
काठमाडौँ। बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।
भोटेकोसी बाढीमा सरकार र सांसद राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगन गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।
“…हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०५३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” भनिएको छ ।
प्रतिनिधिसभा बैठक आज बसेको थियो । बैठकमा बाढीबारे आकस्मिक समयमा सांसदहरूले धारणा राखेका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको तर्फबाट सदनलाई जानकारी गराएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले भोलिका लागि बैठक तय गरेका थिए ।
