
कविता
म एक थोक बनिनँ
विश्व सिग्देल
म मौन बाँस थिएँ
एउटा हातको पर्खाइ थियो
एउटा सासको पर्खाइ थियो
मलाई बन्नु थियो सुरिलो सङ्गीत
मलाई बन्नु थियो जीवन गीत
मलाई बाँसुरी बन्नु थियो
सारा सृष्टिमा एउटै दिव्यता देख्ने
धर्म, कर्ममा सहअस्तित्वको मार्ग देखाउने
मलाई हिन्दु धर्म जँच्यो
म हिन्दु बनेँ
न्याय,दया र मानव सेवाबाट
शान्तिमय समाज बनाउने
अल्लाहप्रति समर्पित
मलाई इस्लाम धर्ममा रुचि भयो
म मुस्लिम बनेँ
प्रेम, क्षमा र आशाको जीवन बाँच्दै
सबैप्रति करुणा फैलाउने
मैले रुचाएँ क्रिस्चियन धर्म
म क्रिस्चियन बनेँ
करुणा, प्रज्ञा र सचेत अभ्यासबाट
दुस्खमुक्त जीवनतर्फ बढाउने
बौद्ध धर्मको सही लाग्यो बाटो
मैले बौद्ध धर्म अँगालेँ
र बनेँ बुद्धिस्ट
किराँत,सिख,जैन,यहुदी,बहाई, ताओ…
मैले अँगालेँ म हुँदो धर्म
म हिन्दु बनेँ, मुस्लिम बनेँ, क्रिस्चियन बनेँ…
म धेरै थोक बनेँ
र अहिले लाग्दै छ
म जे नबन्नुपर्ने थियो
म त्यो बनेँ
म बनेँ
धेरै थोक बनेँ
म बन्नुपर्ने थियो एक थोक
म बन्नुपर्ने थियो मान्छे
हो,
म त्यो बनिनँ
म मान्छे बनिनँ


