
काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहँदा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


