
लघुकथा
प्रेम
शुषमा चित्रकार
“चीयर्स ।”
गएको हप्ता, कफीको बाफ र उसको हल्का मुस्कानबीच हामीले मित्रताका पाँच वर्ष मनायौं ।
ऊसँग मेरो भावना मिल्थ्यो । अभिरुची पनि समान थिए । परिस्थितिलाई सम्हाल्न सक्ने उसको खुबी मलाइ मन पथ्र्यो । बहस हुन सक्ने सम्भावनाहरू ऊ प्रायः मौन बसेर टाथ्र्यो ।
“फुल्न थालेछन् ।”
एकदिन मेरो सेतो कपाल औंल्याउँदै उसले भन्यो ।
म हाँसें ।
उसले गम्भीरता ओढ्यो,
“के तिमी बिहे गर्दिनौ ?” उसको स्वरमा हल्का कम्पन थियो ।
दुर्घटनामा श्रीमती गुमाएको ऊ आमा र भाइसँग बस्थ्यो । उसकी एक छोरी थिई । उसले दोस्रो बिहे गरेन ।
“तिमीले चाहिं किन नगरेको ?” मेरो प्रश्नमा ऊ केही बोलेन ।
त्यो मौनताले उसको आँखामा अड्किएको एउटा अधुरो वाक्य झल्काइरहेको थियो ।
कुराकानी टुंगियो । चियापछि छुट्टियौं । घर फर्केर पनि धेरै बेरसम्म मनमा कुरा खेलिरहे ।
हामीबीचको घनिष्ठता अनौठो थियो । त्यो मित्रता मात्र थिएन तर घोषित प्रेम पनि थिएन । यो सम्बन्धमा न उसले कहिल्यै आफूलाई स्पष्ट गर्यो न मैले नै केही भनें । प्रौढता छुँदै गरेकी मेरो ऊसँगको मित्रता धेरैलाई थाहा थियो । तर अहिलेसम्म हाम्रो सम्बन्धमा कसैले टिप्पणी गरेका थिएनन् ।
एकदिन उसले फोन ग¥यो ।
“भोलि साँझ डिनर है ?”
भ्यालेन्टाइन डे को दिन डिनर—उसको प्रस्तावले आश्चर्य र खुल्दुली दुवै जगायो ।
डिनरमा उसले घरपरिवार र आफ्नो जीवनबारे खुलेर धेरै कुरा ग¥यो ।
बाहिरको सिमसिमे झरी र रेस्टुराँको झिलिमिली बत्तीले साँझलाई मात्र होइन, त्यो पललाई पनि अझ उज्यालो बनाइरहेको थियो ।
खानापछि उठ्न लाग्दा उसले भन्यो,
“एकै छिन पर्ख न ।”
अब पक्कै ऊबाट कुनै प्रस्ताव वा स्वीकारोक्ति आउँछ भन्ने सोच मात्रले पनि जोडले मुटु धड्कियो । रक्तिम हुँदै गरेको मेरो अनुहारतिर नियाल्दै उसले मेरो हात बिस्तारै थपथपायो ।
केही बोलेन । बस्—
एउटा न्यानो, मौन दृष्टि । त्यो न्यानोपनामा उसका शब्दहरू पग्लिएका थिए ।
बिना शब्दको त्यो सानो स्पर्शभित्र उसले फुकाएको मन पढ्न मलाई गाह्रो परेन ।
ललितपुर
