
काठमाडौं । अग्रज कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न भएको छ । उक्त अवसरमा ‘राष्ट्रियतामा साहित्यको भूमिका’ विषयक वैचारिक विमर्शको पनि आयोजना गरियो ।
शनिबार राजधानीको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले आफ्ना एक दर्जन नयाँ कविता वाचन गरे ।
कवि साकारले ‘परदेशमा समय’, ‘बन्धन’, ‘मूर्ति’, ‘यो प्रेम’, ‘गिद्ध र बालक’, ‘सुरक्षा कति प्रतिशत’, ‘बाँच्न अयोग्य हुन्छ तानाशाह’, ‘पुतली’ र ‘सपना’लगायत शीर्षकका कविता वाचन गरे ।
साहित्यकार लोहनीले देशका निम्ति साहित्यकार आवश्यक रहेको बताए ।
डा. विश्वकर्माले आजको समयमा लेखकले साहित्यका माध्यमबाट सबैलाई सचेत गराउनुपर्ने समय आएको उल्लेख गरे ।
युयुत्सु शर्माले आजको परिवेशमा विज्ञान र उपकरणका कारण मानव अस्तित्व संकटमा रहेको भन्दै यसतर्फ साहित्यकारको विशेष ध्यान पुग्नुपर्नेमा जोड दिए । उनले कवि साकारको कविताको चर्चा पनि गरे ।
प्रा. डा. सुरेन्द्र केसीले नेपाली कविताको इतिहासको चर्चा गरे । उनले नेपाली कविताबाट अनुप्राणित भएर साहित्य यहाँसम्म आइपुगेको बताए । साहित्यमा मौलाएको गुटबन्दी र नेपाल प्रज्ञा–प्रतिष्ठानलाई राजनीतिले गिजोलेको विषय पनि उनले उठान गरे ।
कार्यक्रममा आख्यानकार माया ठकुरीले आफूले पनि प्रारम्भमा कविता नै लेखेको बताइन् ।
