
राजकुलो र ढुंगेधारालाई संरक्षण संबद्र्धन गर्ने कुरो चल्दा सर्वाधिक मार्गदर्शनको रुपमा संझिने गरेको पुस्तकको रुपमा “भक्तपुरको राजकुलो” नामक पुस्तकलाई लिइने गरेको पाइन्छ । यो भनाई धेरैजसो मानिसहरुको मुखारबिन्दबाट प्रकट हुने गर्दै आएको छ । यस पुस्तकका लेखक पं भोलानाथ पौडेल र पुस्तकका सम्पादक गुहनाथ पौडेल हुनुहुन्छ । पुस्तकका लेखक संशोधन मण्डलको स्थापनाकालदेखि संस्थाको सदस्य मध्ये एक हुनुहुन्थ्यो भने सम्पादक चाहिं उहाँकै कनिष्ठ पुत्र हुनुहुन्छ ।
केही प्रशंसकहरुले लेखकलाई औधी तारिफ गर्ने क्रममा यूरोपमा वैज्ञानिक इतिहास लेख्ने जर्मन दार्शनिक रैन्क र नैवूर हुन् भने लेखकलाई उनीहरुको देनसित तुलना गरेको पनि देखियो । कारण चार दशकभन्दा अघि लेखिएको उनका लेखहरु उस्तै महत्वका छन् र खण्डनरहित छन् भन्दै अतिशयोक्ति तारिफ गर्दै आएको पनि नदेखिएको होइन । तात्कालिक प्रमाणहरुको आधारमा आनन्ददेव,रुद्रदेव र अमृतदेवको समयको एउटा विचारको बारेमा हालसम्म पनि कुनै नयाँ विश्लेषण र खण्डन आएको छैन भनी लेख्ने गरेको देखिएकोले यही विषयमा खण्डन प्रस्तुत गर्न आवश्यक देखी यो लेख तयार गरिएको छ ।
लेखक हाल यस भौतिक संसारमा हुनुहुन्न । उहाँ सित आफ्नो कुनै चिनाजान भएको पनि थिएन । उहाँको स्वर्गीय आत्माको चीर शान्ति कामना पनि गर्दछु । उहाँ बिती सक्नु भए पनि उहाँको कृतिको बारेमा आलोचना गर्नै नहुने चाहिं होइन किनकि कुनैपनि दिवंगत व्यक्तिको व्यक्तिगत कुराको टिकाटिप्पणी गर्नु पो हुँदैन । इतिहासहितको लागि इतिहासमा भ्रमोत्पादक देखिएको कुरा जो जसको भएपनि आलोचना खण्डन गर्नु जायज हो र सय वर्ष पछि आएर पनि खण्डन हुनसक्छ । त्यसकारण यही कुरा सान्दर्भिक हुन आएकोले उहाँको “भक्तपुरको राजकुलो” नामक पुस्तकको पहिलो अध्यायमा रहेको आनन्ददेव,रुद्रदेव र अमृतदेवको समयमा एउटा विचार शीर्षकको लेख साँच्चै भन्नु पर्दा सर्वाधिक भ्रामक र विवादास्पद रहेको छ । जर्मन दार्शनिक रैन्क र नैवुर सित उनलाई तुलना गर्न पुग्नु भनेको अतिरञ्जित हो र यसबाट ती महान दार्शनिकहरुको नै अवमूल्यन हुन जानु हो ।
पुस्तकको पहिलो अध्यायमा गोपालराजवंशावली र खौमाटालको अमृतदेवको अभिलेख बाहेक २९ वटा विभिन्न ग्रन्थका पुष्पिका वाक्यमा भएको मितिको गणना भन्दै भ्रमोत्पादक गणनाको परिणाम प्रस्तुत गरिएका छन् । यसमा गणनाको चरण एउटा पनि खुलस्त नपारीकन केवल परिणाम मात्र देखाइएको छ भने बार गणना साधन नगरी अमान्तमान बाट आएन पूर्णिमान्तमानबाट आयो भनी देखाइयो जुन बिल्कूल नाजायज हो । यसले उहाँको विद्वतामा निखार ल्याएको नभइ आर्जन गरेको साख नै समाप्त हुने स्थितिको छ भन्दा अन्यथा नठहर्ला ।
