
काठमाडौं। वर्तमान कविता समूह र नेपाली लोक बाजा सङ्ग्रहालयको संयुक्त आयोजनामा ‘धार्मिक सहिष्णुता र वर्तमान कविता’ विषयक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
लक्ष्मेश्वर मन्दिर परिसरस्थित नेपाली लोक बाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मानवता र समकालीन यथार्थलाई केन्द्रमा राखेर कविता वाचन, विचार–विमर्श तथा सांगीतिक प्रस्तुति गरिएको थियो।
कार्यक्रममा अभय श्रेष्ठले ‘भिक्षुणी र रोगी युवक’, हरिहर तिमिल्सिनाले ‘मलाई थाहा भएको कुरा’, विश्व सिग्देलले ‘म एक थोक बनिनँ’, रजनीमिलाले ‘आफूभित्रको ईश्वरलाई जगाऊ’, रामगोपाल आशुतोषले ‘आगोलाई आगो हुन कसैको जरुरी हुँदैन’, राधिका कल्पितले ‘मार्ग अनेक, गन्तव्य एक’, रमी प्रियाले ‘मानिस र धर्म’, प्रज्वल अधिकारीले ‘खेलौना’, ईश्वरा शिवाले ‘ईश्वरको हिसाब’, चाचु ढुङ्गानाले ‘नारा’, विणा नेम्कुलले ‘सुन्दर बस्ती’, चन्द्रबहादुर लामाले ‘सहिष्णुताको शाश्वत नियम’, तीर्थराज भट्टले ‘के हामी पुनः बुद्ध बन्न सक्छौँरु’, प्रमोद स्नेहीले ‘धर्मयुद्ध’ तथा दीपक चौलागाईंले ‘मानिसको खोजी’ शीर्षकका कविता वाचन गरेका थिए। प्रस्तुत कविताहरूले धार्मिक सहिष्णुता, सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र समकालीन जीवनका विविध पक्षलाई अभिव्यक्त गरेका थिए।
सो अवसरमा प्रसिद्ध गायक तथा संगीतकार शिशिर योगीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘दमाई दाइ’ लगायतका गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक आयाम दिएका थिए।
वर्तमान कविता समूहका विश्व सिग्देलले समाजका ज्वलन्त विषयलाई कवितामार्फत सार्वजनिक बहसमा ल्याउने उद्देश्यसहित समूहले निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको बताए।
कार्यक्रमपछि सहभागीहरूले नेपाली लोक बाजा सङ्ग्रहालयको अवलोकन गरेका थिए।
सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले नेपाली लोकबाजा, सङ्गीत, कला र साहित्यको अन्तरसम्बन्ध- बारे चर्चा गर्दै “कवि भनेका ऋषिकै अंश हुन्, जसले सत्य बोल्न कहिल्यै छोड्नु हुँदैन,” भन्ने धारणा व्यक्त गरे।


