
निबन्ध
प्रदीप सापकोटा
गन्तव्य
घरबाट निस्कें । कहाँ जाने,कता जाने रुविना उद्देश्य,विना गन्तव्य म बाहिरिएको थिएँ दिक्क लागेर। उज्यालोले धर्ती पोतिंदै थियो भर्खर। झिसमिसे विहान भएकोले मानिसहरु खासै आफ्नो कार्यक्षेत्रमा जुट्न थालिसकेका थिएनन् । बरु केही महिलाहरु कम्मरमा गाग्री च्यापेर पानी लिन पधेंरोतर्फ लाग्दै गरेको भने देखेको थिएँ ।
हिजोदेखि मनमा विभिन्न कुराहरुले आकार ग्रहण गरेकोले निदाउन सकेको थिइन। समस्याहरुका चाङहरुले धुरिमाउर गरिरहेका थिए । मन अशान्त थियो। कुन बेला भाले बास्ला र निस्कुँला भन्ने सोचमा थिएँ । भालेको पहिलो डाँकसँगै निस्केको म । मूल्वाटोमा पुग्दै गर्दा पंडितबा श्रीकृष्ण भेट भए।
‘कता हिडिस् बाबु बिहानै ? ’ पंडितबाले प्रश्न सोधिहाले मेरोलागि धेरै गह्रुँगो भारी जस्तो पो भयो त्यो प्रश्न । किनकि मसँग कुनै गन्तव्य थिएन ।
अल्मलिंदै जवाफ भने दिएँ ‘म पनौती बजारसम्म गएर आउँछु गुरुबा ।’
विहानै झुठो बोल्नु परेकोमा मन दुखित त हुने नै भयो। खासमा झुठो बोल्ने मेरो आदत छैन। जुन कुरा झुठो बोल्नपर्छ,त्यसमा प्रवेश नै नगर्ने मेरो बानी छ। जिन्दगीमा कमै बोलिएका झुठमा आज गुरुबासँग बोलिएको झुठ थपियो।
म उहाँबाट उम्कें। अघि बढें। सोचें मेरो गन्तव्य कहाँ सम्म हो त? म घरबाट भागेर सबै तनावहरु मबाट दुर भाग्छन त !अनि फेरी सम्झें परिवार। परिवारका सबै सदस्यहरुलाई एक एक सम्झिएँ। उनीहरुको निर्दोष मुहार ।मप्रतिको आशावादीपूर्ण अपेक्षा उनीहरुको आँखामा मज्जैले पढेको थिएँ। उफ् मन झन दुखले द्रवित बन्यो। यसले मेरो चेतनाको क्षितिज फरक ढंगले उघारियो।सार्थक जीवनको आधार गन्तव्य बनाउँनुपर्छ । परिवारका दैनन्दिनी आवश्यकता पूरा गर्ने शर्तको गन्तव्यको खोजी गर्नुपर्छ । मनले आफूलाई पुर्नविचार गर्न भन्यो । प्रदीप तँ जुन मार्गबाट परिवारप्रतिका तेरा दायित्वहरु पूरा गर्न सक्छस त्यही गन्तव्यतिर दृष्टिगत गरेर हिंड। मनको सुझाव आयो ।
फेरि मन अघि बढ्यो,जुन मार्गको अर्थ लगायो–‘गलत,दिशाहीन,भ्रष्ट भएर चाँही हैन है ।’
मैले भने –‘हे मन ! जिन्दगीमा यात्रीलाई केवल आफ्नो गन्तव्यसँग मात्र मतलब हुन्छ। कुन साधन,कुन मार्ग,कुन माध्यम त्यो तिम्रो सरोकारको विषय हैन । ’