केसर पुस्तकालयको ३६ संख्यामा रहेको सर्वप्रकरणसंग्रह कै बारेमा भन्नुपर्दा यसमा नेपालसंवत् २६७ प्रथमाषाढकृष्ण पञ्चमी पूर्वभद्रा नक्षत्र शुक्रवार दिइएको छ ।
यसको पादटिप्पणीमा
मूलमा प्रथमाषाढ भनी आषाढमा अधिकमास मानिएको छ । तर अचेल चलेको नियमअनुसार भने आषाढमा अधिकमास परेको छैन । त्यसको दुइ महिनापछि भाद्रमा अधिकमास परेको छ । जे भए तापनि यहाँ दिइएका तिथि वार नक्षत्र गणना गर्दा मिल्न आउँछन् । यसकारण यो दिन वि.सं १२०४ आषाढ २६ गने शुक्रवार देखिन आउँछ ।
(भक्तपुरको राजकुलो पृष्ठ ३)
गणना भनेर दिइएको पनि यस प्रकार छ
ने.सं २६७ वि.सं १२०४ आषाढकृष्ण पूर्णान्तमानले श्रावणकृष्ण गते आषाढ २६ गते वार शुक्रवार तिथि पञ्चमीघ.प ६।४० नक्षत्र पूर्वभाद्र घ.प ४७।२९ ।
उहाँलाई हेक्का भएन अर्कै कुरा तर संशोधन मण्डलका प्रत्येक सदस्यलाई थाहा छ कि प्राचीन लिच्छविकालमा चलेको संवत् अमान्तमानका हुन् । लिच्छविकालका संवत् अमान्तमान भएकोले मध्यकालमा चलेको नेपालसंवत् पनि अमान्तमान नै भएर चले । त्यतिमात्र होइन नेपालसंवत् अहिलेसम्म पनि अमान्तमान नै छन् । फेरि नेपालसंवत् पूर्णिमान्त भएर चलेको संकेत कुनै शास्त्रमा छ भनी औंल्याउन सक्ने बहादुर एक जना पनि छैन । त्यसकारण नेपालसंवत् पूर्णिमान्त कहिल्यै भएको छैन ।
भन्नेले भन्यो भन्दैमा आँखा चिम्लेर पत्याउन त भएन किनभने नेपालसंवत् पूर्णिमान्त कहिल्यै भएको थिएन भने ने.सं २६७ आषाढकृष्ण पूर्णिमान्तबाट श्रावणकृष्ण भएकै होइन । श्रावणकृष्ण पञ्चमी आषाढको २६ गते कसरी पर्न आयो ?आषाढकृष्ण पञ्चमी शुक्रवार नआएपछि श्रावणकृष्ण गर्दा शुक्रवार आएको कसरी ? दुइमहिनापछि भाद्रमा परेको अधिकमास मूलमा आषाढ मै लिइएको अभिलेख स्वयं बताइरहेको छ । यो कुनै हल्काफुल्का ढंगले लिने विषय होइन ।
यो कुरा संशोधन–मण्डल र उनका समर्थकहरु मध्ये अहिलेपनि तिखारिएका कोही छन् भने उनीहरुको निमित्त यो चुनौति हो । उनीहरुले यो विषयमा खुलस्त पारी पाठकहरुलाई आस्वस्त पार्नु जरुरी भइसकेको छ । होइन भने दुनियाँले बुझ्ने नै छ कि खाली खोलमात्र ओढेर संशोधन मण्डल हुँ भनेर हुँकार गर्दैमा र त्यहाँको पूरा आशिर्वाद प्राप्त छ भनेर मात्र चल्दैन ।
यही पृष्ठमा बंगाल एशियाटिक सोसाइटीमा रहेको अष्टसाहस्रिका प्रज्ञापारमितामा ने.सं २६८ पौषशुक्ल पूर्णिमा सोमवार भनेर दिइएको कुरा उल्लेख छ ।
