
काठमाडौँ । जाजरकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा सोही पालिकाको कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्यालाकै ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । उनीहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ ।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
आज बिहान रातिको २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