मलाई थाहा छ। जीवनको एकमात्र सास्वत सत्य गन्तव्य मृत्यु हो,जुन मैले जन्मिएकै दिन आफुसँगै लिएर आएको छु । मृत्यु मसँगै छ। केवल कतिवेला यो भने मेरो बशको कुरा होइन। काम,नाम,पेशा,सबै अस्थायी कुरा हुन्। भोलिको सुख भन्ने कुरा पनि केवल भ्रम बाहेक केही हैन। अहिलेको व्यस्तता भोलीको लागि संचित हुन सक्दैन। मसँग कुनै जादुको छडी छैन् कि केही कुरामा छुवाउनासाथ त्यसको अस्तित्व मेटियोस वा परिवर्तन होस,अझै भनुँ हात परोस। अनिश्चितताको धागोले उनिएको जिन्दगीमा गन्तव्यले के पो लछाथ्र्यो। सुपात्र बन्न खोज्नु दुईदिने जिन्दगीमा राम्रो हो किन कुपात्र बन्नु। अनि रहर पनि कसैलाई हुँदैन है नकाम गरुँ,नराम्रो बनुँ,अरुको विगार गरुँ,अरुको भावनामा ठेस पारिदिउँ,यस्तो कसैले सोच्दैन्। फगत यति हो,गन्तव्य सुन्दर रोज्ने नाउँमा धर्तीमा बसेर जुन चुम्ने धृष्टता चाहिं कसैले गर्नुहुँदैन।
यात्राविहीन गन्तव्य हुन्छ र ! लक्ष्यबिहीन जिन्दगी सजिलो हुन्छ र ! सोच्न मन लाग्छ। मन आफैं खेल्छ वयली बनेर। डुल्छ मन यस्तै विविध कुराहरुमा।भावनाहरु उब्जिन्छन्। तर्कनाहरु आउँछन्। गन्तव्य भएन भने जिन्दगी लगाम विनाको घोडाको तालमा रुपान्तरित हुन के बेर। गन्तव्यको मनोविज्ञानले मलाई राम्रै गाँज्छ। जीवनको सोच सत्मार्ग,उन्नति र प्रगतिको गन्तब्य हुनुपर्छ। जिन्दगीलाई सही दिशामा लैजान गरिने सबै यत्नहरुले मात्र जीवनको सही दिशावोध गर्न सम्भव पो हुन्छ। यतातिरको गन्तव्यमा मरिहत्ते गर्नुपर्छ ।
जीवनमा आइपर्ने जस्तोसुकै पीडा र दर्दहरु सहजै टारिउन,अभावका काला समयहरुले आधिपत्य नजमाउन । सुखका पलहरुले जीवनमा वर्चश्व कायम गरुन। दुःखका बाछिटासम्म नपरुन जिन्दगीमा। कसलाई चाह हुन्न्र ! मीठा परिपाकहरु भान्सामा पाकुन। जीवन समथर पाटोमा निस्फिक्री डुलोस। भीर र अप्ठ्यारोमा नपरोस। मेरो पनि चाह छ अरुको जस्तै। यस्तै छ सपनाहरु मेरो मनको ट्याँङ्कामा सजाएर राखिएको। अझ म त ‘सर्वे भवन्तु सुखिन’को भावमा चल्ने मान्छे । सबैको भलो होस,राम्रो होस भन्ने चाहाना मनदेखि राख्छु। यसको निम्ति दरकार पर्ने रैछ उही गन्तव्य। यसको सरोकार उही गन्तव्यसँग हुन्छ । यही हो सुखद जीवन जीउन जरुरत पर्ने कुराको अन्तर्वस्तु। आशाहरु सुखमय बनून भनेर टुसाउँछन् तर गन्तव्यविहीनताले त्यसमा मलजल पुग्दैन र अंकुराउन पाउँदैनन। त्यसैले समयलाई बुझेर,कर्मको भर गरेर अघि बढ्नुको विकल्प रहन्न। दुई दिनको जिन्दगी,घामछायाँ हो भनेर मात्र बसियो भने गन्तव्यविहिन हुन के बेर । गन्तव्य नरोजे दुई