
विनाशकारी भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरूङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका व्यक्तिको सुरक्षित उद्धारका लागि सरकारले चिनियाँ विज्ञ टोली परिचालन गरेको हो।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन उच्च प्राविधिक दक्षता भएको चिनियाँ टोली घटनास्थलमा परिचालन गरिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
‘चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा आइपुगेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरूङभित्रको अवस्थाबारे प्राविधिक रेकी गर्नेछ। सुरूङको भौतिक अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्रारम्भिक मूल्यांकनपछि थप उद्धार रणनीति तय गरिनेछ,’ सचिवालयले भनेको छ।
सुरूङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञको संयुक्त प्रयासमार्फत फसेका व्यक्तिहरूको सकुशल उद्धारलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्न उद्धार टोलीले खन्ने र बाटो बनाउने कामलाई तीव्र रूपमा जारी राखेको छ।
उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरूङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको जनाएको छ।
भौगोलिक जटिलता र उद्धारमा ढिलाइका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजनामा कार्यरत ८९८ जना श्रमिक अझै सम्पर्कविहीन छन्।



