
विराटनगर।मोरङ कारागारमा एक जना महिला कैदी मृत फेला परेकी छन्।
बुधबार बिहान कारागारको शौचालयमा उनी मृत फेला परेकोमोरङ कारागारभित्र मृत भेटिइन् महिला कैदीकी डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
उनका अनुसार मृतक कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेकी ३२ वर्षीया राधा भट्टराई हुन्।
महिला कैदीबन्दी राखिने सेलको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको डिएसपी चुडालले बताइन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की भट्टराई यसअघि आफ्ना बालबच्चासहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। आफ्ना दुई नाबालक सन्तानसहित नहरमा हाम्फालेकी उनी र एक बच्चाको उद्धार भएको थियो भने एक जना बच्चाको मृत्यु भएको थियो।
कारागार प्रशासनका अनुसार उनी अरू कैदीहरूसँग सधैं मर्ने कुरा गर्ने, एक्लै बस्ने, कोहीसँग नबोल्ने समस्या देखिएको थियो ।
आफ्नै बच्चाको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो। सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो।
उनी २०८० माघ ५ गतेदेखि विराटनगरस्थित मोरङ कारागारमा थिइन्।







