
काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह ३ मिटरसम्म बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाको आइतबार बिहान ३ बजेको अपडेटअनुसार त्रिशूली नदी गल्छी धादिङ नदी बाढीमापन केन्द्रमा जलसतह ३ मिटरसम्म बढेको हो ।
महाशाखाले गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको पनि जानकारी दिएको छ । सोही कारण नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको बिहान ६:२५ को अपडेटअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै तथा गण्डकी, कोसी र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको थियो ।
महाशाखाले ती स्थानमा थप वर्षा हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो ।