यहाँ पौषशुक्लको गणना गर्दा नमिलेपछि मार्गशुक्लको गणना गरियो । त्यसमा भने चतुर्दशी उप्रान्त पूर्णिमा सोमवार मिल्न आयो । यसरी मूलमा पौषशुक्ल भनेको तिथि अचेल चलेको नियमअनुसार मार्गशुक्ल देखियो । बुझ्न सजिलो होस् भनी ती दुवै गणना दिइएका हुन् । यो फरक अधिकमासले गराएको हुनु पर्छ । त्यसको विषयमा पछि विचार गरिनेछ ।
(भक्तपुरको राजकुलो पृष्ठ ३)
गणना भनेर दिइएको पनि यस प्रकार छ
ने.सं २६८ वि.सं १२०४ मार्गशुक्ल पौष १३ गते वार सोम तिथि चतुर्दशी घ.प ४।२५
ने.सं २६८ वि.सं १२०४ पौषशुक्ल माघ १४ गते वार बुधवार तिथि पूर्णिमा घ.प ४४।२३
संशोधन मण्डल र उनका समर्थकहरुलाई हेक्का छ कि छैन थाहा भएन । पञ्चाङ्ग पात्रो पल्टाएर हेरियो भने शुक्लपक्ष पूर्णिमान्त र अमान्तको उही हुन्छ कृष्णपक्षमा मात्र पौषशुक्लको अघिल्लो कृष्णपक्षलाई पौषकृष्णपक्ष भन्छ भने पौषशुक्लको लगत्तै पछि आउने कृष्णपक्ष माघकृष्ण पक्ष हुन्छ । यहाँ अभिलेखमा पौषशुक्ल पूर्णिमालाई मार्गशुक्ल पूर्णिमा पनि भन्ने अधिकार कसैलाई छैन र माघशुक्ल भन्ने अधिकार पनि कसैलाई छैन । यो सरासर वाहियात कुरा हो ।
लेखकले सोमवार सित मिलाउन खोज्दा मार्गशुक्लको चतुर्दशी लिन जानु पर्ने फसाद आइ पर्ने र पौषशुक्ल पूर्णिमा सित मिलाउन खोज्दा माघ लिनु पर्ने र वार बुधवार पर्न जाने फसाद आइ पर्ने भएर यस विषयमा पछि विचार गरिनेछ भनी सहजै उम्केको प्रष्ट छ ।
यो कुराले एउटा कथाको संझना गराउँछ । कुनै एउटा गाउँमा एक फटाहाले वर्षौंदेखि पण्डित हुँ भन्दै ठगठाग गर्दै आएका थिए । उनको एउटा गोप्य कोठामा १५ वटा सेतो लठ्ठी र १५ वटा कालो लठ्ठी दिनहुँ एउटाएउटा लठ्ठी ठाडो पारेर आज यो तिथि भन्ने गर्दथे । एकदिन उसको गोप्य कोठामा केटाकेटीहरु खेल्दै पसेछ । ती केटाकेटीहरुले लठ्ठी जम्मै उखेलेर मुठ्ठा पारी दिएछ । त्यो फटाहा पण्डितलाई ख्यालै भएनछ । भोलिपल्ट गाउँका मान्छेले आज कुन तिथि पण्डितजी भनेर सोध्न आउँदा भित्र गएर हेर्दा त सेतो लठ्ठी र कालोलठ्ठी मुठ्ठा परेको देखेपछि बाहिर आएर आज त औंशी र पूर्णिमा एकै दिन पर्यो यो त महापर्व हो भने छ । त्यसो भए के गर्नु पर्छ भन्दा यो दिन दान धर्म गर्दा महापुण्य मिल्छ भने पछि सारा गाउलेहरुले पण्डितको घरमा दानको थुप्रो पारेछ भनेझैं यहाँ हुन आयो ।
