
चाँगुनारायणको मन्दिर विश्व सम्पदामा सूचीकृत भइसकेको सम्पदा हो । सन १९७९ को वर्षमा यूनेस्कोले काठमाडौं उपत्यकालाई विश्वसम्पदामा सूचीकृत गर्दा भक्तपुरको चाँगुनारायण क्षेत्र पनि परेको हो । अतः यस क्षेत्रको बारेमा सत्यतथ्य के छ भन्ने विषयमा एक एक सूचना नेपाल र नेपालीले मात्र थाहा पाएर पुगेन आज विश्व भरिका जनसंख्याले सम्पदाको महिमा बारे थाहा पाउन दिनु जरुरी भइसकेको छ । फेरि यहाँको ऐतिहासिक सत्यतथ्य हामीले संप्रेषण गर्ने हो विदेशीले आएर गर्ने होइन र विदेशीले गर्दैनन् पनि । त्यसकारण चाँगुनारायणको विश्व प्रसिद्ध भइसकेको स्तम्भलेखको बारेमा पनि जे जति सत्यतथ्य कुरा हो त्यसमा पनि एकरुपता हुन जरुरी छ । भनाईको मतलव यसमा कसैको भनाइ के कसैको भनाइ के हुनुहुंदैन । वास्तवमा हुनुपर्ने यही हो तर बिडम्वना भन्नु पर्दछ कि चाँगु शिलास्तम्भको विषयमा नेपाली विद्वानहरुको बीचमै पनि कुनै एकरुपता छैन ।
चाँगुनारायणको बारेमा नेपालले सम्प्रेषण गर्दै आएका तमाम सूचनामा मानदेवको विजयस्तम्भलाई मिति सन् ४६४को प्रामाणिक अभिलेख भनेर दिइएको छ । वास्तवमा यो सन् ४६४ भनेको अभिलेखमा उत्कीर्ण मितिको संवत् ३८६ लाई शकसंवत् मानेर त्यसमा ७८ जोड्दा ४६४ हुने भएर नै भनिएको हो । यो संवत् ३८६ लाई वैज्ञानिक विधिसम्मत ढंगले शकसंवत् नै हो भनेर सिद्ध गरेको नभइ फलाना प्रकाण्ड विद्वान, धिस्काना विद्वान उद्भट विद्वान इतिहास शिरोमणि गणित शिरोमणि भनाउँदा विद्वानहरुले शकसंवत् नै हो भनेपछि त्यो संवत् ३८६ लाई शकसंवत् नै मानेर त्यही शिराबाट उत्पत्ति भएको हो । साँच्चै भन्ने हो भने यो कुरा गणितको आधारमा सिद्ध गरेर प्रमाणित ठहराएको चाहीं बिल्कूलै होइन । फेरि ती उद्भट भनाउँदा विद्वानहरुबाट अहिलेसम्म कसैले पनि गणनाबाट परीक्षा गरी हेरीसकेको भन्ने जानकारी आएको छैन । अझ त्यही संवत् ३८६ लाई कार्तिकमा पनि ३८६ जेठमा पनि ३८६ मानेर सन् ४६४ मान्नेहरु पनि यहीं छन् ,भने कार्तिकमा पनि वि.सं ५२१ जेठमा पनि ५२१ मान्नेहरु पनि यहीं छन् । त्यस अलावा कोही चाहिं कार्तिकमा वि.सं ५२१ हुन्छ भने जेठमा ५२२ हुन्छ भन्दै आउनेहरु पनि यहीं देखिए तर वि.सं ५२१ भने पनि सन् ४६४ नै भइरहने र वि.सं ५२२ भए पनि सन ४६४ नै भइरहने त बिल्कुलै होइनन् । तब मुरिसुरि जान्दिन तीस पाथी धानको सिद्धान्त अनुरुप ४६४ भने पनि ठीक ५२१ भने पनि ठीक र ५२२ भने पनि ठीक भन्दै मानीआएका छन् । सायद ती विद्वानहरुले भनेको कुरा नकार्न सक्ने औकात अरु कसैको नभएर होला । नेपालीहरुले यसरी कोठामा बसेर जे सुकै धारणा बनाएर बसुन् त्यो उनीहरुको खुसी हो तर चाँगुनारायण अहिले विश्वको सम्पदा कहलिइ सकेपछि विदेशीहरुलाई यस्तो कोठे निर्णयको आधारमा सूचना सम्प्रेषण गरेर नेपालको बेइज्जत गरेर बस्न नहुने हो भन्ने विषयलाई नै केन्द्रित गरी यो लेख तयार गरिएको हो |

