
काठमाडौं, कात्तिक १२। हालै सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममार्फत नेपालका बौद्ध विहार र गोन्पा (गुम्बा) हरूबारे गरिएका भ्रामक र अतिरञ्जित अभिव्यक्तिप्रति नेपाल बौद्ध महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले मगँलबारसार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही अराजक तत्त्वहरूले तथ्यहीन प्रचारमार्फत धार्मिक द्वेष फैलाउने प्रयास गरिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “शाक्यमुनि बुद्धले जगत् हितका लागि प्रदान गर्नुभएको धर्म-अध्ययन र ध्यान-अभ्यासका केन्द्रका रूपमा स्थापित विहार र गोन्पाहरू मानवता, करुणा, अहिंसा र परोपकारका शिक्षामा आधारित पवित्र स्थल हुन्।” महासंघका अनुसार यी केन्द्रहरू कहिल्यै पनि कुनै राष्ट्र वा समुदायविरुद्ध गतिविधिमा संलग्न भएको छैनन्, बरु विश्वशान्ति, सहिष्णुता र सद्भाव प्रवर्द्धनमा योगदान दिँदै आएका छन्।
महासंघले केही व्यक्तिहरूले राजधानीका गोन्पाहरू विदेशी प्रभावमा परेको र त्यहाँ हतियार लुकाइएको जस्ता निराधार आरोप सार्वजनिक रूपमा गर्दै आएको भन्दै यस्तो गैरजिम्मेवार गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।
“देशमा अशान्ति चाहने तत्वहरूले भ्रम फैलाइरहेका छन्, जसले बौद्ध समुदायको मानमर्दन मात्र होइन, धार्मिक सहिष्णुतामाथि पनि प्रहार गरेको छ,” विज्ञप्तिमा भनिएको छ। नेपाल बौद्ध महासंघले यस्ता असत्य प्रचार गर्ने व्यक्तिहरू र तिनका अन्तर्वार्ता प्रसारण गर्ने सञ्चार माध्यममाथि तुरुन्तै छानबिन गरी आवश्यक कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, सबै सञ्चारकर्मी, सामाजिक अभियन्ता र नागरिक समाजलाई सत्य, तर्कसंगत र जिम्मेवार ढंगले प्रस्तुत हुन अपिल गरेको छ।


