
काठमाडौँ। भारतको पश्चिम बंगालस्थित वीरभूम जिल्लाको तारापीठमा सोमबार बिहान एउटा होटेलमा भीषण आगलागी हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ ।
आगलागीमा परी अरू केही मानिस पनि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका निम्ति अस्पताल भर्ना गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
चारतले होटेलको भुइँतलामा स्थानीय समयानुसार बिहान करिब ५ बजे आगलागी भएको थियो । त्यति बेला होटेलमा रहेका अधिकांश पाहुना सुतिरहेका थिए ।
आगलागीको सूचना पाएलगत्तै दमकलका धेरै गाडी घटनास्थलमा पुगेका थिए । दमकल टोलीले केही समयको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीपछि होटेलमा उद्धार तथा राहत अभियान सञ्चालन गरिएको थियो । उद्धार टोलीले होटेलभित्र फसेका मानिसलाई बाहिर निकालेको थियो । घाइतेलाई तत्काल अस्पताल पुर्याइएको त्यहाँको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।



