
काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका छन् ।
विश्वकर्माका अनुसार देउवा साउन २८ गते दिउँसो १२ बजे फर्किने समय तय भएको हो ।
यसअघि, निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतले उपचारको क्रममा विदेशमा रहेका देउवा साउन २६ गते राति नेपाल फर्किने बताएका थिए । देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए। सिंगापुरमा स्वास्थ्य परीक्षण र उपचारको काम सकिएपछि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए ।
नेपाल आएर देउवाले नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएका थिए ।



