
काठमाडौँ।साहित्यकार अनुपम रोशीको निबन्धकृति ‘भगाः एक मौन ब्रह्माण्ड’ सार्वजनिक भएको छ ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरियो ।
कार्यक्रमका वक्ता विश्लेषक युग पाठकले अनुपमको कृतिलाई चिन्तन र विचारको समग्र एउटा बलियो धरातलमा उभिएको पुस्तकका रूपमा व्याख्या गरे ।उनले समकालीन राजनीतिक र परिवेश कमजोर हुँदै गएको पठन–संस्कृतिको अवस्थाबीच रोशीले कृतिमार्फत उठाएका प्रश्नहरू आज हामीले खोजिरहेको जवाफतर्फ संकेत गर्ने बताए ।
साहित्यकार सगुना शाहले कृतिको भावनात्मक तथा दार्शनिक गहिराइको चर्चा गरिन् । उनले एउटा अत्यन्त सुन्दर कृतिको आगमन भएको बताउँदै पुस्तक पढ्दै जाँदा पाठकले विभिन्न ठाउँमा आफूलाई नै भेटने र आफ्नै जीवन, अनुभूति तथा अस्तित्वसँग जोडिएको महसुस गर्ने बताइन् । उनले कृतिभित्रका मृत्यु–चिन्तनसम्बन्धी निबन्धहरू अत्यन्त गम्भीर र दार्शनिक रहेको उल्लेख गरिन् ।
राम लोहनीले कृतिको समग्र लेखनमा रहेको आध्यात्मिकता र स्वत्वसँगको गहिरो रुझानलाई विशेष रूपमा उल्लेख गरे ।
शिखा बुक्सले कृतिलाई प्रकाशनमा ल्याएको हो ।
