
काठमाडौँ ।प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा सम्पादित ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतम र सभापति प्रा.डा. ज्ञानु पाण्डेले कृति लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि डा. गौतमले प्रा.डा. गोविन्दराज भट्टराईको लेखनको चर्चा गर्दै डा. भट्टराई स्रष्टाभन्दा पनि साधक भएको उल्लेख गरे । उनले भने, “गोविन्द सरले आफ्नो बाटो आफैँ बनाएर हिँड्नु भएको छ । वास्तवमा अभि सरले भन्नुभएझैँ आजको समयमा गोविन्द सर स्वयम् संस्था भइसक्नु भएको छ ।”
प्रा.डा. अभि सुवेदीले यो पुस्तक एक बृहत् दस्ताबेजका रूपमा आएको बताए ।
डा. तुलसी भट्टराईले आफ्ना भाइ प्रा.डा. भट्टराई सबैलाई उत्प्रेरित र सहयोग गर्ने व्यक्ति भएको बताउँदै पाँचथरमा हुँदाको एउटा प्रसंग साझा गरे । उनले यस किताबले डा. भट्टराईको कृतिहरू कस्तो छ भन्ने देखाएको बताए ।
प्रा.डा. नारायणप्रसाद चालिसेले भट्टराईसँगको सम्बन्धबारे चर्चा गरे । उनले एउटा राम्रो कृति प्रकाशित भएको चर्चा गर्दै अहिले गुणात्मक कृति ओझेलमा पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।
डा. ज्ञानु अधिकारीले भट्टराई धेरै सर्जकका अभिभावक भएको बताइन् । तुलसी गौतमले एउटा मूल्यवान ग्रन्थ आएको बताए । टेकनारायण ढकालले भट्टराईले दिनको १८ घन्टा साहित्य साधनामा बिताउँदै आएको चर्चा गरे ।
सम्पादक प्रा.डा. कोइरालाले पुस्तक सम्पादनको जिम्मा आउँदाको कारणबारे बोले ।
भट्टराईले आफ्ना कृतिहरूमाथि लेखिएका रचना हराउने डरले नै यो कृति पाठकका लागि ल्याएको बताए ।
ओरिएन्टल पब्लिकेशनद्वारा आयोजित कार्यक्रममा प्रा.डा. पाण्डेले यो पाठकहरूको किताब भएको बताइन् । अनिता कोइरालाले आफ्ना धारणा राखिन् ।