संवत् ३८६ ज्यैष्ठमासे शुक्लपक्षे प्रतिपदि १
(रो)हिणीनक्षत्त्रयुक्ते चन्द्र(म)सि मुहूत्र्ते प्रशस्तेभिजिति
(लिच्छविकालका अभिलेख पृष्ठ १०)
संवत् ३८६ ज्येष्ठ शुक्ल प्रतिपदा (१) भनेको आदित्यबार) रोहिणी नक्षत्रमा चन्द्रमा बसेको असल अभिजित मुहूत्र्तमा ।
यस मितिको गणना बेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथि गणितको पद्धतिअनुसार गणना गर्दा आएको परिणाम यस प्रकार छ ः—
अभिलेखको संवत् ३८६ (लिच्छविसंवत् ं) विक्रम संवत् ५२० शक ३८५ ज्येष्ठ शुक्ल प्रतिपदा तिथि बार आदित्यबार ३१ घडी ३७ पला रोहिणी नक्षत्र ३५ घडी ५७पला रहेको सिद्ध भएको छ ।
यस गणनाको विस्तृत चरण पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल २०७६ जेठ, अंक १९९ “चाँगुनारायणको स्तम्भ अभिलेखमा बार उल्लेख” शीर्षकको लेखमा पाइन्छ ।
यस मितिको तारिख गणनाको पद्धतिअनुसार गर्दा आएको गणना परिणाम यस प्रकार छ ः—
अभिलेखमा दिइएको मितिः संवत् ३८६ जेष्ठ शुक्ल प्रतिपदा ( शकपूर्व २ को लिच्छविसंवत् भएकोले यो शक ३८४ को कार्तिकदेखि शक ३८५ को आश्विनसम्म रहने गर्छ)
संवत् ३८६ जेष्ठ भनेको = शक ३८५ जेष्ठ । इष्ट इश्वी ४६३ ( साधारणवर्र्ष)
इष्ट शक: शक ३८५ जेष्ठ ( किनकि जेष्ठमा शक ३८५ हुने भएकाले इष्ट इश्वीसनः३८५ + ७८ सन ४६३ हुन्छ ।
तिथिगण : जेष्ठ सम्म आउन – चै१,वै२, जे.प्रतिपदा =२ X३०+१=६१ दिन उपकरण दिन मेष तिथ्यन्तमा दिन १७ आएकोले ६१—१७=४४ उपकरण
न्यास १

१.प्राचीन रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. लीपयरको वर्ष भएकोले ६० जोडेको ५योगफल लाई ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
परिणाम
संवत् ३८६ जेष्ठशुक्ल प्रतिपदा १ को तारिख गणना अनुसार शकसंवत् ३८५ हुने हो र इस्वी ४६३ मे ५ तारिख आदित्यबार आयो । तद्नुसार विक्रमसंवत् ५२० वैशाख २२ गते आदित्यबार पर्न आउँछ ।
सकारात्मक टिप्पणी
१. माथिको परिणामले अभिलेखमा रहेको संवत् ३८६ त शकसंवत् होइन रहेछ भनी प्रमाणित भयो । किनभने अभिलेखमा प्रतिपदाको लगत्तै १ देखिएकोमा यो पंक्ति जनाउन प्रयोग भएको अंकपनि होइन र प्रतिपदालाई जनाउन प्रयोग गरिएको अंकपनि होइन । यो त आदित्यबारलाई जनाउन प्रयोग गरिएको अंक हो । यो कुरा सौरार्य ब्राह्मपक्षीय तिथिगणितको पद्धतिबाट गरिएको गणनाबाट पनि आदित्यबार नै आएको र तारिख गणनाको पद्धतिबाट पनि आदित्यबार नै आएबाट पुष्टि भएको हो ।
