
लघुकथा
रुद्र ज्ञवाली
धन्दा
“साप, एउटा अण्डावालालाई समाएका छौँ, के गरौँ ?” हवल्दार रामकिसनले आफूभन्दा माथिल्लो कमाण्डरसमक्ष जाहेर गर्यो।
“माल कति छ ?”
“दुई क्रेट छ, साप ।”
“सरकारको कडा निर्देशन छ । समात् र जाक्दे ! ” कमाण्डरले उर्दी दियो।
नेपाल–भारत सीमाना नजिकै छ धनिरामको घर । वारिपारि लेनदेन, बिहेबारी चल्छ । कोसेलीपात आदानप्रदान हुन्छ । रोटीबेटीको सम्बन्ध छ । धनिरामको विवाह पनि उतै भएको हो ।
एकथान बेहयाले बेरेको छाप्रो । पाँच कठ्ठा जमिन र एउटा भैँसी —यत्ति हो उसको जम्माजम्मी पूँजी ।
“भन, कहिलेदेखि गरिरहेको छस् यो धन्दा ?” मुद्दाफाँटको हवल्दार कड्कियो।
“मेहरारु बिरामी छ । उसको माइतीले पठाएको कोसेली हो । बेच्न ल्याएको हैन ।” धनिरामले डराई डराई भन्यो।
“ढाँट्छस् । सही–सही बता । नत्र कोचिन्छस् जेलमा ।” हवल्दारले सातो खाँदै भन्यो।
धनिरामले केही बोल्न सकेन । उसका आँखा टिलपिल भए । अँगोछाको टुप्पाले भरिएका आँखा पुछ्यो।
हिरासतमा परेको धनिरामले बिरामीले थला परेकी श्रीमती सम्झ्यो । रोजगारीको खोजीमा खाडी पसेको छोरो सम्झ्यो । कुपोषणले ग्रस्त छोराछोरीको निन्याउरो अनुहार सम्झ्यो । सम्झँदा–सम्झँदै उसले रातभरि बोर्डर वारपार गर्ने मोटरसाइकल र जीपको ध्यारघुर सम्झ्यो । ट्र्याक्टरभरि आउने गाँठका गाँठ सामान सम्झ्यो र ससुरालीले बिरामी खुराकका लागि पठाएको दुई क्रेट अण्डा पनि सम्झ्यो।
अन्ततः हवल्दारले लेखेको कागजमा ल्याप्चे हानेर धनिराम रित्तो हात घर फर्कियो । त्यो कागजमा के–के लेखिएको थियो, त्यो भने उसलाई थाहा थिएन ।
