
काठमाडौँ । विद्यार्थीहरूमा नेपाली भाषा, समाचार वाचन कला, सञ्चार सीप तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले Schools’ Association of Nepal (SAN) द्वारा आयोजित SAN अन्तर्विद्यालय नेपाली समाचार वाचन प्रतियोगिता अन्नपूर्ण विद्या सदन स्कुल, वनस्थली, काठमाडौँमा सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूले नेपाली भाषामा समाचार वाचन गर्दै आफ्नो प्रस्तुतीकरण, उच्चारण, आवाजको उतारचढाव, प्रवाह, आत्मविश्वास तथा हाउभाउ प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूलाई मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा समाचार वाचनसम्बन्धी व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गरेको थियो।
प्रतियोगितामा प्रसिद्ध मोडल स्कुलकी रिया थापा प्रथम भएकी छन्।
टाइम्स एलिमेन्ट्री स्कुलकी समृद्धा ढकालले दोस्रो तथा ब्राइट फिल्ड स्कुल–अभ्यास पाठशालाकी सुनामी लामाले तेस्रो स्थान हासिल गरेकी छन्।
त्यस्तै NIC Academy की समृद्धि शाक्यले सान्त्वना, Kamana International School/College की कृपा पाण्डेले सान्त्वना प्रथम तथा The Sunshine School/College की प्रजिना कँडेलले सान्त्वना द्वितीय स्थान हासिल गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार,नेपाल स्रष्टा समाजका अध्यक्ष, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समाचार सुन्नेले स्पष्ट बुझ्नेगरी वाचन गर्नुपर्ने भन्दै असमाचार वाचन शब्द पढ्ने मात्र नभई भाषा, उच्चारण, आवाजको उतारचढाव, भाव, आत्मविश्वास र विषयवस्तुको प्रभावकारी प्रस्तुतीकरणसँग जोडिएको बताए ।

उनले प्रतियोगितामा जित्नु मात्र ठूलो कुरा नभई आफ्नो प्रतिभा पहिचान गर्नु, मञ्चमा उभिएर क्षमता प्रस्तुत गर्नु र नयाँ अनुभव हासिल गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
विशेष अतिथि मैयालक्ष्मी महर्जनले विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूको बोल्ने कला र आत्मविश्वास अभिवृद्धिका लागि Nepali News Reading Competition उपयोगी तथा प्रशंसनीय कार्यक्रम भएको बताइन ।
प्रतियोगिताको निर्णायक मण्डलमा अग्रज पत्रकार एवं लेखक राजेश खनाल र साहित्यकार एवं पत्रकार प्रदीप सापकोटा रहेका थिए । निर्णायकहरूले समाचार वाचनको मूल्याङ्कन गर्दा उच्चारणको शुद्धता, आवाजको स्पष्टता, उतारचढाव, प्रवाह, आत्मविश्वास, हाउभाउ तथा विषयवस्तुको प्रस्तुतीकरणलाई मुख्य आधार बनाइएको जानकारी दिए ।
कार्यक्रममा सानका सचिव श्री बाबुराम गौतमले विद्यार्थीहरूमा नेपाली भाषाको शुद्ध प्रयोग, समाचार वाचन सीप, आत्मविश्वास तथा सार्वजनिक प्रस्तुतीकरण क्षमताको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

सह–सचिव श्री रोशन घिमिरेले विद्यार्थीहरूलाई सानै उमेरदेखि मञ्चमा बोल्ने तथा आफ्ना विचार आत्मविश्वासका साथ प्रस्तुत गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै “सिक्नु नै जित्नु हो” भन्ने धारणा व्यक्त गरे ।
सभापति दिलीप रेग्मीले नेपाली भाषा, समाचार वाचन तथा सञ्चार सीपको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, स्पष्ट उच्चारण, प्रस्तुतीकरण क्षमता तथा समसामयिक विषयप्रतिको रुचि बढाउने विश्वास व्यक्त गरे। प्रतियोगिताबाट प्राप्त अनुभव विद्यार्थीहरूको आगामी यात्राका लागि महत्वपूर्ण आधार बन्ने उनको भनाइ थियो।
अन्नपूर्ण विद्या सदनका प्रधानाध्यापक तथा क्ब्ल् का उपाध्यक्ष प्रकाश मरासिनीले आफ्नै विद्यालयको प्राङ्गणमा यस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न पाउनु विद्यालयका लागि गौरवको विषय भएको बताउनुभयो। विद्यालय पाठ्यपुस्तकीय ज्ञान प्रदान गर्ने स्थान मात्र नभई विद्यार्थीहरूको भाषिक क्षमता, आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यक्तित्व विकास गर्ने थलोसमेत भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे ।

प्रधानाध्यापक मरासिनीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्लब परिवार, प्रमुख अतिथि, विशेष अतिथि, निर्णायक मण्डल, सहभागी विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, नृत्य तथा म्युजिकमा भाग लिने विद्यालयका सम्पूर्ण विद्यार्थीहरू ,कर्मचारी र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
विद्यार्थीहरूमा नेपाली भाषाको दक्षता, सञ्चार सीप, आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि यस्ता रचनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भावनाका साथ यस्ता अरिरिक्त क्रियाकलापह्ररुको निरन्तरता दिइने आयोजकले जानकारी दिए ।
आइतबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि दिएका थिए ।


