
काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा नाडा अटो सोले आफ्नो ५०औं स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर कार्यक्रमको तयारीमा तीव्रता दिएको छ ।
नाडाले यो प्रदर्शनीलाई एउटा प्रदर्शनी मात्र नभएर उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चको विकास एक्स्पो गर्ने जनाएको छ ।नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् ।
करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो सोमा २४ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन, ३० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बिमा संस्थाको सहभागिता हुने नाडाले जनाएको छ ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ। यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
तर, यसपटक नाडाले अटो सोको परिचय गाडी प्रदर्शनमा मात्र सीमित गर्न खोजेको छैन । रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राख्ने नाडाका महासचिव मिलनबाबु मल्लले बताए । ५०औं वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने मल्लले बताए ।पेट्रोल-डिजेलबाट विद्युतीय सवारीतर्फको परिवर्तनसँगै सवारी साधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढिरहेको उनले बताए ।
उनले भने, ‘अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन । यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठुलो इकोसिस्टम हो । त्यसैले अटो सोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो ।’
नाडामा यसपटक दर्शकले ‘जिआई ह्युमनोइड’ र ‘जिओ-२ क्वाडुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । सवारी साधनमा राखिएको क्यूआर कोड स्क्यान गर्दा एआई प्रविधिको प्रयोगमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइँदै छ । प्रविधिलाई प्रदर्शनको आकर्षणका रूपमा मात्र नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो । ‘हामीले दर्शकलाई गाडी देखाएर मात्र पठाउन चाहेका छैनौं । उसले गाडीबारे बुझोस्, तुलना गरोस् र प्रविधिले भविष्यमा हाम्रो मोबिलिटीलाई कहाँ लैजाँदै छ भन्ने अनुभव गरोस् भन्ने हो’ उनले भने ।
‘मेड इन नेपाल’लाई छुट्टै पहिचान
यस वर्षको अटो सोको अर्को महत्वपूर्ण पक्ष ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन राखिने भएको छ । अटो सोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदै छ ।
नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्सलाई पनि यहाँ राखिनेछ । ‘नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ । स्वदेशमा उद्योग बस्यो भने त्यसले रोजगारी सिर्जना गर्छ, सीप विकास गर्छ र अर्थतन्त्रमा मूल्य थप्छ । त्यसैले ‘मेड इन नेपाल’लाई अटो सोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो’ महासचिव मल्लले भने । अटो सोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’राखिएको छ । अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ ।
अटो सोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य रहनेछ । विभिन्न ब्रान्डले नयाँ इभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ । इभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढेको छ । ६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख अवलोकन गर्ने अपेक्षा आयोजकले जनाएको छ ।


