
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आइतबार दुई ठूला सरकारी अस्पतालको अनुगम गरिन् ।
उनले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालको आन्तरिक व्यवस्थापन र बिरामीले झेल्नुपरेका समस्याहरूबारे जानकारी लिइन् । अस्पतालमा बिरामीको चाप र लामो समय कुर्नुपर्ने समस्याका बारे चासो राखिन् । स्वास्थ्य बिमाको झञ्झट र घण्टौँ कुर्नुपर्ने बाध्यताबारे बिरामीहरूसँग कुराकानी गरिन् ।
उनले अस्पतालको सरसफाइ, औषधि आपूर्तिमा देखिएको अभाव र स्वास्थ्य सेवामा प्रविधिको प्रयोगको अवस्थाबारे निरीक्षण गरिन् । अनुगमनपछि अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई मन्त्री मेहताले अस्पतालको सरसफाइमा विशेष ध्यान दिन र बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन निर्देशन दिइन् ।
औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन, बिरामीलाई सेवामा राहत दिन पनि निर्देशन दिइन् ।
