
काठमाडौं।दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा काठमाडौँमा आयोजित एक समारोहबीच साहित्यकार तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले साहित्यकार गणेश ज्ञवालीको गीतिकाव्य ‘कर्ण’ को लोकार्पण ।
सो अवसरमा प्रमुख अतिथि प्रदीप ज्ञवालीले लोकार्पित कृति ‘कर्ण’ लोकलय र सरल भाषामा लेखिएको गम्भीर कृति भएको चर्चा गर्नुभयो । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामप्रसाद पन्तले प्रतिष्ठानद्वारा सो कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै कृतिकार गणेश ज्ञवालीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
समालोचक प्रा. डा. भागवत ढकालले उक्त कृति पौराणिक विषयवस्तुमा आधारित भई लेखिएको चर्चा गर्दै ‘कर्ण’ को समीक्षा गरे ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्याल, समालोचक प्रा. डा.रामप्रसाद ज्ञवाली, समालोचक प्रा. डा. लेखप्रसाद निरौला, प्रतिष्ठानका महासचिव यादव भट्टराईलगायतले लोकार्पित कृति र कृतिकारबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो भने कृतिकार एवम् नेपाल सरकारका सेवानिवृत्त सहसचिव गणेश ज्ञवालीले कृति प्रकाशनका निम्ति दायित्व वाङ्मय प्रतिष्ठानलाई धन्यवाद दिए। मैले कर्णलाई जसरी बुझेँ, त्यही लेखेँ भन्दै आफूले कृतिको मूल्याङ्कन प्रबुद्ध पाठक र समालोचकहरूबाट अपेक्षा गरेको बताए । उ कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गरे ।
कर्णु गणेश ज्ञवालीको तेस्रो प्रकाशित कृति हो भने यसअघि ‘यो पानी कस्तो बेइमानी’निबन्धसङ्ग्रह (२०६०) र ‘माटोको माया’कवितासङ्ग्रह (२०६५) प्रकाशित छन् ।
‘कर्ण’ दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित २२१औँ कृति हो।





