
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा.दीपक अर्याल नियुक्त भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपति नियुक्त गरेका हुन्।
अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्।
यसपालि त्रिवि उपकुलपतिमा १२ जना आकांक्षी थिए। तीमध्ये सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको समितिले ३ जनाको नाम सिफारिस गरेको थियो।
निमित्त उपकुलपति प्रा.डा.खड्ग केसी, विज्ञान संकायका पूर्वडीन प्रा.डा.विनिल अर्याल र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालको नाम असार २३ गते प्रधानमन्त्रीसमक्ष सिफारिस भएकोमा दीपक उपकुलपति नियुक्त भएका हुन्।
त्रिवि उपकुलपति नियुक्त अर्याल जलवायु विषयका प्राध्यापक हुन्।
उनी त्रिविमा सन् १९९५ देखि १९९७ सम्म शिक्षण सहयोगी, १९९७ देखि २००९ सम्म सहायक प्राध्यापक, २००९ देखि २०१९ सम्म उपप्राध्यापक, विश्वविद्यालय अनुदान आयोग, जल तथा मौसम विज्ञान विभागीय प्रमुख, २०१९ मा प्राध्यापक र नास्टको प्राज्ञ २०२१ मा भएका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट जलवायुमा पिएचडी गरेका छन्। उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन्।
उनी हास्यव्यङ्ग्यकार भैरव अर्यालका जेठा छोरा हुन्।



