
रौतहट। तराई क्षेत्रमा यस वर्ष खडेरी परेकाले अधिकांश किसानहरु मोटरको सहायताले खेतमा सिँचाइ गर्न बाध्य छन्।
खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक साताभित्र चार जना किसानको मृत्यु भएको छ ।
पानी नपरेर सुख्खाग्रस्त घोषणा समेत भएको मधेसको जिल्ला रौतहटकोमौलापुर नगरपालिका–७, ननकार पथराका ५५ वर्षीय चन्देश्वर बैठाको विहिबार मृत्यु भएको हो ।
यसअघि बुधबार बिहान माधवनारायण नगरपालिका–४, बिसनपुरवा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको पनि करेन्ट लागेर मृत्यु भएको थियो। खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका मुखियाको उपचारका क्रममा गौर अस्पतालमै निधन भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताए ।
त्यस्तै, कटहरिया नगरपालिका–२, जमुनिया गाउँका ५२ वर्षीय मोक्तार देवानको पनि यही कारण मृत्यु भएको छ। मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा ज्यान गएको हो ।
असार ३१ गते मौलापुर–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) को पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।



