
कविता
शर्मिला कार्की ‘शरु’
जिन्दगीको जाँतो
मध्यान्हमा पूर्वी आकाशमा
धप्प बलेको
झल्झलाकार घामले
एक दिन भन्दैथियो
‘ किन्नरी,तिमी नसुर्ताऊ
म तिमीलाई पनि उज्यालो दिन्छु
तिमीमाथि पनि प्रकाश छर्छु
घामले प्रकाश छर्नु असजिलो हुन्न !’
तर शरद्को जून आएर गैसक्ता पनि
ताराहरू टिमटिमाएर
लुकिसक्ता पनि
यताको अँध्यारो गएन
घामको कुरामा विश्वास भएन ।
अँध्यारोको कालो पर्दा सरर तानेर
किन्नरीले देखिन खोजेको मात्रै हो
अनुहारको एक भाग उज्यालोतिर
देखाउन खोजेको मात्रै हो
पल्लो किनारामा पर्दाको गाँठो
राम्रैसँग कसिएछ कि ?
तानिएन
पश्चिमी कुनामा उसको अवस्थिति
अझै उस्तै छ,
शीतनिद्रामा जमीनभित्र
गुँडुल्किएको सर्पजस्तो
शीतनिद्राकै प्रकोपभरि कठाङ्रिएर
चुपचाप उभिएका
वनस्पतिहरू जस्तो !
मलाई लाग्छ
गोठको छानामाथि
लहरिएको करेलो
जसोतसो बाँचेकोसम्म छ
एक झर हिउँदे पानी पर्यो भने
फेरि पलाएर फल्छ
सैलुङमाथि लागेको
बाक्लो बादलको पर्खाल
एक दिन तितरवितर भएर जानेछ
सैलुङ नाघेर घामका किरणहरू
यता आइपुग्छन् ,
र अँध्यारो हट्नेछ ।
जिन्दगीको जाँतो परिस्थितिको
तालमा घुमाइरहेकी छु
पिन्दैछु यसैमा मकै
छोराको पढाइ खर्च
दम र मधुमेहका अौषधीहरू
र घरिघरि यस्तो पनि लाग्छ
यो जाँतोको घ्याइँघ्याइँसँगै
म आफैंलाई पिन्दैछु !!
पैंयुँ,पर्वत



