
कृति : मित्रताको आकाश
विधा : कवितासङ्ग्रह
कवि : मातृका पोखरेल
प्रगतिवादी कवि पोखरेलको यो कविताकृतिभित्र विभिन्न शिर्षकका २६ थान कविता समावेश छन् । यसभित्र प्रगतिवादी भावभूमिका कविताहरु परेका छन् । सामाजिक,साँस्कृतिक,आर्थिक र वर्गीय दृष्टिले लेखिएका कविताहरु छन् । कविता सरल छन् तर ती भित्र गहन भावहरु रहेका छन् । राजनीतिक विकृतिविरुद्ध आवाज मुखरित भएका छन् । विस्तारवादी छिमेकीप्रति कटाक्ष पनि छ । निरंकुशताको विरोध छ ।
कला र अभिव्यक्तिले वलिष्ठ कविताहरु प्रतिकात्मक लाग्छन् । बिम्ब र प्रतिक छन् । केहीलाई छोडेर काब्यिक चेतका कविता छन् ।
मित्रताको आकाशलाई पहिलो पटक वि.सं.२०७६ मा रमाकृष्ण सृजना प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
कृति : स्याउली सिम्फोनी
विधा : उपन्यास
उपन्यासकार : रामकुमार एलन
लामोे समय पत्रकारीतामा व्यतित गरेका एलनको उपन्यासमा अखवारी शैलीको प्रभाव देखिन्छ । स्याउली बजारका सुस्केराहरुमा बोल्छन् । मुलधारमा नअटाएका कथानक र पात्रलाई टपक्क टिपेर कथा बुन्छन् र उपन्यास लेख्छन् । यो उपन्यास उतिबेलाको दशबर्षे शसस्त्र द्धन्द र त्यसले समाजमा पारेका विभिन्न असरमा केन्द्रीत छ । देश र जनताको लागि युद्धमा होमिएका अगुवाहरुको बैचारिक स्खलनले तिनीहरुका पछि लाग्ने अनुयायीहरुको सपनामाथि गरिएको बलात अतिक्रमणको कथा व्यथा लाग्छ उपन्यास । भन्न सकिन्छ द्धन्दको साक्षात तस्वीर हो उपन्यास ।
भाषाशैली सरल,सम्वादहरु उतिक्कै सरल,सुबोध्य लाग्छ । छोटा वाक्यहरु उपन्यास भरी छन् । रोमाञ्चक शैलीले उपन्यास पढुँ पढुँ लाग्छ ।
स्याउली सिम्फोनीलाई विएन प्रकाशनले पहिलो पटक वि.सं.२०७० मा प्रकाशनमा ल्याएको हो ।
कृति : बयान
विधा : कथासङ्ग्रह्
कथाकार : ऋषिराज वराल
प्रगतिवादी कथाकार हुन् वराल । यस कथाकृतिभित्र पनि यस्तै समाजका वरिपरिका विषयवस्तुमा आधारित सामाजिक कथाहरु छन् । कथासङ्ग्रहभित्र १३ वटा शिर्षकका कथा छन् । समसामयिक यथार्थलाई नवीन दृष्टिचेतले हेर्ने प्रयास भएको छ कथाहरुमा । कथाहरु मझ्यौला कदका छन् । विचारमा सौन्दर्य पोतिएका छन् । सुगठित र विचार पक्ष हावी भएको प्रष्टै बुझ्न सकिन्छ ।
बयान कथाकृतिलाई साझा प्रकाशनले वि.सं.२०५२ सालमा प्रकाशनमा ल्याएको हो ।