दिने जीवन पनि दुःखमय जिउन बाध्य हुनुपर्ने रहेछ। हामी पूर्वीयहरु,आफूमात्र हैन,आफ्नालागि मात्र हैन। घर परिवार,आफन्त,इष्टमित्र सबका लागि सोच्छौं र अनावश्यक दुखी हुन्छौं। तर यो हाम्रो दर्शन हो। यसैले एकजनाको सुन्दर जिन्दगीले मात्र खुशी हुन सक्दैनौं। परिवारको चिन्ताले कतै न कतै हामीलाई चिमोटिरहँदो छ । आफन्तको चासोले घचघच्याइ रहेको हुन्छ, यसैले डोर्याइरहेको हुन्छ।
म गन्तव्यविहीन यात्रामा निस्केको मान्छे माथिका थुप्रै कुराहरुले मेरो मन मष्तिष्कलाई हल्लाउँछन्। फेरि घर फर्कन बाध्य पार्छन। पहाड फोर्न सक्छु भन्ने अक्करे बल मनमा पैदा गर्छन। हिम्मत नहार्न मनले साउती गर्छ। जीवनप्रतिको मूल्यवोधलाई म सामु स्पष्ट राख्छन्। मेरो रगतका कणकणमा आफ्नाहरुको मायाको सञ्चार जागृत गराउँछन् । म प्रति आफ्नाहरुको आशा अपेक्षा,भरोसा दर्शाउँछन्। अभावको आँसु पिउने रहर कसैलाई हुँदैन। मान्छे र भावनाको साइनो पनि बडो विचित्रको हुने रहेछ। भावनाले मान्छेलाई तान्दोरहेछ। त्यसमा पनि सुखको कामना सहितको भावना जो कोहीको मनमा उब्जिनु अस्वभाविक पनि हैन । त्यसैले सुखमय भावना सहितको कर्ममा तत्पर हुनुपर्छ भन्ने भावले मनमा दृढतापूर्वक आसन जमाएपछि एक पटक गहिरो श्वास फेरें।अलिकति उत्तरदायित्व र जिम्मेवार भएर जिन्दगीलाई नयाँ गन्तव्यतिर डोर्याउन खोज्यो। जिन्दगीले अलग्गै उद्देश्यको धरातल खोज्यो। जीवनको अन्तरनिहित सारतत्वको निष्कर्ष थियो–‘तँ जिम्मेवार छस्। तेरो काँधमा परिवारप्रतिको दायित्व छ। तँप्रति परिवारले देखेको जुन सपना छ त्यसको हत्यारा हुन कदापी पाउँदैनस। उनीहरुको तँप्रतिको आस्था,भरोसा र विश्वासलाई टुटाउने अधिकार तँ मा छँदै छैन।’
बेथितीपूर्ण रुपमा घरबाट निस्केको मान्छे। विनासित्ति बैरागिँदो भत्किएको मन लिएर हिंडेको मान्छे। झण्डै झण्डै परिवारका सबैको सपनाको हत्यारा बनिसकेको मान्छे। कसरी कसरी अहिले छयाङ्ग खुलेको आकाश जस्तो मन खुलेको छ। जीवनको बैभवता र बाँच्ने धरातलको दिव्यज्ञान प्राप्त भएको छ। जीवनप्रतिको सोचमा बदलाव आएको छ। सकारात्मक भावको संचार भएको छ। जिन्दगी बुझाउन धेरै बल प्रयोग गर्नुपरेन। धेरै दिमाग खियाउनु परेन। जीवन र गन्तव्यबीचमा अन्तरनिहित सारतत्व बुझिसकेपछि सक्किगोनि।