२. गणनाले अभिलेखमा भएको संवत् ३८६ जेष्ठ शुक्ल प्रतिपदा भनेको इस्वीसंवत् ४६३ मे महिनाको ५ तारिख तद्नुसार विक्रमसंवत् ५२० वैशाख २२ गतेपर्न आउने रहेछ । किनभने मे ५ तारिख भनेको तिथिले जेष्ठ परेपनि गतेले वैशाखमा पर्ने कुरा पात्रोहरु हेरेर भन्न सकिने हो ।
३. इस्वीसंवत् ४६३ र वि.सं ५२० देखापर्नुको मतलव अभिलेखमा अंकित संवत् ३८६ भनेको शकपूर्व २ को लिच्छविसंवत् भएकोले शक ३८४ को कार्तिकदेखि शक ३८५को आश्विन सम्म रहने हुँदा जेठ महिनामा शक ३८५ हुने भएको हो । यही ३८५ मा ७८ जोडेपछि इस्वी ४६३ र वि.सं ५२० भनेको पनि शक ३८५मा १३५ जोडेपछि आउने हो ।
४. अभिलेखमा आदित्यबारको पर्याय स्वरुप १ आएकोलाई स्पष्ट रुपले गणनाको प्रत्येक चरण खुलाई गणना गर्दा सौरार्य ब्राह्मपक्षीय तिथिगणितले पनि आदित्यबार नै देखाएको र तारिख गणनाको पद्धतिबाट पनि आदित्यबार नै देखाएबाट यो गणनामा कुनै त्रुटि छैन भन्ने प्रमाणित हुन्छ ।
नकारात्मक टिप्पणी
१. संसारमा लिच्छविसंवत् नामको संवत् कहिं कतै छैन । के के न भेट्टाए भन्नेहरुले मात्र लिच्छवि संवत् भन्दैे आउने गर्छ भन्नु ।
२. गणित भनेको केवल ढोइफोइ गर्ने साधन मात्र हो । इतिहास निर्णय गर्न गणितलाई वैज्ञानिक भन्ने होइन धेरै मानिसले जे कुरा विश्वास गर्यो त्यही विज्ञान हो भन्नु ।
३. गणना गणित भन्ने कुरा धेरैले महामानव मानेको पं नयराज पन्तले गणना गरेको भए मात्र गणित हो । अरु कुनै ऐरेगैरेले गणना गरे भन्दैमा त्यसमा विश्वसनीयता हुँदैन । किनभने गणना गर्ने अधिकार केवल संशोधन मण्डललाई मात्रै छ यदि अरुले गरेको भएपनि संशोधन मण्डलले ठीक छ भनी सकारे भने ठीक सकारेन भने बेठिक भन्नु ।
माथिका सकारात्मक र नकारात्मक टिप्पणी जताउने मध्ये सकारात्मक रुपमा लिने जतिको लागि माथिका गणनाका फिहरिस्त काफी हुने देखिन्छ । नकारात्मक जताउनेहरुले अरुले गरेको गणनामा विश्वास नगर्ने भएकोले अभिलेखमा भएको संवत् ३८६ लाई नै शकसंवत् सिद्ध गर्ने गणना अघिसार्न सकेको हुनुपर्दथ्यो तर गरिएको छैन । अभिलेखमा प्रतिपदा र रोहिणी नक्षत्रको बीचमा उल्लेख भइरहेको अंक १ के हो त्यसको पनि कुनै उपपत्ति ल्याउन सकेको छैन । यसले आफुलेपनि गर्न नसक्ने अरुले गरेको पनि नसहने प्रवृति मात्र हावी छ भन्न सकिन्छ ।
चाँगुनारायण स्तम्भलेखबाट जिज्ञासा
