
काठमाडौं।देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी वाग्मती र मधेस प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी प्रदेशको थोरै स्थानमा गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्वदिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकासहित बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले अविरल वर्षा भइरहेको छ। काठमाडौंमा त शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ। काठमाडौंमा अहिले मध्यम वर्षा छ। बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले अहिले काठमाडौंसहित पाँच प्रदेशमा मध्यम वर्षा गराइरहेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको नैकापमा पछिल्लो एक घन्टामा ६.८, ललितपुरको टीकाथलीमा ५.८, काठमाडौंको पानीपोखरीमा ५.२, कपनमा ५.२, भक्तपुरको ताथलीमा ५.८ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा कैलालीको गर्भ दरबारमा ८५.८ मिलिमिटर वर्षा भएको छ।
विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।
कोशी, मधेस, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ।
शनिबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।
त्यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