अब जिन्दगीलाई सन्मार्गमा हिंडाउने हो,पहाडको फेदीमा छु जिन्दगीको सिंगो उकालो चढ्नै बाँकी छ। जोश,जाँगर,उर्जाको त्रिवेणीको डोरी समाएर चढ्ने हो उचाइ । त्यो उचाइ चुम्ने हो गन्तब्यको जहाँ पुग्दा प्राप्ति हुनेछ परिवारको सुख अनि मेरो जीवनको सन्तुष्टि। समयको गतिशीलतामा आफूलाई ढाल्ने हो । निराशा र उदासीपन फाल्ने हो। यति भएपछि सायद मुसार्छ सुखले जीवन ।
मनमा यस्तै सोच पलाए। म फर्किंदै छु। आफ्नै थातथलो तिर। मेरो फर्काइमा खुशीले पुलकित भएर मुस्कुराइरहेछ दन्तैलहर खोलेर परको हिमाल। उस्तै एकटक हेरिरहेछ नागी डाँडा खुशीले। त्यो हिमशैल र डाँडाले एकै स्वरमा भने जस्तो भान पर्छ –‘प्रदीप,दृढनिश्चयका साथ अगाडि बढ। असम्भव केही छैन। तिमी सक्छौ । जीवनको यथार्थता बुझेपछि गन्तव्यको लय पक्डन सजिलो पर्छ। उज्यालोको आशावादी भएर जीवनको मोह जगाउ मित्र।’
कति मुक्तभावको उत्ताल भावना व्यक्त गरे तिनले। मैले बर्षौंदेखि हेर्दै आएको हिमाल र चढ्दै आएको डाँडाले मेरो पदचाप पहिचान नगर्ने कुरै भएन। उनीहरु पनि खुशीले पुलकित भएको पाएँ मेरो घर फर्काइमा। यसमा उनीहरुको हार्दिकता देखें। नमन गरें मैले त्यो सौहार्दताको निम्ति उनीहरुलाई।
बास्तवमै जीवनको मोह जागृत भयो मलाई। जीवनको सौन्दर्यको बोध भयो ।अलिअलि दुःख पनि लाग्यो कि झण्डै जीवनप्रतिको मोहभंग भएछ भनेर। अनि फेरि आफ्नासँग वियोगिन खोजेको रहेछु भनेर। जीवनको गन्तव्यलाई संघर्षमा जोड्न पर्छ भन्ने भावना मनमा उब्जिँदा भने बडो आनन्द महसुस भयो। कति छिटो मेरो चक्षुले ठम्यायो जिम्मेवार बन भनेर। कति चाँडो ह्रदयमा आफ्ना प्रतिको प्रेमको टुसा पलायो। यो कुरामा मन कन्भिन्स भो कि जिन्दगी पीडामा मात्र नहेर्नु,अभावमा मात्र नबुझ्नु,अलिक मिहेनत भयो भने,अलिकतिमात्र जिम्मेवारीको बोध भयो भने त्यहाँ आनन्दै आनन्द पाइन्छ। सुखै सुख मिल्छ। आहा१ आजको विहान,अविस्मरणीय भएर रहने भयो जिन्दगीमा ।
म घर फर्कंदै छु। अहिले अलिअलि उकालो चढ्दै छु। चौतारो समिपमा छ । म फर्केको देखेर खुशी भएको छ । यो चौतारो कैयन पटक फरक मार्न बसेको ठाउँ । स्कूल जाँदा होस या आउँदा। बजार जाँदा होस या फर्किंदा। खेतबाट धानको बोरा लिएर आउँदा होस या परालको भारी। जहिल्यै सुखदुखमा साथ छ यसको। ‘आत्मीय मित्र,आयौं तिमी फर्केररुसही निर्णय गरेउ। आफूलाई बल्ल चिन्यौ । तिमीलाई कसैले रोक्न सक्दैन सुखद गन्तव्य पहिल्याउन।’ चौतारोको भावले मनै द्रवित बनायो मेरो।
