
काठमाडौँ ।अनुवाद केवल शब्दको हेरफेर मात्र नभई दुई संस्कृति जोड्ने पुल हो भन्ने तथ्यलाई ‘अनुवाद विमर्श’को पछिल्लो शृङ्खलाले पुनः पुष्टि गरेको छ।
अनुवाद समाज नेपाल (एसटीएन) द्वारा आयोजित भर्चुअल संवादको दोस्रो शृङ्खलामा डा. नवराज न्यौपानेले अनुवादलाई नेपाली साहित्यको अन्तर्राष्ट्रिय ‘पासपोर्ट’का रूपमा व्याख्या गर्नुभयो।
एसटीएनका अध्यक्ष डा. बलराम अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन चन्द्र बहादुर लामाले गर्नुभएको थियो। कार्यक्रममा डा. न्यौपानेले आफ्नो विशेष ‘आइपिपी मोडेल’ (Input, Process, Product) प्रस्तुत गर्दै गुणस्तरीय अनुवादका लागि ११ वटा व्यवस्थित चरणहरू अनिवार्य रहेको बताउनुभयो। उहाँका अनुसार, अनुवाद गर्दा सिद्धान्त र अभ्यासलाई सँगै लैजान सके मात्र मौलिक कृतिहरूले न्याय पाउँछन्।
संवादका क्रममा डा. न्यौपानेले सांस्कृतिक अनुवादका अप्ठ्याराहरूलाई रोचक ढंगले प्रस्तुत गर्नुभयो। ‘अग्नि परीक्षा’, ‘घुम’ वा ‘सातु’ जस्ता स्थानीय शब्दको गाम्भीर्य अङ्ग्रेजीमा उतार्नु अनुवादकका लागि निकै ठूलो चुनौती हुने उहाँको तर्क थियो। “अनुवादक एक सांस्कृतिक मध्यस्थकर्ता हो, जसले शब्द मात्र होइन, त्यसको भार र भावनालाई पनि अर्को भाषामा जीवित राख्नुपर्छ,” उहाँले भन्नुभयो।
नेपाली साहित्यलाई नोबेल पुरस्कार जस्ता विश्वप्रसिद्ध मञ्चसम्म पुर्याउन स्तरीय अनुवाद नै मुख्य कडी रहेको धारणा उहाँले व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा डा . न्यौपानेले आफ्नो चर्चित कविता ‘अनुवादक’ वाचन गरी सुनाउनु भएको थियो| अनुवादकको सङ्घर्ष र मोती खोज्ने गोताखोरको यात्रालाई चित्रण गर्ने उहाँको सो प्रस्तुतिपछि संस्थाका तर्फबाट उहाँलाई डिजिटल प्रशंसा पत्र प्रदान गरिएको थियो।




