
काठमाडौं ।औषतमा दैनिक दुुई हजार २२३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेको बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिररहेका छन । नेपालबाट रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिने यसबाहेक सानो सङ्ख्या दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालुु आवको २०८२÷८३ को पहिलो चार महिनामा सरकारले ६०१ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रमस्वीकृति) दिएको छ । गत वर्ष सो अवधिमा पनि ६०१ जनाले नै नेपालमा काम गर्नका लागि श्रमस्वीकृति लिएका थिए । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
त्यसो त वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा दुुई लाख ८३ हजार ६१० जना रोजगारीका लागि विदेशिएका छन् । रोजगारीका लागि औषत दैनिक दुुई हजार २२३ श्रमशक्ति विदेश पठाउने देश आफैंले भने दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ । सरकारले विगतदेखि नै स्वदेशमा दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएकोे छ ।
ठूला परियोजनामा विदेशी श्रमिक
नेपालमा सञ्चालित ठूला परियोजनामा विदेशी नागरिकले काम गर्ने गरेका छन् । विशेष गरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशलाई प्राथमिकता दिने गरेको देखिन्छ । नेपालमा जुनसुकै क्षेत्रका दक्ष इन्जिनियर छन् तर विदेशबाट सञ्चालित परियोजनामा तल्लो पदमा नेपालीलाई काम दिए पनि माथिल्लो पदमा आफ्नै देशबाट प्राविधिक जनशक्ति ल्याउने गरेका छन् । नेपालमा सञ्चालनमा रहेका विदेशी परियोजनामा उच्च पदमा विदेशीले नै प्राथमिकता पाउने गरेको देख्न सकिन्छ । ती परियोजनामा मेसिनरी जडानको काममा सकभर विदेशी प्राविधिक जनशक्ति परिचालन गर्ने गरिएको देख्न सकिन्छ । अझै विशेषगरी चीनको लगानीमा सञ्चालित परियोजनामा दुई उद्देश्यले आफ्नै देशको जनशक्ति प्रयोग गर्छन् । पहिलो भाषागत रूपमा सहज हुन्छ भने अर्को आफ्नो परियोजनाको पैसा आफ्नै देशमा जाओस् भनेर प्राविधिकदेखि अन्य श्रमिक पनि आफ्नै देशको प्रयोग गर्ने गरेका छन् । नेपालमा जलविद्युत् क्षेत्रमा आवश्यक पर्ने मेकानिकल, सिभिल, इलेक्ट्रिकल सबै प्रकारका इन्जिनियर प्रयोग हुने र ती जनशक्ति पर्याप्त छन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी रहेका छन् ।
उच्च सीपयुक्त मात्रै ल्याउने व्यवस्था छ तर अदक्ष समेत भेटिए
त्यसो त विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । सोही कानुनअनुसार विदेशी नागरिक स्वदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेको छ । विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख््यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेको पाइन्छ । नेपाली श्रम बजारमा स्वदेशी जनशक्ति उपलब्ध हुन नसके मात्र दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई श्रम स्वीकृति दिनुपर्ने व्यवस्था छ । नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी श्रमिकलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय÷विभागको सिफारिस एवं गृह मन्त्रालयको कार्य सहमतिका आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनुपर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ । विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम छ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीको उच्च पदमा विदेशी कार्यरत छन् ।
नेपालमा श्रमस्वीकृति लिएर काम गर्ने विदेशी श्रमिकमध्ये ८० प्रतिशत चिनियाँ
विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये करिब ८० प्रतिशत चिनियाँ रहेका छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् ।
यसैगरी स्वयंसेवाका रुपमा पनि नेपालमा विदेशीले काम गर्न पाउने प्रावधान रहेको छ । विभागका अनुसार भारतबाहेक अन्य देशबाट आउने श्रमिकले भने स्वीकृति लिनुपर्छ ।
दश अर्ब बाहिरियो
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण हालको समयमा नेपालले विदेशबाट प्राप्त गर्ने सबैभन्दा ठुलो आम्दानी हो । आमनेपाली परिवारका लागि विप्रेषण जीवनयापनको माध्यम नै हो । गत आव २०८१÷८२ मा विप्रेषणबापत करिब १६ खर्ब रुपियाँ भित्रिएको थियो भने चालु आव २०८२÷८१ को पहिलो तीन महिनामा पाँच खर्ब भित्रिएको छ । रोजगारीका अवसर सीमित हुँदा विप्रेषणमाथिको निर्भरता बढ्दै गएको तथ्यंबाट पुष्टि हुन्छ । तर नेपाल विप्रेषण भित्रर्याउने देश मात्रै पनि होइन । नेपालमा काम गर्ने विदेशीले यहाँबाट बर्सेनि ठूलो रकम विप्रेषणका रूपमा लैजाने गरेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।
राष्ट्र बैङ्कका अनुसार गत आवमा नेपालमा काम गर्ने विदेशी श्रमिकले १० अर्ब ७७ करोड रुपियाँ विप्रेषणबापत आफ्नो देशमा लगेका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणको तुलनामा भित्रिने रकमको तुलनामा यो रकम अत्यन्त कम भए पनि नेपालभित्र सृजित रोजगारीबाट विदेशीले लगेको रकमको हिसाबले भने ठूलो हो । उल्लिखित रकम औपचारिक माध्यमबाट बाहिरिएको रकम मात्र हो । अनौपचारिक माध्यमबाट बाहिरिने रकम योभन्दा धेरै ठूलो छ । खास गरी नेपालमा कार्यरत भारतका श्रमिकले त्यस्तो रकम लैजाने गर्छन् । नगद र अनौपचारिक माध्यमबाट यस्तो रकम बाहिरिने भएकाले यसको औपचारिक तथ्याङ्क छैन ।
निष्र्कष
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागले विदेशी सहयोगमा सञ्चालित ठूला परियोजना वा आयोजनामा थुप्रै देशका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् । बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ । विभागले विदेशी श्रमिकलाई एक वर्षका लागि श्रम इजाजत दिने गरेको छ । प्रत्येक वर्ष श्रम इजाजत नवीकरण गर्नुपर्छ । विशिष्ट दक्ष प्राविधिक श्रमिकको हकमा पटकपटक गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकको हकमा पटकपटक गरी बढीमा तीन वर्षका लागि श्रम इजाजत दिनेछ । छ महिनाको अवधिका लागि प्रतिव्यक्ति १५ हजार रूपियाँ र छ महिनाभन्दा बढी अवधिका लागि प्रतिव्यक्ति २० हजार रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था छ । नेपालमा भारतबाहेक विदेशी श्रमिकले नेपालमा काम गर्दा श्रमस्वीकृति लिएर गर्ने गरे पनि भारतीय श्रमिक भने विना श्रमस्वीकृति ठूलो संख्यामा नेपालमा छन । भारतबाट नेपालमा आएर काम गर्ने कति श्रमिक छन भन्ने आधिकारिक तथ्यांक कसैसँग पनि छैन । खुला सिमाना भएका कारण भारतबाट धेरै श्रमिक आएर काम गर्ने गरेको भए पनि उनीहरुले भने श्रमस्वीकृति लिएको देखिँदैन । नेपालमा आउने भारतका श्रमिक जस्तै नेपालबाट पनि भारतमा गएर काम गर्नेको संख्या धेरै रहेको छ । भारतका लागि श्रमस्वीकृतिको बहस हुँदा १९५० को सन्धीको कुरा उठ्ने गरेका कारण भारतका लागि कडाइ गर्न सकेको छैन । सीता शर्मा (आचार्य)
