
काठमाडौँ । नेपाल बार एशोसिएशनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
पर्याप्त आधार र कारणबिना नागरिकलाई नियन्त्रणमा लिनु र छाड्नु संविधान, कानुनको शासन र लोकतान्त्रिक शासन प्रणालीविपरीत भएको बारको ठहर छ ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा जबरा पक्राउ रहस्यमय र संदेहात्मक भनिएको छ । मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिइएकोमा घटनाको गाम्भीर्यता बढाएको र वर्तमान सरकार स्वेच्छाचारी तथा अनुदारवादतर्फ ढल्किरहेको पुष्टि भएको दाबी बारको छ ।
पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेका गैरसंवैधानिक घटनाहरूको विरोध गर्दै बारले भनेको छ, ‘आधार, कारण र प्रमाणबिना कुनै पनि नागरिकलाई अनाहकमा पक्राउ गर्ने लगायतका अन्य कार्यहरू नगर्न, नगराउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदछौँ । न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको नेपाल बार एशोसिएशन डटेर सामना गर्दछ ।’ बार महासचिव कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि प्रकारको स्वेच्छाचारी शासन स्वीकार्य नहुने बारको भनाई छ । नेपाल बारले सेवानिवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशहरूलाई विचाराधीन मुद्दामामिलामा कुनै पनि माध्यमले वा कुनै पनि स्थानमा चासो, सरोकार, छलफल वा हस्तक्षेप नगर्न बारले विज्ञप्तिमा सचेत समेत गराएको छ ।
यसैगरी बारको विज्ञप्तिमा सर्वोच्चमा संवैधानिक इजलास गठन वरिष्ठताका आधारमा वा गोला प्रणालीबाट गर्ने व्यवस्था अविलम्ब मिलाउन ध्यानाकर्षण गराइएको छ ।


