
काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि भित्र छिरेको टोलीले एकजनाको शव फेला पारेको हो ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार बिहान टनेलबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको भने उद्धार गरेको थियो ।
सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा त्यहाँ कार्यरत थिए । त्रिशूली–३ ए आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका थिए ।
उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीका अनुसार टनेलभित्रको सात तल्लामध्ये पाँच तला हिलोले डुबाएको छ । दुई तला मात्रै देखिएको र त्यहीँ शव फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको हो ।


