
कविता
दसैंको अर्थ
कृष्ण बाउसे
कुनैबेला दसैंको अर्थ हुन्थ्यो –
लाहुर गएको छोरोले
बन्दुक बिसाउन पाउनु।
कलिलै उमेरमा
अन्माएर पठाइएकी छोरीले
केही दिन मात्र भएपनि
फेरि आमाको काखमा लुटपुटिएर बिताउनु ।
कुनैबेला दसैंको अर्थ हुन्थ्यो-
भोको पेटले
ठडिन पाउनु ,
नयाँ काँचुलीले
नाङ्गो आँङ सुम्सुम्याउनु ,
घरका बुढाबुढीले
सिसारमा राल चुहाउनु ,
र केटाकेटीले
दक्षिणा बटुल्ने पेसा बनाउनु।
कुनैबेला दसैँको अर्थ हुन्थ्यो –
छोरालाई जस्तै माया गरेर पालेको खसीलाई
खुँडाले दुई ठुन्का पारेर
जिब्रोको स्वादका लागि
मान्छे कतिसम्म क्रूर हुन्छ भनेर देखाउनु ।
आजभोलि
दसैँ भनेको
केवल फेस बुकमा
अक्षताले भरिएको निधार देखाउने
एउटा सामान्य अवसर भएको छ।
पहाडमा मान्छेको नभएर
बाँदरको राज भएपछि
उसै हराएकै छ दसैँ !
मदेशले विदेश ताक्नुको विकल्प नपाएपछि
उसै घर न घाटको भएकै छ दसैँ !
मौलिक संस्कृतिमाथि धावा बोल्न
सधैँ तम्तयार रहेकोले कुलंगारको जमात
समग्र देशमै ओझेल परेकै छ दसैँ !
ठिकै छ, म पनि
बरपिपल रोप्दै हिँड्छु अब
अनि कसैले सोधे दसैंको अर्थ
आफ्नो संकुचित मनको चिप्लो घसेर होइन
धराधामले सर्वाधिक रुचाएको
एउटा आवाज टिपेर भनिदिन्छु-
हरियाली ! हरियाली!! हरियाली !!!
