
विशेष सम्पादकीय
मितव्ययी दसैँ आजको आवश्यकता
दसैँ आयो,खाउँला पिउँला…….को संस्कृतिको पर्व दसैँ हाम्रो घरआँगनीमा भित्रिसकेको छ । असत्यमाथि सत्यको विजयको प्रतीक दसैँ । अधर्ममाथि धर्मको विजयको प्रतिक मानिएको दसैँ ।यो महान पर्व हो । यसको धार्मिक,साँस्कृतिक महत्व धेरै छ ।
यसले समाजलाई एकताको सुत्रमा बाँध्न मद्दत पनि गर्दछ । घर छाडेर विभिन्न स्थानमा टाढिएका आफन्तहरु घर फर्काउँछ दसैँले । अग्रज आफन्तजनबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद तथा शुभकामना आदानप्रदान गर्ने पर्व हो दसैँ । यसको आफ्नै मौलिक परम्परा र सँस्कृति छ ।
तथापि पछिल्ला वर्षहरुमा दसैँको परम्परागत शैली भत्किएको छ । यसमा व्यापक परिवर्तन आएको छ । यसको साँस्कृतिक मूल मर्म र मान्यतामा ह्रास हाम्रै कारण आएको छ । आर्थिक रुपमा सम्पन्न देखाउँने र आडम्बरीपन दर्शाउने प्रवृत्ति बढेको छ । अरुको नक्कल गर्ने पक्ष हावी भएको छ । विभिन्न लवाई खवाईको प्रदर्शनको होडबाजी बढेको छ ।अरुको देखासिकी गर्नै पर्ने नाउँमा ऋण काढेर भएपनि खानपिन र मनोरञ्जनमा खर्च बढ्ने गरेको छ । यसले आर्थिक समस्या विकराल हुने कुरामा कुनै दुईमत नहोला ।
देश विषम परिस्थितिमा छ । पटक पटक आउने गरेका प्राकृतिक विपत्तिको मारमा देश परेको छ । यसले जनधनको ठूलो क्षति पुगेको छ । विभिन्न पेशा,व्यवसाय गर्नेहरु मारमा परेका छन् । महँगीले जनताको ढाड सेकेको छ । चरम अभाव छ । आर्थिक रुपमा धेरै अप्ठ्यारो परिस्थिति विद्यमान छ । यस्तो अबस्थामा आधारभूत आवश्यकता परिपूर्ति गर्ने कतिपयलाई धौ धौ परेको देखिन्छ । यसैले फजुलखर्च गरेर दसैँ मनाउँन हुँदैन् । अहिले मितव्ययी हुनुपर्छ । आकाश चुलिँदो महँगी,आम्दानीका स्रोतहरुको घट्दो अवस्था र अनिश्चिततालाई हामीले मध्यनजर गरेर पर्व मान्नुपर्ने देखिन्छ ।
दसैँको भव्यता नयाँ र महँगा लुगा लगाउनु र त्यस्तै परिकार खानु मात्रै होइन् । भड्किला गहँना परिरहनु र फजुल खर्च गर्नु त झन हुँदै होइन । यो त शुभकामना आदानप्रदान, आफन्तहरुबीच हार्दिकतापुर्ण भेटघाट गर्ने अवसरको रुपमा लिनुपर्दछ । पारिवारिक पूनर्मिलनको अवसरको रुपमा यसलाई लिनुपर्दछ ।
क्षमता अनुसारको खर्च गर्ने,भड्किलोपनको अन्त्य गर्ने,खानपिनमा सन्तुलन राख्ने,स्वास्थ्यकर खाना खाने गर्नुपर्दछ । जुवातास,तडकभडक,अत्याधिक मदिरापान निषेध गर्नुपर्दछ । स्वस्थ्य मनोरञ्जन,पारिवारिक भलाकुसारी,शुभकामना र आशीर्वाद आदानप्रदान र साँस्कृतिक पक्षलाई जतन गर्ने परिपाटीको विकास गर्दै जानुपर्दछ । दशैँ बोझ हुनुहुँदैन् । ऋण काढेर पर्व मनाउने तौरतरिकाको अन्त्य गर्नुपर्छ । स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग गर्ने गर्नुपर्दछ ।
हामीलाई लाग्छ,चाडपर्वले मानिसका खुशीहरु जोडिनुपर्दछ । आर्थिक रुपमा भारले थिचिनु हुँदैन् ।
दसैँ पर्व पिङको संस्कृति हो । चङ्गाको संस्कृति हो । शुभकामना आदानप्रदानको संस्कृति हो । आफन्त बन्धुबान्धवहरुको पूनर्मिलनको संस्कृति पनि हो । यी कुराहरुले समाजलाई एकै ठाउँमा जोड्छन् । यसको माध्यम दसैँ हो । हाम्रो मौलिक संस्कृतिको एक पहिचान पनि हो दसैँ । रातो टीका,जमरा र आशीर्वादको संस्कृति हो दसैँ ।
यसैले साँस्कृतिक परम्परा र पहिचानको संरक्षण गर्दै फजुल खर्च र विभिन्न विकृतिबाट मुक्त दशैँ मनाउँनु आजको आवश्यकता पनि हो । दशैँ पर्वको मर्म बचाऔँ । आउनुहोस यसपटकको दशैँलाई फजुल खर्चको बोझलाई पन्छाएर तडकभडकमुक्त,भातृत्वपूर्ण रुपमा दशैँ मनाऔँ । प्रेम र सद्भावको दीयो बालेर मनलाई शुद्ध पारौँ । सभ्य भएर मितव्ययी भएर मनाऔँ ।
दशैलाई सिर्जनात्मक पनि बनाउँनु राम्रो हुन्छ । नयाँ किताव पढ्ने र पठन संस्कृतिको विकास गर्ने अवसर पनि हुनसक्छ दसैँ । आदरणीय पाठकवृन्द पठन संस्कृतिमा विकास होस भन्ने हेतुले हामीले नवरात्रीका हरेक दिनमा पस्कने प्रयास गरेका छौँ । आशा छ यसले पठन संस्कृतिको विकास हुने नै छ ।
वडादसैँको यो सुखद् अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक,शुभचिन्तक,सहयोगी,विज्ञापनदाता र सम्पूर्ण नेपालीहरुलाई सुख,सम्बृद्धिको लागि कामना सहित विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

