
काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट १५ बुँदे संकल्प अघि सारेको छ ।
उपसभापति विश्वप्रकाश शर्माले १५ बुँदे संकल्प प्रस्ताव बन्दसत्रमा पेस गरेका हुन् । कांग्रेसले लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरण तर्फ अघि बढ्ने विषयमा १५ संकल्प लिएको हो ।
उक्त संकल्पमा व्यक्तिको बिचारलाई केन्द्रमा राख्ने तर बिचारको केन्द्रमा व्यक्तिलाई नराख्ने उल्लेख छ । यस्तै, फरक विचारको अनिवार्य आत्मसात् गर्दै त्यसलाई स्थायी गुटका रूपमा विकास गर्ने प्रवृत्तिलाई संगठनको आधार नबनाउने उल्लेख छ । व्यक्तिको प्रभावको बलमा कुनै पदलाई स्थायी गराएर पटक-पटक दोहोरिने प्रवृत्तिलाई स्वीकार नगर्ने प्रतिवेदनमा भनिएको छ ।
कांग्रेसले विचार र सिद्धान्तलाई प्रतिकुल अवसरअनुसार नबदल्ने भनेको छ । यस्तै, पहुँच र प्रभावका आधारमा उमेदवारीलाई प्राथमिकता नदिने उल्लेख छ । पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार गर्दैनौँ ।
नागरिक जनादेशलाई अहंकारमा बदल्ने दुष्प्रयास नगर्ने संकल्प कांग्रेसले लिएको छ । चुनावी घोषणापत्रलाई `ऋण लिएर बिर्सिने तमसुक´ मा सीमित नगर्ने भनिएको छ । कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने उल्लेख छ । सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने भनिएको छ ।
सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने उल्लेख छ । कलिलो उमेर भएकाले बोक्ने परिपक्व एजेण्डालाई कांग्रेसले नजरअन्दाज नगर्ने संकल्प कांग्रेसले लिएको छ ।
समावेशितालाई केबल संख्यामा सीमित नगर्ने भनिएको छ योगदानको सदैव कदर गर्ने तर त्यसैलाई नै योग्यताको एकमात्र आधार नबनाउने भनिएको छ ।


