
काठमाडौँ ।नेपाली धावक सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
उनले जापानमा जारी एसियाली खेलकुदमा १ मिनेट ४८.९५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् ।
तेस्रोपटक एसियाली खेलकुदको अनुभव लिएका सोमबहादुरले १ मिनेट ४९.५५ सेकेन्डको आफ्नै कीर्तिमानमा सुधार गरेका हुन् । उनले यो कीर्तिमान यसै वर्ष इन्डियन ओपन वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूरमा बनाएका थिए ।
अइतबार राष्ट्रिय कीर्तमान बनाए पनि सोम हिट–१ को पाँचौँ स्थानमा रहँदै बाहिरिएका छन् । प्रत्येक हिटबाट शीर्ष दुई र कम समय निकालेका थप दुईगरी आठ खेलाडी मात्र फाइनल पुग्ने प्रावधान थियो । त्यसैले आठौँ स्थानमा रहे पनि सोमबहादुर फाइनल पुग्न सकेनन् । यो स्पर्धामा २० धावक सहभागी थिए ।
यसअघि खडकबहादुर बोहराले पुरुष म्याराथन, सन्तोषी श्रेष्ठले महिला १० हजार, राजन रोकायले पुरुष १० हजार, मुकेश पालले पुरुष १५ सय तथा पूर्ण लक्ष्मी न्यौपानेले महिला १५ सय मिटरमा प्रतिस्पर्धा गरेका थिए ।

