
काठमाडौं।शनिबार राति युएईको शारजाहमा भएको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।
यो जितमा एक विकेट र ३८ रन बनाएका रोहित प्लेयर अफ दि म्याच बनेका थिए।
नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य)अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।
नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।
हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।
नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।
नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो।
आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।
नेपालले २० ओभरमा १४८ रन बनायो ।
यो जीतसँगै टेष्ट राष्ट्रसँगको पहिलो जीत नेपालले दर्ता गराएको छ ।
रोहित पौडेलले प्लेयर अफ दी म्याच अवार्ड नेपालमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् ।