यहाँ पण्डितले अमान्तलाई पूर्णिमान्तमा दुरुपयोग गर्दा वार समातियो भने मंसिरपूर्णिमा योमरि पूर्णिमा र पौषपूर्णिमा स्वस्थानी आरम्भ गर्ने एकै दिन पर्ने देखाइयो । अर्को तिथि मिलाउँदा पौषपूर्णिमा भनेको स्वस्थानी आरम्भ गर्ने दिन र माघपूर्णिमा भनेको स्वस्थानी समाप्त हुने दिन भयो । पण्डितका गणना अनुसार त स्वस्थानी शुरुहुने दिन र स्वस्थानी समाप्त हुने दिन एकै दिन पर्ने भयो । यस्तो भ्रामक कुरा पस्किएको पुस्तकका लेखलाई चारदशक अघिदेखि महत्वको रुपमा लिइएको खण्डनरहित भनेर तारिफ गर्दै आउने प्रशंसकहरुलाई धन्य परमात्मा नै भन्नु उपयुक्त होला ।
यस पुस्तकको पहिलो अध्यायमा गोपालराजवंशावलीमा टिपिएको घटनाको मिति र खौमाटोलको अमृतदेवको ने.सं २९५ को अभिलेख बाहेक २९ वटा महत्वपूर्ण ग्रन्थ एवं अभिलेखका मितिहरु अमान्तमानका छन् पण्डितले गणना गर्दा एउटापनि अमान्तमानसंग तालमेल हुन आएन तव च्याँखेदाउ अपनाई पूर्णिमान्तबाट गर्दा मिल्न आयो भनिएका छन् । त्यसकारण हाम्रो नेपाल देश सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर मात्र प्रशिद्ध होइन यस्ता पण्डितहरुले राज गरेको देश भनेर पनि विश्वले चिन्ने मौका पाएको छ ।
दोस्रो अध्यायमा यक्षेश्वरमन्दिरको लेख राखिएको छ । यो लेखमा गरिएको तमाम व्याख्या उहाँको विचार हो ,त्यसमा केही भन्नु छैन ।तर अभिलेखमा उल्लेख आएको नेपालसंवत्को समानान्तर वि.सं भनेर जुन दिइएको छ त्यसरी दिनका लागि बिना सिद्धान्तले निर्देशन नदिइ आफु खुशी भन्न पाइन्न । फेरि नेपालसंवत् कहिल्यै पनि पूर्णिमान्त सिद्धान्तअनुकूल भएर चलेको छैन । यक्षेश्वरमन्दिरको दुइवटा अभिलेखमा नेसं ६०७ र ६१४ का छन् त्यसमा बार उल्लेख नआएको भएर अमान्तलाई पूर्णिमान्त भनेर दिइएन । तर नेसं ६०७ लाई वि.सं १५४४ हो भन्न र नेसं ६१४लाई वि.सं १५५१ हो भन्नको लागि पनि कुनै सिद्धान्तबाट निर्देशित नभइ भन्न पाइन्न । वि.सं १५४४ बाट १३५ घटायो भने १४०९ आउँछ भने १५४४ बाट १३६ घटायो भने १४०८ मात्र हुन्छ । यसको समानान्तर शकसंवत् कति भन्दा १४०९ लाई लिने कि १४०८ लाई लिने । त्यसको लागि सिद्धान्तको दरकार पर्दछ ।
संशोधन मण्डलका प्रणेता पं नयराज पन्तको सर्वाधिक चर्चित पुस्तक लिच्छविसंवत्को निर्णयले शकसंवत् र विक्रमसंवत् बीचको अन्तर १३५ र १३६ हुन्छ भनेको कुरा उही पुस्तकको पृष्ठ ९६ पल्टाएर हेर्न सकिन्छ । नेपालसंवत् कार्तिकादि भएकोले कार्तिकदेखि चैत्रसम्म १३५ जोड्ने र वैशाखदेखि आश्विनसम्म भए १३६ जोड्ने सिकाइएको कुरा त्यही सिद्धान्तले भन्छ । नेसं ६०७ को मिति आषाढको छ र नेसं ६१४ को भाद्रको छ तब यी दुवैमा १३६ अन्तर रहेको देखाउने हो भने १४०९ मा १३६ जोडेर १५४५ भन्नु पर्ने किन १५४४ मात्र भनियो र ६१४ को वि.सं १५५१ गर्दा त्यसमा १३५घटाउँदा अभिलेखमा १४१६ यो भाद्रको भएपछि शकमा १४१६ मा १३६ जोडेर १५५२ भन्नु पर्ने १५५१ मात्र किन भन्ने प्रश्न उठ्छ । वास्तवमा लेखक भोलानाथ पौडेल संशोधन मण्डल कै उत्पादन हो । तर संशोधन मण्डल के हो बुझ्ने सामथ्र्य उनमा देखिएन ।
