
काठमाडौ। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
नगरपालिकालाई ३० करोड २९ लाखभन्दा बढी हानिनोक्सानी पुर्याएको भन्दै अदालतले थापासहित अन्य दुई जनालाई दोषी ठहर गरेको हो । उनीहरूको सजाय निर्धारणका लागि अदालतले साउन २९ गतेको मिति तोकेको छ ।
न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा दोषी ठहर गरेको हो ।
उनीहरूले बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित कुल ३०,२९,३४,८९७.४० बराबरको नदीजन्य पदार्थमा हानिनोक्सानी गरेको अदालतको आदेशमा उल्लेख छ । अदालतले यो मुद्दामा सजाय निर्धारण प्रयोजनका लागि फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम साउन २९ गते सुनुवाइ गर्ने आदेश दिएको छ ।
सोही मुद्दामा प्रतिवादी बनाइएका उपमेयर लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले भने प्रमाणको अभावमा सफाइ पाएका छन् ।