चाँगुनारायणको शिलास्तम्भको तीन पाटामा र ठुटामा गरी ७२ पंक्ति अभिलेख बाहिर प्रकाशमा आइसकेको छ । यति लामो वर्णन हुँदा पनि पाठकहरुको अपेक्षित जिज्ञासा परिपूर्ति हुनसकेको छैन । किनभने वंशावलीहरुमा त मानदेवको बाबु धर्मदेवको मृत्यु स्वभाविक होइन छोराद्वारा हत्या भएको कुरा जुन लेखे त्यसको संकेत मात्र भएपनि शिलास्तम्भमा आउनुपर्ने जिज्ञासा राख्छ । वास्तवमा शिलालेखहरुमा त्यस्ताकुरा कहीं पनि उल्लेख गरिंदैन ।
यति लामो अभिलेख भइकन पनि मानदेवको राज्यारोहण कहिले भयो त्यो उल्लेख छैन ।मानदेवको मावली कहाँ हो? मानदेवको मामा को हो ?मल्लपुरी कता पर्दछ ? मानगृह मानदेवले बनाए त्यो भन्दा अघि कुन दरवारमा बस्थे। यस प्रकारका अनेकअनेक जिज्ञासाहरु राख्ने गरेको देखिन्छ तर एउटै अभिलेखले ती सबै जिज्ञासा मेटाउनु संभव छैन ।
जति अहिले प्रकाशमा आएका छन् त्यस भित्र थप गहिराईमा गएर अध्ययन गर्ने कोशिस चाहिं कसैले गरेको छैन । जस्तो ः प्रतिपदा र रोहिणी नक्षत्रको बीचमा देखापरेको अंक १ को अर्थ के हो ? त्यसको खोजी कसैले गरेको देखिएन । चाँगुलाई दोला शिखर किन भनियो ? वृषदेवलाई लडाई भिडाईमा कम रुची राख्ने राजा किन भनेको ?शंकरदेवलाई असल धर्म कर्म गर्ने किन भनेको ? धर्मदेवलाई असल गुण भएका किन भनेको ? राज्यवतीलाई चोखोकूलमा जन्मेकी किन भनेको । राज्यवतीसंग बिछोड हुनुभन्दा अघि धर्मदेवले देवताहरुलाई भोजन गराइरहेका थिए भनेर वर्णन भएकोले मानदेवको बुवा धर्मदेवको अस्वाभाविक मृत्यु होइन कि भन्ने देखिन्छ यसबारे थप अध्ययन गर्ने प्रयास कसैले गरेनन् । जति मात्रामा अभिलेख प्रकाशमा आए त्यस भित्रै पनि थप जिज्ञासा राख्ने कुरा धेरै छन् त्यतातिर ध्यान कसैको छैन ।
मानदेवको राज्यारोहण हुँदा उनी कलिलो उमेरको भएर सारा सामन्त रजौटाहरुले बिस्तारविस्तारै अटेर गर्न थालेको देखेरपूर्वका रजौटाहरुलाई कव्जा गरी उनीहरुलाई पुन थमौति गरी दिए तर पश्चिमका रजौटाहरुले मानदेवको आदेश पालना नगरेको देखेर लडाई नै गर्नु परेको कुरा प्रष्ट रुपले बयान गरिएको छ । तर यो कुरा इतिहासकारहरुले बुझेको होइन । प्राय इतिहासकारहरुले संवत् ३८६ मा राजा भए पछि मानदेवले पूर्व पनि कव्जा गरे पश्चिममा लडाई पनि गरे विजय स्तम्भ लेखाएर राखे भने जस्ता केही दिन भित्रै सबैकुरा भएको जस्तो व्याख्या गर्दै आए । ती व्याख्या यथार्थ परक देखिंदैन । अभिलेख राख्दाको मितिमा तिथि,बार नक्षत्र सबै उल्लेख गरिएको अवस्थामा गणना गरेर हेरी यो शकसंवत् हो या होइन भन्ने परीक्षण गरेर नहेरीकनै फलाना धिस्कानाले भनेको भनेर त्यसको पछि लाग्नेहरुको लागि अभिलेखमा प्रष्ट उल्लेख आएपनि बुझ्न सकेको होइन भन्ने देखियो ।
चाँगुनारायण स्तम्भलेखको अवस्था