देखियोस पनि कसरी सर्वाधिक चर्चित पुस्तक लिच्छविसंवतको निर्णयमा सुमतितन्त्रको जोडदार बखान गरिएको छ । तर सुमतितन्त्रले नेपालसंवत्मा ९३६ र ९३७ जोड्ने अधिकार दिएको छैन । किनभने ९३५ वैशाखसम्म सुमतितन्त्रको मानदेवसंवत् ३०१ मात्रै भएकोले ९३८को कार्तिकमा आएर बल्ल मानदेवसंवत् ३०४ भुक्त हुने भएकोले ९३७ र ९३८अन्तर बताउँछ । नेपालसंवत्मा ९३६ र ९३७ जोड्ने सूत्र कहाँबाट निर्देशित छ भन्ने कुरा संशोधन मण्डल स्वयंलाई थाहा छैन ।
तेस्रोअध्यायमा जगत्प्रकाश मल्ल,चौथो अध्यायमा स्नेहमण्डप र पाँचौं अध्यायमा जगच्चन्द्र छन् । यहाँ पनि संवत् मिति बाहेक अरु व्याख्या प्रति आपत्ति जनाउँदिन । जगत्प्रकाश मल्लको जन्म मिति र कुण्डलीले कार्तिककृष्ण अमावाश्या शनिश्चर वार भनेको लक्ष्मीपूजाको दिन पर्छ यो अमान्तमानबाट भनेको हो । यसलाई पूर्णिमान्तमानबाट मार्ग कृष्ण अमावाश्या भन्नासाथ एक महिना पछाडि धकेलियो । यस अध्यायमा अरुपनि थुप्रै मितिको गणना दिइएका छन् तर अमान्तमानबाट एउटा पनि मिलाउन नसकेर सबै पूर्णिमान्तबाट दिइएका छन् । यसको मतलव मध्यकालमा नेपालसंवत जहिलेपनि पूर्णिमान्तमानको सिद्धान्तबाट व्यवहारित थियो भन्ने प्रमाणहरु दिइएको हुनु पर्दथ्यो । तर दुःखका साथ भन्नु पर्दा एउटा प्रमाण पनि अघिसार्न सकेको छैन ।
छैठौं सातौ र आठौं अध्यायमा जितामित्र मल्ल, जितामित्र मल्लका कृतिहरु र भक्तपुरको राजकुलो रहेको छ । यी अध्यायहरुमा पनि थुप्रै मितिहरुको गणना दिइएका छन् ती सबै पूर्णिमान्तबाट मिल्यो भनेका छन् । भक्तपुरको राजकुलोको बारे दरवार क्षेत्रमा रहेको लायकु फल्चाको शिलालेखमा नेसं ८०३ जेष्ठशुक्ल पूर्णिमा दिइएको छ । यसमा बार उल्लेख नभएकोले गणना गर्नु भएको छैन । तर नेसं ८०३ को समानान्तर वि.सं १७४० हो भन्नको लागि कुन सिद्धान्त अबलम्वन गरियो भन्ने दिइएन । अभिलेखको अर्थ र व्याख्यामा पनि उनको धारणा सन्तोषजनक छैन । एक त दरवारको ढुंगेधारामा पानी ल्याउन दुइतीन कोस टाढा पूर्वी भागमा पर्ने महादेव पोखरी देखि ल्याइयो भनी दिइयो । यो कल्पना भन्दा पनि परको कुरा हो किनभने दरवार निकटका अरु पानीका स्रोत थिए । अर्थ गर्दा सुमति जय जितामित्र मल्लले देवल पाटी बनाउने प्रजालाई संबोधन गरेर राखियो भनियो यो पनि उपयुक्त देखिंदैन । वास्तवमा जितामित्र मल्लले अघि देवल