अब तेर्साे बाटो लाग्नुपर्छ घरतिर जान । पर चौविसै घण्टा अहोरात्र बगिरहने मूलको धारो छ । त्यहाँ गएर अँजुली थाप्दै पानी पिएँ । धारोले पनि कलकल गर्दै मेरो निर्णयको संकेतात्मक भावमा स्वागत गरेको जस्तो भान पर्यो। ‘मैले भनिरहन परोइन,तिमी धेरै बुझ्ने छौ । जीवनको नयाँ गन्तव्य पहिल्याएर अघि बढ। त्यसमै तिम्रो भलाई छ।’ धाराको अभिव्यक्तिले मेरो मन द्रवित बनायो ।
पर चिवे चरा पुच्छर हल्लाउँदै सुसेल्दैछ । उसको संगीतमय स्वरले मलाई हार्दिकता दिएको भान पर्छ – ‘रुमानी कल्पनामा नडुब मित्र । निराशामा नडराउ। हिम्मत गर । भगवानले पनि भन्छन् रे तँ आँट म पुर्याउँला। जीवनमा यो मायावी संसार भन्दा पर केही गन्तव्य हुन्न । आफ्नाले हो गर्ने,आफ्नालाई हो हेर्ने । उमंग र उत्साह साथमा भयो भने दुनियाँमा तिमीले सजिलै गन्तव्य प्राप्त गर्न सक्छौ।’ मैले उसको यो भावले पछुतो महसुस गरें। मलाई चिन्ने सबैको मप्रतिको सदासहायता प्रति नतमस्तक बनें ।
कहाँ अड्केको गन्तव्यविहीन म । कति धेरै निराश भएको । कति धेरै पथरहित थिएँ । उद्देश्यको अस्पष्टताभित्र कुहिरोको काग जस्तै रुमुल्लिइरहेको थिएँ । कति झस्किएँ बेस्सरी म । कति टोलाएँ। कति यो गरुँ कि त्यो को दोधारमा परें। असजिलो,अप्यारो,निराशा,अन्धकार र अभावग्रस्त रुपमा जीवनलाई बुझेर पलायन भएको थिएँ । जीवनको कस्तो विचित्र मोडबाट गुज्रिएको थिएँ ।
मेरो मन मनजस्तो थिएन। शरीर आफ्नो जस्तो लाग्थेन । जीवनप्रतिको मोहभंग हुँदै गैसकेको थियो। तर गन्तव्य पहिल्याउन कोही चाहिएन। आफ्नै मन काफी भो। मनले सहजै कोल्टे फेर्र्यो। बास्तवमा आवेगमा जे बोकेर म निस्केको थिएँ,त्यो मेरो निम्ति असुहाउँदो थियो। मैले गर्नु थियो धेरै। सुस्तरी पदचापलाई व्याक गेयरमा लगाएको थिएँ मैले। एकातिर पारिवारिक मायामोहको रेशमी चाहले लोभ्यायो अर्कोतिर आफु र आफ्नाको भविष्यप्रतिको चिन्ताले सतायो र जिन्दगी सुखद गन्तव्यको खोजीमा लयमा फर्किन चाह्यो । घर पुगें । आमा तुलसीको मोठमा पूजा गर्दै हुनुहुन्थ्यो । बुढी गोठमा गाईबस्तु स्याहार्दै थिइन् । बुबा फलैंचामा बसेर हुक्का ट्वार ट्वार तान्दै हुनुहुन्थ्यो। म सरासर गएँ र फुत्त झोला विसाएर पिढीमा बिछ्याइएको चकटीमा टुसुक्क बसें।
जिन्दगीको गन्तव्यको खोजीले मलाई आज सही मार्गनिर्देश गरेकोमा एकातिर खुशीले मन पुलकित थियो मेरो भने अर्कोतिर बिना कुनै कारण घरबाट निस्केकोमा अलिकति लज्जाबोध पनि ।

