
काठमाडौं ।साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले शनिबार संयुक्त रुपमा सर्जक किशोर श्रेष्ठ ‘आवाज’को ‘म अनि मेरा भोगाइहरु’ कविता र नियात्राकृतिको परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
राजधानीमा आयोजित सो कार्यक्रममा सर्जक श्रेष्ठको ‘म अनि मेरा भोगाइहरु’ कविता र नियात्राकृतिबारे समालोचक डा.शान्तिमाया गिरी र कवि दिलीप श्रेष्ठले समीक्षात्मक मन्तव्य राखे ।
गुन्जनकी अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा समालोचक डा.शान्तिमाया गिरीले किशोरको आख्यानमा भौगोलिक परिवेश,सांस्कृतिक, सामाजिक लगायत अनगिन्ती विषयबस्तुलाई विवरणात्मक शैलीमा लेखेको बताइन् ।
यसैगरी अर्का समीक्षक कवि दिलीप श्रेष्ठले सर्जक किशोरको योगदानको चर्चा गर्दै कृतिमा समावेश कवितामा सांस्कृतिक,सामाजिक र राजनीतिक चेतको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष लेकालीले सर्जक श्रेष्ठको समग्र परिचय र योगदानको उल्लेख गर्दै चैनपुरको विशेष चर्चा गरे।
प्रमुख अतिथि जलेश्वरी श्रेष्ठले कृतिको चर्चा गर्दै बधाई ज्ञापन गरिन्।
कृतिकार किशोर श्रेष्ठले आफ्नो सिर्जना यात्राबारे उल्लेख गर्दै कार्यक्रम आयोजक संस्था र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे।
कविहरु सविता श्रेष्ठ ‘बेहोसी’ र मन्जिला अनिलले ‘म अनि मेरा भोगाइहरु’ बाट कविता वाचन गरेको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंहले सर्जक श्रेष्ठलाई दोसल्ला,माला लगाएर सम्मान गरे ।
काठमाडौं संखुवासभा साहित्य समाजका सदस्य डा. बंशी शर्माले धन्यवाद ज्ञापन गरे ।