स्तम्भलेखको ठूटामा केही पंक्ति अभिलेख देखिनु र स्तम्भलेखको तीनपाटोमा रहेको अभिलेखको वस्तुस्थितिलाई मध्यनजर गरी अध्ययन गर्ने हो भने जमिन भित्र दबिएर रहेको अभिलेखका पंक्ति अझै धेरै हुनसक्ने संभावना सहजै आकलन गर्न सकिन्छ । सायद ती सबै प्रकाशमा आएको खण्डमा मल्लपुरी कता पर्दछ र मानदेवको मावली मामा बारे जान्ने आधार विवरण प्रयाप्त प्रकाशमा ल्याउन सकिने पो हो कि यस बारे समन्धित निकायको ध्यान जावस् । भनाईको मतलव स्तम्भलेखको जमिन मुनिगढेको भागको उत्खनन होस् । अहिले जमिन बाहिर ७२ पंक्ति अभिलेख रहेका छन् र जमिनभित्र कति पंक्ति दविएका छन् त्यो सहजै भन्न सकिने अवस्था छैन । जेहोस् जमिन भित्र दबिएको भागमा अहिले जति देखिने अवस्थामा छ त्यो भन्दा बढी पंक्ति हुनसक्ने अनुमान गर्न सकिन्छ ।
मूल्याङ्कन
चाँगुको यो अभिलेख पहिले सर्बप्राचीन कहलिएको थियो पछि यो भन्दा जेठो अभिलेख अरु पनि भेटिए तापनि अभिलेखको महत्वमा कुनै किसिमको कमी देखापरेको छैन अझै जमिन भित्र दबिएको भाग पनि प्रकाशमा ल्याउन सके भने त यसको महत्व अझै असीमित हुने थियो । किनकि इतिहासमा प्रकाश हुन बाँकी भाग त्यहीं जमिन भित्रै दबिएर रहेको छ । त्यसकारण यो अभिलेख पूर्ण अभिलेख होइन ।
निष्कर्ष
मुख्यतः अभिलेखमा आएको कुरालाई सूक्ष्म अध्ययन गर्नकोलागि रुची र चासो हुनुपर्ने रहेछ । रुची र चासो नदेखाएको कारण अहिलेसम्म चाँगुनारायणको शिलास्तम्भमा भएको संवत् ३८६ लाई शकसंवत् होइन भन्नका लागि गणना गरी पुष्टी गरेको देख्न पाइयो तर हो भन्ने प्रमाण पाइएको छैन । नेपालको इतिहास र संस्कृति विषयमा जिज्ञासा राख्नेहरुले नै रुची र चासो देखाइएन भने अरुले कसले गर्ला ? गणनाबाट परीक्षण गरेको प्रमाण हेरे बिना नै आजसम्म नेपाल भित्र मात्र होइन विश्व भर मिथ्या प्रचार भइरहेको छ । किनकि शिलास्तम्भको मिति ३८६लाई शकसंवत् मानेर त्यसमा ७८ जोडेर सन्४६४ को अभिलेख भन्दै आइरहेको छ ।
हुनतः नेपाल सरकार पुरातत्व विभागबाट प्रकाशित भएको मुखपत्र प्राचीन नेपाल अंक १९९ मा चाँगुनारायणको शिलास्तम्भमा भएको संवत् ३८६ शकसंवत् होइनन् भनी गणना गरी सिद्ध गरेको लेख प्रकाशित गराइसकेको हो तर यसलाई कसैले रुची र चासो राखेर हेरेको देखिएको छैन । अव यो लेखमा तारिखबाट पनि गणना गरेर देखाइएको छ । यसबाट पनि लिच्छविकालमा चलेको संवत् शकसंवत् होइन भनेर सिद्ध भएको छ ।
हरेक कुरा संशोधन मण्डलले ठीक भने ठीक, बेठिक भने बेठिक भनेर बस्ने त्यो कुसंस्कार सँधै भरि चल्दैन । यही कुसंस्कारलाई सुसंस्कार मानेर बसी रहने भयो भने भोली आउने पिढीले के कस्तो मूल्यांकन गर्ला ? त्यतातिर पनि ध्यान राख्न जरुरी छ भन्ने लागेको छ ।

