
पोखरा । कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि जिल्ला प्रहरीले मोदीखोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मोदीखोलामा मिसिने किम्रुङखोला करिब ६ घण्टादेखि थुनिएको सूचना आएको छ।
खोला थुनिएको स्थान फुटेमा एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा प्रहरीले माइकिङ गरेर स्थानीयलाई सचेत गराएको छ।
ुकिम्रुङखोलामा ६ घण्टादेखि पानी थुनिएको सूचना आएको छ। हामीले प्रभावित क्षेत्रका बासिन्दालाई माइकिङ गरेर सतर्क रहन भनेका छौं,ु कार्कीले भने।
उनका अनुसार थुनिएको पानी फुटेमा मोदीखोलामा अचानक बाढी आउन सक्छ, जसको असर नयाँपुल, वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पासम्म नदी किनारका बस्तीमा पर्न सक्छ।
जल तथा मौसम विज्ञान विभागले पनि सम्बन्धित प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले समेत किम्रुङखोला थुनिएको र बाँध फुटेमा मोदीखोलामा ठूलो बाढी आउन सक्ने सूचनापछि नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ।