र पाटी बनाउने काममा महत्व दिइ आएकोमा अब जनतालाई धान रोप्नका लागि प्रयाप्त पानीको व्यवस्था गर्न नियमबाँधी दिएको छु है भनी सारा जनतालाई संबोधन गरेको कुरा छ यसमा केवल देवल पाटी बनाउने जनतालाई मात्र संबोधन गरेको बिल्कूलै होइन जस्तो लाग्छ । यस बारेमा पाठकहरुलाई जे ठिक लाग्छ त्यही पत्याओस् । कुनै आपत्ति छैन तर मितिको सम्बन्धमा ने.सं ८०३ जेठको समानान्तर वि.सं १७४० हो भन्नका लागि कुन सिद्धान्त अबलम्बन गरेको हो त्यो अवश्य चाहिन्छ ।
अन्तिम नबौ र दशौं अध्यायमा भूपतीन्द्र मल्ल र भूपतीन्द्र मल्लका कृतिहरु शीर्षकीय लेखहरु परेका छन् । यी अध्यायहरुमा पनि थुप्रै मितिहरुको गणना भनेर दुनियाँको आँखामा छारो हाल्ने हिसावको नतिजा देखाइ वैशाखकृष्ण आए पूर्णिमान्तबाट जेष्ठ कृष्ण र फागुन कृष्ण आए पूर्णिमान्तबाट चैत्र कृष्ण देखाइएको छ ।
संशोधन मण्डल कै अर्को बहुचर्चित पुस्तक “इतिहास संशोधनको प्रमाण प्रमेय” पहिलो भाग हो । जुन वि.सं २०१९ सालमा प्रकाशित भएको हो भने यसको सम्पादक मण्डलमा स्वयं भोलानाथ पौडेल पनि संलग्न थिए । यस पुस्तकको पृष्ठ ५१२ पल्टाएर हेरियो भने त्यसमा स्पष्ट भनिएको छ कि मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुँदा मल्लकालका तिथि–मितिको गणना अमान्तमान अनुसार दिइएका छन् भनिएको छ । स्वयं पं भोलानाथ पौडेलले आफनो पुस्तकमा भने मल्लकालको मिति एउटा पनि अमान्तमानबाट गणना गर्न सकेन । यस प्रति चिन्ता गरी के भएको भनी उनले पुनरावलोकन गरेको देखिएन र आफु सम्मिलित पुस्तकमा मल्लकालको मितिको गणना गर्दा अमान्तमानबाट गर्नु पर्दछ भनेर लेखेको कुरालाई पनि चटक्क बिर्सेको छ ।
निष्कर्ष
प्रायः अविभावकहरु गतिलो भएन भने उनका सन्तानहरु उपद्रो गरेर हिंड्छ भन्ने कहावत पाइन्छ । त्यस्तै गरि संशोधन मण्डलका प्रणेता स्वयंले त आफनो पुस्तक “लिच्छविसंवतको निर्णय”को पृष्ठ १२३ मा सुमतितन्त्र सारेको मिति ने.सं ४९५ पौषकृष्ण त्रयोदशीको तिथि मिति गणना गर्दा पौषकृष्ण त्रयोदशीलाई पूर्णिमान्तबाट माघकृष्ण त्रयोदशी बनाएर २०१९ सालको प्रमाण प्रमेयको भावनालाई चटक्कै बिर्सन्छ भने उनकै चेलो भोलानाथ पौडेलले बिर्सेकोमा कुनै आश्चर्य मान्नु पर्ने होइन । जेभए पनि लथालिङ् देशमा मात्र यस्तो भताभुङ्ग चाला हुने हो । यसतो भ्रमोत्पादक कार्यलाई निरुत्साहित गर्नै पर्दछ । इतिहास जगतको लागि त्यसरी शिर निहुरिने गरी पण्डितहरुले सदा राज चलाएको देश भनेर देश कै बेइज्जत हुने गरी दुर्नाम फैलिने अब नहोस् । सबैसित यही प्रार्थना छ ।
