा नै गरेको थिएँ । बाटोमा असरल्ल बेच्न राखेको खुर्सानी फर्कदा लिने निधो गरेका थियौ । शहरमा ४५० रुपैया पर्छ एक किलोकोे त्यहाँ जम्मा रु १२० प्रति किलोका दरले एक एक किलो किन्यौँ ।
बाटोभरी चन्द्रनिगाहपुर र हेटौडाको झझल्को आईरहेको थियो । साहित्यिक यात्रा सकिनै लागेको थियो । करिव ३ बजे बल्खुमा ओर्लियौँ । दुईदिन भएपनि यस शहरबाट टाढीएका थियौं । साहित्यिक माहौलमा रमाउँन । शहरको कोलाहलबाट टाढा हुने मौका मिलेको थियो,यसैले यात्रा रमाइलो नै भयो । । तर के गर्ने यही कोलाहल, धुलो, धुवाँसंग सम्झौता नगरी सुखै थिएन । यात्रालाई सुखद क्षण मान्दै आफ्नै दैनिक कार्यमा हराई रह्यौं ।


